१५ असार २०८३, सोमबार
,
Latest
उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरका किसानलाई उन्नत जातका सुन्तलाका बेर्ना वितरण



अ+ अ-

काठमाडौँ । किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले यहाँको भोजपुर नगरपालिका–५ बोखिमका किसानलाई उन्नत जातका सुन्तलाका बेर्ना वितरण गरिएको छ । वडा कार्यालयले १५० किसानलाई करिब एक हजार २५० सुन्तलाका बेर्ना वितरण गरेको हो ।

बोखिम क्षेत्र सुन्तला उत्पादनका लागि उपयुक्त मानिन्छ । किसानलाई प्रोत्साहन गर्न ५० प्रतिशत अनुदानमा बेर्ना उपलब्ध गराइएको वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए । ती बेर्ना धनकुटास्थित पारीपात्ले सुन्तला जात अनुसन्धान केन्द्रबाट ल्याइएका हुन् ।

‘उन्सु जापानिज’ र ‘खोकु स्थानीय कलमी’ जातका सुन्तलाका बेर्ना वितरण गरिएको वडाध्यक्ष प्रधानले बताए । यस वर्ष वडाले सुन्तला तथा अङ्गुरका बेर्ना वितरणका लागि रु दुई लाख बजेट विनियोजन गरेको छ । मागका आधारमा हाल सुन्तलाका बेर्ना वितरण गरिएको र केही समयपछि अङ्गुरका बेर्ना पनि वितरण गरिने उनको भनाइ छ ।

“बोखिम सुन्तला खेतीका लागि उपयुक्त क्षेत्र हो,” वडाध्यक्ष प्रधानले भने, “सदरमुकाम नजिक भएकाले बजारको समस्या छैन । किसानलाई व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित गर्दै आयआर्जनमा जोड्ने उद्देश्यले बेर्ना वितरण गरेका हौँ ।”

हाल यहाँका करिब ३०० किसान सुन्तला खेतीमा आबद्ध छन् । स्थानीय किसान भीमबहादुर दाहालले उन्नत जातका बेर्ना वितरण कार्यक्रमले किसानलाई ठूलो राहत मिलेको बताए ।