१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुटिनले तेस्रो विश्वयुद्ध सुरु गरिसक्नुभयो : जेलेन्स्की



भोलोदिमिर जेलेन्स्की/ फाइल फोटो
अ+ अ-

किएभ। रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेको चार वर्ष पुग्नै लाग्दा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्वयुद्धको प्रक्रिया सुरु गरिसकेको विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँका अनुसार अहिलेको सङ्घर्ष केवल दुई देशबीच सीमित छैन, बरु विश्व व्यवस्थामाथिको चुनौतीका रूपमा विकसित भइरहेको छ ।

बिबिसीसँगको हालैको अन्तर्वार्ताको सारांश सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गर्दै जेलेन्स्कीले तेस्रो विश्वयुद्धबारे फरक–फरक धारणा रहेको उल्लेख गर्नुभयो । “तेस्रो विश्वयुद्धका बारेमा विभिन्न दृष्टिकोण छन् । मलाई लाग्छ पुटिनले यसलाई सुरु गरिसक्नुभएको छ । प्रश्न के हो भने, रुसले कति भूभाग कब्जा गर्न सक्छ र उसलाई कसरी रोक्ने ?” उहाँले लेख्नुभएको छ । उहाँका अनुसार उद्देश्य केवल रुसलाई जित्न नदिनु मात्र होइन, तर रुसले आफ्नो सोच र शासन पद्धति अरूमाथि थोपर्ने प्रयासलाई रोक्नु हो ।

जेलेन्स्कीले आफूले लामो समयदेखि पुटिनले व्यापक युद्धको ढोका खोलिसकेको ठानेको उल्लेख गर्दै युक्रेन अहिले त्यसलाई पूर्णस्तरको तेस्रो विश्वयुद्धमा परिणत हुनबाट रोक्ने ‘अग्रमोर्चा’ भएको दाबी गर्नुभएको छ । “आज हामी पुटिनलाई रोक्ने चौकी हौँ”, उहाँले भन्नुभएको छ ।

उहाँको टिप्पणी २४ फेब्रुअरी २०२२ मा सुरु भएको रुसी पूर्ण आक्रमणको चौथो वार्षिकोत्सवको एक दिनअघि आएको हो । यस अवधिमा युद्धले हजारौँको ज्यान लिएको छ र पूर्वी युरोपको सुरक्षा सन्तुलनमा गहिरो असर पारेको छ ।

जेलेन्स्कीले वर्तमान अवस्थामा सबैभन्दा ठूलो चुनौती युक्रेनको हवाई रक्षा प्रणाली सुदृढ पार्नु रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय साझेदारहरूले युक्रेनलाई उन्नत हवाई रक्षा प्रणाली स्वदेशमै उत्पादन गर्न आवश्यक इजाजतपत्र नदिएकोप्रति असन्तोष व्यक्त गर्नुभयो । “वायु रक्षा आजको सबैभन्दा चुनौतीपूर्ण मुद्दा हो”, उहाँले लेख्नुभएको छ, “दुर्भाग्यवश, साझेदारहरूले अझैसम्म हामीलाई उदाहरणका लागि प्याट्रियट प्रणाली आफैँ उत्पादन गर्न वा कम्तीमा हामीसँग रहेका प्रणालीका लागि मिसाइल बनाउन लाइसेन्स दिएका छैनन् ।”

अमेरिकामा निर्मित एमआईएम–१०४ प्याट्रियट प्रणालीको उल्लेख गर्दै उहाँले युक्रेनलाई कम्तीमा मिसाइल उत्पादनको अनुमति आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार आकाश सुरक्षित नभएसम्म नागरिक जीवन, शिक्षा, उद्योग र अर्थतन्त्र स्थिर हुन सक्दैन । “यदि नागरिकहरू सुरक्षित छन् भने अर्थतन्त्र चल्छ, कर उठ्छ र त्यसले सेनालाई बलियो बनाउँछ”, उहाँले स्पष्ट गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आह्वान गर्दै जेलेन्स्कीले युक्रेनको हवाई क्षेत्र सुरक्षित गर्नु नै युद्धको परिणामलाई प्रभाव पार्ने निर्णायक तत्व भएको दोहोर्‍याउनुभएको छ । उहाँका यी अभिव्यक्तिले युक्रेनले रुसी आक्रमणको सामना गर्न झेलिरहेको निरन्तर सुरक्षा र सामरिक दबाबलाई पुनः उजागर गरेको छ । (रासस/एएनआई)