९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा सदस्य निर्वाचन : दैलेखमा रोचक भीडन्त



अ+ अ-

काठमाडाैँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दैलेखका दुवै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ ।

विगतका निर्वाचनमा सहकार्य गरेका र एक अर्काका कडा प्रतिस्पर्धी रहेका नेताहरू पुनःचुनावी मैदानमा आमनेसामने भएपछि यहाँको प्रतिस्पर्धा रोचक र चुनौती पूर्ण बन्ने देखिएको छ । विशेषगरी निर्वाचन क्षेत्र नं. १ मा लामो समयपछि नेपाली कांग्रेसले आफ्नै उम्मेदवार उठाएको छ भने क्षेत्र नं. २ मा पुराना दल र नयाँ शक्तिको बहुकोणीय भीडन्त हुने देखिएको छ ।

क्षेत्र नं १ कांग्रेसको पुनरागमन र महिला नेतृत्वको चुनौती यसअघिका २०७४ र २०७९ का निर्वाचनमा चुनावी तालमेलका कारण उम्मेदवार नउठाएको नेपाली कांग्रेसले यसपटक दैलेख क्षेत्र नं. १ मा बासना थापालाई चुनावी मैदानमा उतारेको छ । थापा दैलेखको संसदीय इतिहासमा कांग्रेसबाट उम्मेदवार बन्ने पहिलो महिला उम्मेदवार छन्।

यस क्षेत्रमा उनका मुख्य प्रतिस्पर्धीका रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रवीन्द्रराज शर्मा र नेपाली कम्युनिष्ट पार्टीका अम्बरबहादुर थापा रहेका छन् । शर्मा २०७४ का विजयी र २०७९ का निकटतम प्रतिद्वन्द्वी हुनुहुन्छ भने थापा २०७९ को निर्वाचनमा तत्कालीन गठबन्धनबाट निर्वाचित सांसद छन्।

विसं २०७९ को निर्वाचनमा थापाले १८ हजार २९७ मत ल्याएर विजयी हुँदा शर्माले १७ हजार ४४५ मत पाएका थिए । यसपटक कांग्रेसले आफ्नै उम्मेदवार उठाएको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नन्दकिशोर बस्नेत मैदानमा रहेकाले मत परिणाम कता ढल्किन्छ भन्नेमा कौतुहलता बढेको छ ।

इतिहास रच्ने कसरत

निर्वाचन क्षेत्र नं. २ मा चार राजनीतिक धारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसले आफ्नो बिरासत जोगाउन दिक्पालकुमार शाहीलाई पुनः उम्मेदवार बनाएको छ ।

शाही २०७९ मा माओवादी र एकीकृत समाजवादीको सहयोगमा झिनो मतान्तरले विजयी भएका थिए । नेकपा (एमाले) बाट पूर्वसंविधानसभा सदस्य लक्ष्मीप्रसाद पोखरेल चुनावी मैदानमा छन्। विसं २०७९ मा मात्र १६७ मतान्तरले पराजित एमाले यसपटक गुमेको साख फर्काउने दाउमा छ । अर्कोतर्फ, नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार एवं कर्णाली प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष योगेन्द्रबहादुर शाहीको उपस्थितिले यहाँको अङ्क गणित फेरबदल हुने अनुमान गरिएको छ ।

उहाँको बौद्धिक छवि र पुरानो एमाले पृष्ठभूमिका कारण उहाँले दुवै ठूला दलको मत काट्न सक्ने विश्लेषण गरिएको छ । रास्वपाबाट इञ्जिनीयर बखतबहादुर शाहीले उम्मेदवारी दिएपछि यस क्षेत्रमा चतुष्कोणीय भीडन्त हुने निश्चित छ ।

पुराना र नयाँ अनुहार

दैलेखका दुवै क्षेत्रमा पुराना र ‘परिचित’ अनुहार दोहोरिएका कारण मतदातामा कतै उत्साह त कतै नैराश्यता देखिएको छ । पुराना प्रतिस्पर्धीहरू पुनः आमने सामने हुँदा उनीहरूको व्यक्तिगत प्रभाव र पार्टीको सङ्गठन नै जितको मुख्य आधार हुने देखिन्छ ।

यद्यपि, नयाँ र बौद्धिक उम्मेदवारहरूको प्रवेशले ‘टेस्टेड’ नेतालाई रक्षात्मक अवस्थामा पुर्‍याएको स्थानीय राजनीतिक विश्लेषककको ठहर छ । स्थानीय पर्यटन व्यवसायी, महिला अधिकारकर्मी र बौद्धिक क्षेत्रका व्यक्तित्वहरू चुनावी मैदानमा उत्रिएपछि युवा र तटस्थ मतदाताको झुकाव नयाँ शक्तितिर जान सक्ने आकलन गरिएको नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश अध्यक्ष विष्णु शर्मा बताए ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार दैलेखमा कूल एक लाख ६१ हजार २०४ मतदाता रहेका छन् । क्षेत्र नं. १ मा ७९ हजार ७०१ र क्षेत्र नं. २ मा ८१ हजार ५०३ मतदाताले फागुन २१ गते आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्नेछन् । विकास, सुशासन र सक्षम नेतृत्वलाई मुख्य एजेण्डा बनाएका उम्मेदवारहरूमध्ये कसले बाजी मार्नेछ भन्ने कुरा निर्वाचनको अन्तिम नतिजाले नै प्रष्ट पार्नेछ ।