११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्वारेन्टिनमा कडाइ गर्दा स्वदेशी केराको माग बढ्यो



अ+ अ-

चितवन । सरकारले ‘क्वारेन्टिन’मा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि स्वदेशी उत्पादनको माग बढेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले विगतका वर्षमा केरा बिक्रीको समस्या अहिले भएको बताउनुभयो ।

उहाँका अनुसार विगतका वर्षमा जिनाइन (हरियो केरा) बिक्री नभएर चराले खाने अवस्था आएको थियो । साथै चिनीचम्पाले बजार पाए पनि मूल्य राम्रो पाउन कठिन भएको थियो । अहिले जिनाइन केरा प्रतिकोसा रु तीनले बिक्री भइरहेको उहाँको भनाइ छ । गत दसैँ, तिहारलगायत चाडपर्वमा जिनाइन केरा बिक्री नहुँदा किसान समस्यामा परेको भए पनि अहिले भने बिक्री बढेको उहाँले सुनाउनुभयो ।

चिनीचम्पा केराले पनि राम्रो मूल्य पाएको उहाँले जानकारी दिनुभयो । यो केरा अहिले घरीको रु ६०० मा बिक्री भइरहेको छ । स्वदेशमा उत्पादन भएको केराले बजार र मूल्य पाउँदा किसानले राहत पाएको उहाँको भनाइ छ ।

नेपाल केरा उत्पादक महासङ्घका संयोजक विष्णुहरि पन्त सरकारले जैविक खाद्य सुरक्षामा कडाइ गर्दा आयातित केरा रोकिएको छ । जसका कारण नेपाली उत्पादनले बजार पाउन थलेको हो । उहाँले भन्नुभयो, “नेपालमा टिआर फोर नामक रोग केरामा देखिएपछि क्वारेन्टिनमा कडाइ गर्न थालेको छ ।” गत मङ्सिर २ गतेदेखि आयातित केरामा क्वारेन्टिनमा कडाइ गर्न थालिएको उहाँले बताउनुभयो ।

क्वारेन्टिनले जैविक खाद्य सुरक्षामा कडाइ नगर्दा गएको दसैँ र तिहारमा मात्रै नेपालमा केरा उत्पादन गर्ने किसानले रु ६० करोड बराबरको नोक्सानी बेहोर्नु परेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले केरा उत्पादन गर्ने किसानमा उत्साह बढेको छ । यही अवस्था रहेमा एक वर्षभित्र केरामा नेपाल आत्मनिर्भर बन्छ ।” जैविक खाद्य सुरक्षामा कडाइ गरेपछि विस्थापित हुने अवस्थाबाट किसान थपिने अवस्थामा आएको उहाँले बताउनुभयो ।

नेपालमा उत्पादित केराले बजार पाउँदै गर्दा उपभोक्तामा भने चर्को मूल्य तिर्न बाध्य परेको गुनासो आएको बताउँदै उहाँले यस विषयमा सरोकारवालाहरूले अनुगमन गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “मध्यस्तकर्ताबाट उपभोक्ता ठगिएको सूचना पाएका छौँ । यसलाई अनुगमन जरुरी छ ।”

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यान्वयन कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मी अहिले जिल्लामा उत्पादित केराले बजार र मूल्य नपाउने समस्या हटेको बताउनुभयो । उहाँका अनुसार हाल जिल्लामा दुई हजार हेक्टर क्षेत्रफलमा केरा खेती गरिँदै आइएको छ । जसबाट वार्षिक ७० हजार मेट्रिकटन केरा उत्पादन हुँदै आएको छ ।

राज्यले क्वारेन्टिनमा जैविक खाद्य सुरक्षालाई निरन्तर कडाइ गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न लागिपरेको उहाँले बताउनुभयो । यहाँ उत्पादित केरा चितवनसहित काठमाडौँ, पोखरा, भैरहवालगायत मुख्य सहरहरूमा जाने गरेको छ । रासस