१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दिन देशभर वर्षा र हिमपात



अ+ अ-

काठमाडौं । न्युनचापीय वायुका कारण देशभर दुई दिन हल्का वर्षा र हिमपात हुने भएको छ । बुधबार र बिहीबार काठमाडौं लगायत पश्चिमी क्षेत्रमा केही वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने भएको छ ।

बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ। पूर्वी भू-भागमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुने सम्भावना रहेको छ।

राती देशभर सामान्य बदली रही पश्चिमका केही स्थान, मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान हिमपात हुने सम्भावना रहेको छ।

बिहीबार दिउँसो केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार राती पनि पश्चिमका एक-दुई स्थान साथै मध्य र पूर्वका थोरै स्थानमा वर्षाको संभावना रहेरहेपनि शुक्रबारदेखि मौसम क्रमश: सफा हुँदै जाने छ । देशको मध्य र पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ। शुक्रबार राती देशभर मौसम सफा रहनेछ।

देशका केहि स्थानहरूमा वर्षा र हिमपातको कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिन महाशाखाले सचेत गरेको छ ।