काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि मृत्यु हुनेको संख्या १ हजार ३७७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार बिहान ११ बजेसम्म ५ हजार १३० जना अझै बेपत्ता छन्।
प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लाबाट १ हजार ३७७ जनाको शव फेला परेको हो। सबैभन्दा धेरै चितवनमा ३६४ जनाको शव भेटिएको छ।
नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ। उपचारका क्रममा काठमाडौंमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
हालसम्म फेला परेका शवमध्ये १०४ जनाको मात्र सनाखत भएको छ। बेपत्ता हुनेको संख्या पनि ५ हजार नाघेको छ, जसमा रसुवा र नुवाकोट क्षेत्रका प्रभावित नागरिकको संख्या ठूलो रहेको प्राधिकरणले जनाएको छ।
विपद्पछि विभिन्न १९ अस्पतालमा ३३३ जना उपचाररत छन् भने २५६ जना उपचारपछि डिस्चार्ज भएका छन्। उद्धार कार्यअन्तर्गत हालसम्म १३ हजार ६५६ जनालाई सुरक्षित स्थानमा ल्याइएको छ।
उद्धार गरिएका तथा विस्थापित नागरिकका लागि ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन्। ती केन्द्रमा नुवाकोटका २ हजार ६१५, रसुवाका ७७५ र धादिङका २९५ जना आश्रय लिएर बसिरहेका छन्।
प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत सामग्री ढुवानीका लागि नेपाली सेनाले १ हजार ३४८ र सशस्त्र प्रहरी बलले २७२ वटा हवाई उडान गरेका छन्। स्वास्थ्य सेवातर्फ सेनाले ३ हजार ५५९ र सशस्त्र प्रहरीले ३ हजार ६०६ जनालाई उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराएको प्राधिकरणले जनाएको छ।
खोज, उद्धार र सुरक्षाका लागि २१ हजार ६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। तीमध्ये नेपाली सेनाका ८ हजार ८८५, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना छन्।
सरकारले प्रभावित जिल्लामा राहत रकमसमेत पठाएको छ। रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ। यसबाहेक प्रभावित १५ स्थानीय तहका लागि कुल १३ करोड ५० लाख रुपैयाँ राहत रकम पठाइएको प्राधिकरणले जनाएको छ।
प्रभावित क्षेत्रमा सडक तथा हवाईमार्गबाट खाद्यान्नलगायत गैरखाद्य सामग्री पठाउने कामलाई निरन्तरता दिइएको छ। खोज तथा उद्धारसँगै विस्थापित नागरिकको व्यवस्थापन र राहत वितरणलाई पनि तीव्र बनाइएको प्राधिकरणको विवरणमा उल्लेख छ।









