२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

मुख्य याममा सौराहामा पर्यटक घटे

मुख्य याममा सौराहामा पर्यटक घटे
अ अ+ अ-

चितवन । विगतका वर्षमा यतिबेला सौराहाका होटल ८० प्रतिशत हाराहारी भरिने गरेका थिए । यस वर्ष यतिबेला आधा हाराहारी मात्र पर्यटक यहाँ आएका छन् ।

मुख्य याममा पर्यटक नआउँदा व्यवसायीमा निरासा छाएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे फेब्रुअरी, मार्च र अप्रिल महिना सौराहाको मुख्य पर्यटकीय मौसम भएको बताउनुहुन्छ । गत वर्ष यतिबेला होटलका ८० प्रतिशत कोठा भरिने गरेका उल्लेख गर्दै यस वर्ष ५० प्रतिशतभन्दा कम कोठा बुक भएका उहाँको भनाइ छ ।

अध्यक्ष पाण्डेले भन्नुभयो, “एकदमै राम्रो पर्यटकीय याममा पनि किन पर्यटक आएनन् हामी सोचमग्न छौँ ।” यो बेलामा चितवन राष्ट्रिय निकुञ्जमा ढड्डी फाँडेर टाढासम्म देखिने भएकाले सजिलै वन्यजन्तु हेर्न सकिन्छ ।

मौसमका हिसाबले पनि गर्मी र जाडो दुबै नहुने भएकाले सबैका लागि उपयुक्त यही समय हो । सबै हिसाबले राम्रो भए पनि विदेशी पर्यटक न्यून मात्र आउँदा व्यवसाय प्रभावित भएको उहाँको भनाइ छ । सौराहामा मात्र नभएर देशभरको अवस्था उस्तै रहेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पर्यटक नआउनुको कारण खोज्नुपर्ने भएको छ ।”

सङ्घका उपाध्यक्ष गुणराज थपलिया निर्वाचनका कारण विदेशी पर्यटक नआउँदा सौराहामा पर्यटकको सङ्ख्यामा कमी आएको बताउनुहुन्छ । निर्वाचनपछि पर्यटक बढ्ने उहाँले अपेक्षा गर्नुभयो ।

होटल व्यवसायी सुमन घिमिरे निर्वाचनको मुखमै पर्यटकको आगमनमा कमी आएको बताउनुहुन्छ । विशेष अवस्थामा निर्वाचन हुन लागेको उल्लेख गर्दै उहाँले अन्तरराष्ट्रिय जगतमा यहाँको अवस्था शान्तिपूर्ण छ भन्ने सन्देश पुग्न जरुरी भएको बताउनुभयो ।

युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा गत वर्ष यतिबेला दैनिक चार खेप गर्ने हात्तीले अहिले एक खेप मात्र गर्ने गरेको बताउनुहुन्छ । पर्यटकको आगमनमा कमी आएपछि व्यावसायिक रुपमा पालिएका हात्तीका सञ्चालक प्रभावित भएका छन् । रेष्टुरेन्ट व्यवसायीसमेत रहनुभएका खतिवडाका अनुसार पर्यटक नआएपछि सौराहाका रेष्टुरेन्टमा प्रत्यक्ष प्रभाव परेको छ । मुख्य मौसममा पर्यटक घटेपछि पर्यटकीय गतिविधिमा काम गर्ने समग्र व्यवसाय प्रभावित भएको उहाँले बताउनुभयो ।

बनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपाने सौराहामा यो मौसममा पर्याप्त पर्यटक आउने भए पनि यस वर्ष कमी आएको बताउनुहुन्छ । होटल क्षेत्रमा लामो अनुभव सगाल्नु भएका उहाँले पर्यटक आउनेमा आशावादी हुनुहुन्छ ।

सौराहामा १४८ होटल छन् । जहाँ सात हजार २०० पर्यटक अट्ने क्षमता छ । यस क्षेत्रमा प्रत्यक्ष रुपमा ६ हजार ४०० जनाले रोजगारी पाएको छ । अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या १२ हजारभन्दा बढी छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा दुर्लभ एक सिङ्गे गैँडा, पाटेबाघ, घडीयाल गोहीलगायतका दुर्लभ वन्यजन्तु र चराचुरुङ्गी हेर्न यहाँ स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । यसका अतिरिक्त सौराहामा थारु संस्कृति पनि पर्यटकका लागि रुचिकर बन्दछ । यसका साथै नेपालका विभिन्न सङ्घ संस्था कार्यक्रम गर्न सौराहा आउँछन् भने भारतीय नागरिक बढी मात्रामा यहाँ आउने गर्छन् । रासस