१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो



अ+ अ-

काठमाडौँ । जडबुटीको भरपुर उपयोग गरी अर्थतन्त्रलाई सवल तुल्याउने उद्देश्यले स्थापित देशको एकमात्र कम्पनी ‘जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी’ ४० वर्षपछि नाफा आर्जन गर्न सफल भएको छ । विसं २०३८ मा स्थापित सरकारी कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा पहिलो पटक नाफा कमाउन र सो नाफाबाट कामदार तथा कर्मचारीलाई बोनससमेत बाड्न सफल भएको हो । 
    
कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीद्वारा जारी विज्ञप्तिमा कम्पनीले विगतको कार्य प्रणाली, उत्पादन, बिक्रीलगायत अन्य क्षेत्रमा गरेको सुधार एवं आधुनिकीकरणबाट हालको अवस्थामा आइपुगेको  र यसले आगामी दिनमासमेत नाफा बढाउनाका साथै अंशियारलाई लाभांश तथा कर्मचारीलाई बोनस बाढ्न सक्ने अवस्थामा पुग्ने बताएको छ । कम्पनीले आव २०७६/०७७ मा खुद नाफाबाट रु सात लाख बराबरको बोनस कामदार तथा कर्मचारीलाई वितरण गरेको थियो । 

न्यून जनशक्ति र साधन तथा स्रोतलाई  अधिकतम उपयोग गर्दै लोकप्रिय उत्पादन ‘सञ्चो’लगायत अन्य उत्पादनका सामग्रीको बिक्री प्रणालीमा गरिएको सुधारका कारण कम्पनी सवल बन्दै गएको बताइएको छ । नियमित लेखापरीक्षण, प्रविधिको प्रयोग तथा वितरण प्रणालीमा गरिएको सुधारले कम्पनीको क्षमता विस्तार भएको र  बजारमा राम्रो प्रदर्शनी गरिएको जनाइएको  छ । 
    
“नियमित लेखापरीक्षण गरी सोको प्रतिवेदन समयमै महालेखा परीक्षकको कार्यालयमा पेश गरिएको, लेखा प्रणालीलाई सुधार गरी सफ्टवेर निर्माण गरिएको, विगत २८ वर्षदेखि हुन नसकेको साधारणसभा सम्पन्न भएको र प्रत्येक वर्ष नियमित साधारणसभा समयमै सम्पन्न गरिएकाले  स्थापनाको पुरानो शेयर संरचनालाई सुधार तथा परिमार्जन गर्ने दिशामा कम्पनी अग्रसर छ”, विज्ञप्तिमा उल्लेख छ ।

सरकारी निकायमात्र शेयर सदस्य रहेको कम्पनीले आफ्नो शेयर संरचनामा सुधार र परिमार्जन गरी पूँजी वृद्धिका लागी सार्वसाधारणलाई शेयर निष्काशन गर्ने तयारी गरेको छ । उक्त कम्पनीमा हाल नेपाल सरकारका साथै नेपाल औषधि लिमिटेड, वन पैदावर विकास समिति र कृषि विकास बैंक शेयर सदस्यका रूपमा रहेका छन् । 

सरकारको औद्योगिक क्षेत्रमा रहेका सार्वजनिक संस्थानमध्ये यही कम्पनी नै नाफामा रहेको एकमात्र संस्था हो । अर्थ मन्त्रालयले प्रकाशन गरेको २०७८ को सार्वजनिक संस्थानको वार्षिक समीक्षा  प्रतिवेदनमा पनि यस कम्पनीले आव २०७७/७८ मा रु एक करोड २२ लाख खुद नाफा गरेको विज्ञप्तिमा भनिएको  छ । (रासस)