५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

काठमाडौँ-८ का उम्मेदवारको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन मुख्य मुद्दा

काठमाडौँ-८ का उम्मेदवारको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन मुख्य मुद्दा
अ+ अ-

काठमाडौँ, २१ माघः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा सहरी व्यवस्थापनका साथै यहाँ रहेका विश्व सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गर्ने विषयलाई उम्मेदवारले प्रमुख प्राथमिकतामा राखेका छन् ।

काठमाडौँको केन्द्रमा रहेका यस निर्वाचन क्षेत्रमा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार स्क्वायरसहित विभिन्न मूर्त-अमूर्त सम्पदा छन् । नेपालको पर्यटन क्षेत्रका प्रमुख आधारका रूपमा रहेका यिनै सम्पदाको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई उम्मेदवारले केन्द्रित गर्ने प्रतिबद्धता गरेका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुमन सायमीले सांस्कृतिक सहरका रूपमा रहेको क्षेत्र नं ८ मा सम्पदा संरक्षणसँगै सांस्कृतिक भूमि अतिक्रमणलगायत एजेण्डा लिएर आफू निर्वाचनमा केन्द्रित भएको बताउनुभयो । “जनताको जीवनस्तर उकास्ने यी विषय एक दशकभन्दा बढी समयदेखि उठाउँदै आइरहेको छु । यसपटक बोल्नेलाई होइन काम गर्नेलाई मत दिने मतदाताको चाहना छ”, उहाँले भन्नुभयो, “मतदाताले स्वशासित र कर्मशील नेता खोजेका छन् । भोट दिएपछि नफर्कने नेता खोजेको होइनन् । जनताको पीडालाई सम्बोधन गर्न सक्दो प्रयास गर्नेछु ।”

नेपाली कांग्रेसका उम्मेदवार सपना राजभण्डारीले सांस्कृतिक सम्पदाको संरक्षण, खानेपानी र सवारी व्यवस्थापनका मुद्दा लिएर मतदाताका माझ जाने योजना बनाएको बताृन्भयो । अनौपचारिक प्रचारप्रसार तथा मतदातासँगको साक्षात्कारमा जनताले प्रश्न गर्न थालेका भन्दै विगतका तुलनामा पछिल्लो समय मतदाता धेरै सचेत भएका उहाँको अनुभूति छ ।

कांग्रेस नेत्री राजभण्डारीले भन्नुभयो, “निर्वाचनका समयमा मतदातालाई विभिन्न आश्वासन दिए पनि त्यसलाई पूरा गर्न नेताले पहल नगरेकाप्रति नागरिकको गुनासो छ, ‘तपाईंले जितेपछि पार्टीले के कस्ता विषय पूरा गर्छ त्यो स्पष्ट पार्नुस्’ भनेर उहाँहरूले प्रश्न गर्नुहुन्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार राजेश शाक्यले प्रदेशसभा सदस्य हुँदा आफूले गरेको कामप्रति मतदाता जानकार रहेकाले मतदाताको आफूप्रति सहानुभूति रहेको बताउनुभयो । विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाले भरिपूर्ण निर्वाचन क्षेत्र भएकाले आफू सम्पदाको प्रचारप्रसार र प्रवर्द्धनमा गुरुयोजना बनाएर लाग्ने उहाँको भनाइ छ ।

उम्मेदवार शाक्यले रञ्जना लिपीको प्रवर्द्धन, पर्यटन ‘हव’को विकास, परम्परागत सीपलाई कानुनी मान्यता तथा स्वास्थ्य, शिक्षा र सूचना प्रविधिको विकासमा जोड दिने प्रतिबद्धता गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले मतदाताले सुशासन र आत्मसम्मानका विषय बढी उठाउनुभएकाले नीतिगत सुधार र कर्मचारी संयन्त्रको व्यवस्थित परिचालनका मुद्दा यसपटक मतदाताले राखेको बताउनुभयो । “देशका लागि राम्रो नीति बनाउनुस्, भ्रष्टाचारविरुद्ध कठोर नीति लिनुस् भन्ने मतदाताको आग्रह छ”, उहाँले भन्नुभयो । भित्री सहरमा मूर्त तथा अमूर्त सम्पदाको संरक्षण र सहर बाहिर खानेपानीको समस्या समाधान तथा सार्वजनिक सम्पत्ति संरक्षण आफ्नो एजेण्डा भएको बताउनुभयो ।

पाँच स्वतन्त्रसहित २२ उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा अहिले पाँच स्वतन्त्रसहित २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट राजेश शाक्य, नेपाली कांग्रेसबाट सपना राजभण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट सुमन सायमी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवीन शाही, जनता समाजवादी पार्टी, नेपालबाट सरोजराज वैद्य र नेपाल मजदुर किसान पार्टीबाट बन्दना श्रेष्ठ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

त्यस्तै नेपाल जनता संरक्षण पार्टीबाट दिनेश शाही, संयुक्त नागरिक पार्टीबाट रेमशबहादुर सुनार, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)बाट राजेन्द्रप्रसाद शाह, श्रम संस्कृति पार्टीबाट शिवसुन्दर कर्माचार्य, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट सलामसिंह लामा, उज्यालो नेपाल पार्टीबाट राजन खड्गी, नेपाल सङ्घीय समाजवादी पार्टीबाट विजय डङ्गोल, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट छत्रकुमार पाख्रिन, राष्ट्रिय मक्ति पार्टीबाट मुक्तिनाथ शर्मा र आमजनता पार्टीबाट खगेश रञ्जितकारको उम्मेदवारी परेको छ ।

क्षेत्र नं ८ मा स्वतन्त्र रूपमा तुलसा श्रेष्ठ महर्जन, मुना न्यौपाने (पाण्डे), विकास खड्गी, सुशीला नेपाली र सुनिता महर्जन निर्वाचनको मैदानमा हुनुहुन्छ ।

२०७९ का विजेता र निकटतम पुनः प्रतिस्पर्धामा

अघिल्लो निर्वाचनमा काठमाडौँ क्षेत्र नं ८ बाट रास्वपाका श्रेष्ठ १० हजार ११२ मत ल्याएर विजयी हुनुभएको थियो । हाम्रो नेपाली पार्टीबाट चुनावी मैदानमा हुनुभएका सुमन सायमीले छ हजार १७९ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी बन्नुभएको थियो ।

उक्त निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार जीवनराम श्रेष्ठले चार हजार ८८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रकाश रिमालले चार हजार ३८८, एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यले तीन हजार ८९१ मत प्राप्त गर्नुभएको थियो । सो निर्वाचनमा क्षेत्र नं ८ बाट १९ जना चुनावी मैदानमा उत्रनुभएको थियो । रास्वपा उम्मेदवार श्रेष्ठ, नेकपाका उम्मेदवार सायमी र सङ्घीय समाजवादीका उम्मेदवार डङ्गोल यसपटक पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

गत निर्वाचनमा समानुपातिकतर्फ रास्वपा पहिलो

विसं २०७९ को निर्वाचनमा सो क्षेत्रमा समानुपातिकतर्फ रास्वपा आठ हजार १०४ मतसहित पहिलो दल हुँदा हाम्रो नेपाली पार्टीले पाँच हजार २३, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार हजार ९५५, नेपाली कांग्रेसले चार हजार ८०७, एमालेले चार हजार ५५, तत्कालीन नेकपा (एकीकृत समाजवादी)ले एक हजार एक सय ६९ मत प्राप्त गरेका थिए ।

त्यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सो क्षेत्रबाट नेकपा (एमाले)का उम्मेदवार जीवनराम श्रेष्ठ १३ हजार ३९७ मत ल्याई विजयी हुनुभएको थियो । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशीले १२ हजार ९५३ र विवेकशील साझा पार्टीका उम्मेदवार पुकार बमले चार हजार ४१४ मत पाउनुभएको थियो ।

निर्वाचन क्षेत्र नं ८ मा बाफल, कालीमाटी, टङ्केश्वरी, ताहाचल, छाउनी, भुइँखेल, शोभाभगवती, लखुतीर्थ, माल्चाटार, विजेश्वरी, स्वयम्भू, यट्खा, ढोकाटोल, भीमसेनस्थान, भगवतिवारी, वसन्तपुर, इटुम्बहाल, हनुमानढोका, लाम्पाखा, सोल्टी दोबाटो, हरिसिद्धी र छकडोललगायतका क्षेत्र पर्दछन् ।

काठमाडौँ-८ मा ५७ हजार ८११ जना मतदाता रहेका छन् । सो निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका र नागार्जुन नगरपालिकाका आठ वटा वडा रहेका छन् । काठमाडौँ महानगरपालिकाको १३, १५, १९, २०, २३ र २४ नं वडा, तथा नागार्जुन नगरपालिकाको ४ र ५ नं वडा सो निर्वाचन क्षेत्रमा पर्दछन् । उक्त निर्वाचन क्षेत्रमा २३ वटा मतदानस्थलमा ६५ वटा मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा कामपा वडा नं १३ र २३ मा एमाले, वडा नं १९, २० र २४ मा नेपाली कांग्रेस तथा वडा नं १५ मा तत्कालीन एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका थिए । यस्तै नागार्जुन नगरपालिका वडा नं ४ मा कांग्रेस र ५ मा राप्रपाका उम्मेदवार विजयी भएका थिए ।

नारायण न्यौपाने र अशोक घिमिरे/रासस