काठमाडौं । काठमाडौंमा जारी नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत सहभागी प्रतिनिधिहरुले पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्ने माग गरेका छन् ।
पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रममा गण्डकी प्रदेशको तर्फबाट सो माग उठाइएको हो ।
बुधबार प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्दै एकजना प्रतिनिधिले भनिन्, ‘पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्छ ।’
यस्तै, संघीय संरचनाअनुसारको वैज्ञानिक शिक्षा नीति र कोभिडले अर्थतन्त्रमा पारेको प्रभावबारे पनि उल्लेख गर्न पनि उनको सुझाव छ ।