१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो
अ अ+ अ-

विराटनगर। माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू यो वर्ष काम नपाउँदा चिन्तित भएका हुन् ।

स्थानीय जनपथटोलमा अस्थायी बसोबास गर्दै आएका महमद इस्लाम विगत २३ वर्षदेखि धुनियाको काम गर्दै आउनुभएका छ । यही पेसाबाट उहाँले पाँच जनाको परिवारको पालनपोषण गर्दै आउनुभएको थियो । गत वर्षदेखि सिरक–डस्ना बनाउन आउने ग्राहक घट्दै गएपछि अहिले बिहान–बेलुकाको छाक टार्नसमेत गाह्रो हुन थालेको उहाँ बताउनुहुन्छ ।

चौवन्न वर्षीय इस्लामका अनुसार अन्य मौसममा खासै काम नहुने भए पनि जाडो सुरु भएसँगै दैनिक चार सयदेखि एक हजार ५०० रुपैयाँसम्म कमाइ हुने गरेको थियो । पहिलेपहिले एकै दिनमा आठ–दशवटा सिरक–डस्ना बनाउने गरेको अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ, “बाबुबाजेको पालादेखि यही काम गर्दै आएको हुँ । तर यो वर्ष त पुस आधा बितिसक्दा पनि एउटा पनि माग आएन । यसरी त यो पेसाले अब खानै धान्न गाह्रो हुने देखियो ।”

इस्लामजस्तै पीडा विराटनगर–तीनटोलियाका रफिक सेखको पनि उस्तै छ । धुनियाको कामबाट परिवार पाल्दै आएका सेख यस वर्ष बजारको अवस्थाले वैकल्पिक पेसा खोज्न बाध्य भएको बताउनुहुन्छ । बाबुको पेसागत बिँडो आफैँले सम्हाले पनि नौवर्षे छोरालाई भने यहीँ पेसामा नलगाउने निर्णय गरेको उहाँले बताउनुभयो ।

“यो मसँगै काम गर्दै आएको थियो”, छेउमै खेलिरहेको छोरातर्फ देखाउँदै सेखले भन्नुभयो, “तर अब यसलाई धुनियाको काममा राख्दिनँ । यो काम मेरो हातमै आउन छाड्यो भने यसले के गर्छ ? त्यसैले अब अरु नै काम सिकाइदिन्छु, जसले सधैँ धेरथोर कमाइ गरिरहोस् ।”

जनपथटोलका महमद इस्लाम र तिनटोलियाका रफिक सेखमात्र होइन, जाडो महिना सुरु भइसक्दा पनि सिरक–डस्नाको माग नदेखिएपछि विराटनगरका धुनियाहरू मात्र होइन, यससँग जोडिएका व्यापारी पनि चिन्तित बनेका छन् ।

विगतका वर्षहरूमा मङ्सिरको दोस्रो सातादेखि नै सिरक–डस्नाको कारोबार बढ्ने गरेको भए पनि यस वर्ष माघ लागिसक्दा पनि माग शून्यजस्तै रहेको व्यवसायी बताउँछन् । बाटारोडस्थित जगदम्बा वस्त्रालयका व्यवसायी दुर्गादत्त अग्रवालका अनुसार पहिले जाडो सुरु हुनासाथ रेडिमेड सिरकसमेत ‘स्टक’ गरेर राखिन्थ्यो । तर अहिले ग्राहक देखाउनका लागि मात्र केही सिरक राख्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

“पहिले जाडोमा सय प्रतिशत कपास प्रयोग हुन्थ्यो”, अग्रवाल भन्नुहुन्छ, “अहिले त्यसको तुलनामा १० प्रतिशत पनि प्रयोग हुँदैन । गत वर्ष मङ्सिरको दोस्रो हप्तादेखि नै माग आउँथ्यो, यसपालि त माघ लागिसक्यो, एउटा पनि माग आएको छैन ।”

उहाँका अनुसार विगतका वर्षहरूमा सिरक–डस्ना बनाउन नेपाली कपासको माग उच्च हुने गरेको थियो, तर यस वर्ष पुरानो मौज्दात कपाससमेत प्रयोग हुन नसकेको अवस्था छ ।

महावीररोडस्थित शिवम् इम्पोरियरका व्यवसायी विशाल शाहले पनि यस वर्ष सिरक–डस्नाको माग शून्य बराबर रहेको बताउनुभयो । “पहिले ग्राहक ‘अर्डर’ दिएर मात्र बनाउँथे”, उहाँले भन्नुभयो, “अहिले त्यसको तुलनामा १० प्रतिशत पनि व्यापार छैन । केही वर्षअघिसम्म बजारमा सधैँ भीडभाड हुन्थ्यो ।”

शाहका अनुसार पछिल्लो समय धुनियाहरू घरघरमै पुगेर सिरक–डस्ना बनाइदिने भएकाले पनि पसलमा आउने माग घटेको छ । यद्यपि, पसलमा बनाइने सिरक–डस्नामा प्रयोग हुने कपास प्रायः स्थानीय र गुणस्तरीय हुने भएकाले घरमै बनाइने भन्दा राम्रो हुने दाबी उहाँको छ ।

“हामी गार्मेन्टका कतरनलाई पेलेर बनाइएको फ्रेस कपास प्रयोग गर्छौँ, त्यसैले हाम्रो सामानको गुणस्तर राम्रो हुन्छ”, शाहले भन्नुभयो । “सिरक–डस्ना कपडाजस्तो बर्सेनि फेर्ने सामान होइन । त्यसैले बनाउँदा प्रयोग हुने कपासको गुणस्तरमा ग्राहकले ध्यान दिनुपर्छ ।”

उहाँका अनुसार एउटा सिरक बनाउन चारपाँच केजीसम्म कपास लाग्ने गर्छ भने ग्राहकको चाहनाअनुसार कम–बढी गरेर पनि बनाइन्छ । व्यापारीका अनुसार बजारमा एक जोर सिरकको मूल्य रु एक हजारदेखि आठ हजारसम्म पर्छ भने डस्नाको मूल्य रु छ सयदेखि चारपाँच हजारसम्म पर्छ ।

माग घट्दै जाँदा धुनियाको परम्परागत पेसामात्र होइन, यससँग जोडिएको स्थानीय कपास, साना व्यवसाय र श्रमिकको जीविकोपार्जनमा समस्या भएको छ । रासस