काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।
नेपाल पर्यटन बोर्डले सीईओ रेग्मीमाथि लागेका आरोप छानबिन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
बोर्डको ऐनअनुसार छानबिन समिति गठनसँगै रेग्मी स्वतः निलम्बन भएका थिए ।
निलम्बन गैरकानूनी भएको भन्दै रेग्मीले अदालतको सहारा लिएका थिए ।
यसैबीच, उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई माघ ३ गते छलफलका लागि हाजिर हुन भनेको छ ।