काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार भेटवार्ता भएको छ। भेटमा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधान तथा पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको छ।
सभापति थापासँगको भेटमा नेता कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेको भन्दै कांग्रेस एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। पार्टी एकताका लागि आफ्नो तर्फबाट आवश्यक त्याग गर्न आफू तयार रहेको कोइरालाले बताएका उनका सचिवालयले जनाएको छ।
जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएका छन्। कांग्रेसलाई एकताबद्ध बनाउन आफू निरन्तर लागिपरेको थापाको भनाइ थियो।
भेटमा भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा पर्ने रसुवामा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा उत्पन्न विपत्तिका विषयमा समेत छलफल भएको थियो।
यसअघि सभापति थापाले शनिबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि भेटवार्ता गरेका थिए। पार्टीभित्रको विवाद समाधानका विषयमा थापा र खड्काबीच भएको छलफल सकारात्मक रहेको कांग्रेस नेताहरूले बताएका छन्।









