१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोमसोमका पानीघट्ट स्तरोन्नति



अ+ अ-

मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको पानीघट्टको मर्मतसम्भार तथा स्तरोन्नति गरिएको छ ।

यहाँका महिलाहरूको नेतृत्व विकास गर्दै आदिवासी तथा परम्परागत प्रविधिको संरक्षण गरी जलवायु समानुकूलित गराउने उद्देश्यले यहाँका जीर्ण पानीघट्ट र भौतिक संरचना पुनर्निर्माण गरिएको हो ।

क्यानेडाली सरकार (सिएफएलआई)को आर्थिक सहयोगमा अन्तरराष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल (आइसीयुएन)ले यहाँस्थित पानीघट्टको मर्मतसम्भार तथा स्तरोन्नति योजना कार्यान्वयनमा ल्याएको हो । यसका लागि घरपझोङ गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र जोमसोम महिला समूहको सहकार्यमा स्थानीय महिला समूहले परम्परागत प्रयोगविहीन पानीघट्टको मर्मतसम्भार तथा स्तरोन्नति गरेको अन्तरराष्ट्रिय प्रकृति संरक्षण कोष नेपालका कार्यक्रम निर्देशक युवराज गुरागाईँले जानकारी दिनुभयो । निर्देशक गुरागाईँका अनुसार जोमसोमका जीर्ण पानीघट्ट मर्मतसम्भार तथा स्तरोन्नतिका लागि स्थानीय महिला उपभोक्ता समितिमार्फत कार्यान्वयन हुनेगरी रु नौ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको बताउनुभयो ।

सदियौँ वर्ष पहिले पुर्खाहरूले निर्माण गरेका परम्परागत पानीघट्ट यहाँको प्राचीन संस्कृति र ऐतिहासिक धरोहर भएकाले यस प्रकारका प्रविधिलाई कालान्तरसम्म जोगाएर राख्नुपर्ने जोमसोम महिला समूहकी अध्यक्ष भुवन शेरचनले बताउनुभयो । आधुनिक प्रविधि युगमा मानिसहरू छिटोछरितो रूपमा काम गर्न चाहने भए पनि यहाँको पानीघट्टको मौलिक र विशिष्ट पहिचान रहेको अध्यक्ष शेरचनले बताउनुभयो ।

समूहकी अध्यक्ष शेरचनले विकास र पूर्वाधार निर्माण ठूलो नभई संरक्षण र संवर्वद्धनको पाटो महत्त्वपूर्ण भएकाले पानीघट्टको इतिहासलाई जीवित राख्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । प्रयोगविहीन अवस्थाका पानीघट्ट मर्मत तथा स्तरोन्नतिले जोमसोमका करिब दुई सय घरपरिवार प्रत्यक्ष लाभान्वित हुने घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थकालीले बताउनुभयो ।

तत्कालीन समयमा यहाँ विद्युतीय सुविधा र आधुनिक उपकरणको प्रयोग नहुँदा पुर्खाहरूले पानीघट्टमा अन्नबाली पिसेर खाने गरेका थिए । यहाँ दातृ निकायको सहयोगबाट जोमसोम पानीघट्टको पुरानो भौतिक संरचना पुनर्निर्माण, घट्टका लागि पानी सञ्जय गर्ने ड्याम निर्माण र घट्टका लागि चाहिने आवश्यक उपरकणको व्यवस्थापन गरिएको समिति अध्यक्ष थकालीले बताउनुभयो ।

घट्टमा पिसेको पीठो स्वादिलो, पोषिलो र लामो समयसम्म टिकाउ हुने भएकाले निकै उपयोगी मानिएको छ । घट्ट मर्मत तथा स्तरोन्नतिसँगै यहाँका नागरिकले उवा, जौँ, फापर, मकै, गहुँ र फापरको सुकेको पात (ढाप्रा)लगायत परम्परागत बाली पिसेर पीठो बनाउन प्रचलन छ ।

पछिल्लो समय प्रविधिको विकाससँगै यहाँका पानीघट्ट लोपोन्मुख अवस्थामा रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो । मुस्ताङका अधिकांश स्थानमा पानीघट्ट संस्कृति हराउँदै गइरहेको अवस्थामा एक्यापलगायत सङ्घसंस्थाले पानीघट्ट संस्कृति जोगाउन काम गरिरहेको प्रमुख गुप्ताको भनाइ छ । घट्ट संरक्षणले स्थानीय किसानलाई राहत पुगेको र यसले संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास गरिएको छ । रासस