२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका लागि नेपाली राजदूत पौडेललाई भ्रष्टाचारमा कारबाही सिफारिश



अ+ अ-

काठमाडौं । बालुवाटारको ललिता निवासले चर्चेको ११४ रोपनी जग्गा हिनामिना प्रकरणमा चीनका लागि नेपाली राजदूत लिलामणि पौडेललाई पनि कारबाहीको सिफारिश गरिएको छ । समाचारअनुसार प्रहरीले पूर्वमुख्य सचिव एवं हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई पनि कारबाही सिफारिश गरेको हो । उनीसहित ४० जनाभन्दा बढीलाई कारवाही गर्न सिफारिस गरेको हो ।

चीनका लागि नेपाली राजदूत लिलामणी पाैडेल । तस्वीरः रासस

अनुसन्धान गरि सकेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरुले कीर्ते गरेर नक्कली मोही खडा गरी सरकारी सम्पत्तिमा हानी पुराएको निष्कर्ष निकालेको बुझिएको छ ।

उक्त प्रहरी ब्युरोले गरेको अनुसन्धानको प्रतिवेदन आईजीपी सर्वेन्द्र खनाल र डीआईजी निरजबहादुर शाहीले बिहीबारै गृह मन्त्रालयमा बुझाइसकेको प्रहरीको विशेष स्रोतले जानकारी दियो । उक्त जग्गाको बेचबिखनको ‘निर्णय प्रक्रियामा संलग्न रहेका कर्मचारीहरु मोही लगायत दर्जनौं व्यक्तिलाई कारबाहीका लागि सिफारिस गरेको बताइएको छ ।

यसरी कारबाहीका लागि सिफारिश गरिएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिव छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसह–सचिव कलाधर देउजा, गेहनाथ भण्डारी सुधीर शाह आदि छन् ।

यसैगरी सो जग्गाको योजनाकार शोभाकान्त ढकाल, रामकुमार सुवेदी, भाटभटेनी सुपर मोर्कटका मीनबहादुर गुरुङ, तत्कालीन मालपोत अधिकृत हुपेन्द्रमणि केसी, भोगाधिकारी रुक्मशमशेर राणा, हेमाद्री राणा, गेहनाथ भण्डारीलाई पनि कारबाही गर्नुपर्ने भनी सिफारिश गरिएको छ ।

उनीहरुमाथि कीर्ते जालसाँझी, सरकारी सम्पत्ति हिनामिना र ठगीको कसूर अनुसन्धानले देखाएको छ । अनुसन्धानका क्रममा करिब एक सय जनासँग बयान लिएको तर अधिकांशले आरोप अस्वीकार गरेका पनि सो समाचारमा जनाइएको छ ।