२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाकाे एकता प्रयास बिफल, चुनाव चिह्नमा सहमति जुटेन



अ+ अ-

काठमाडाैंः कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तका बीच एकता गर्ने अन्तिम प्रयास विफल भएको छ । दुवै पार्टीका तीन अध्यक्षका बीच एकताको लागि शीर्ष तहमै चरणबद्ध छलफल भइरहेको थियो ।

शुक्रबारदेखि काठमाडौंमा शुरु भएको राप्रपाको केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन र अरु दुईवटा प्रतिवेदन पेश गरेपछि शनिबार सम्मका लागि बैठक स्थगित गरेका राप्रपा अध्यक्ष थापा राणा लोहनीसंग एकताको अन्तिम छलफलका लागि महाराजगन्जको एक होटलमा पुगेका थिए ।

यसअघिका छलफलमा एकता पछि तीन अध्यक्ष हुने, राप्रपालाई ५५% र राप्रपा संयुक्तलाई ४५% भागवण्डा गर्ने सहमति भएको थियो भने चुनाव चिन्ह महाधिवेशनले टुंगो लगाउने अनौपचारिक टुंगो लागेको थियो । तर सहमतिको अन्तिम प्रयासका लागि भएको बैठकमा डा.लोहनीले अप्रत्याशित रुपमा चुनाव चिन्हको बखेडा सिर्जना गरेपछि एकता अवरुद्ध बन्न पुगेको हो ।

पार्टी एकीकरण गर्ने लगभग सैद्धान्तिक सहमतिमा पुगेका दुवै पार्टीका शीर्ष नेताबीच शुक्रबार साँझ भएको वार्तामा चुनाव चिह्नबारे विवाद भएको छ । अपरान्ह ४ बजेदेखि महाराजगञ्जको होटल ला शेर्पामा राप्रपा अध्यक्ष थापा तथा राप्रपा संयुक्तका अध्यक्षद्वय राणा र डा. लोहनीबीच करिब डेढ घण्टा छलफल भएको थियो । तर चुनाव चिह्नका विषयमा सहमति जुट्न सकेन ।

चुनाव चिह्नलाई आगामी महाधिवेशनबाट टुंग्याउने सहमति भएको तर राणा र लोहनीले हलो चिह्न स्वीकार गर्नुपर्ने धारणा राखेको र साँझसम्म बैठक सहमतिमा नपुगेको थापा निकट एक नेताले जानकारी दिए । ‘बिहीबार भएको बैठकमा सबै विषय टुंगिएको थियो, शुक्रबार संयुक्तका शीर्ष नेताबाट चुनाव चिह्नका विषयमा नयाँ धारणा आएपछि साँझ अध्यक्षत्रयको बैठकमा त्यसबारे सहमति जुट्न सकेन’ राप्रपाका एक नेताले भने ।

राप्रपाले जारी केन्द्रीय समिति बैठकमा पार्टी एकता र महाधिवेशनको दुवै विकल्प खुला राखेको छ । २०७३ फागुन ६ गते राप्रपा समूहहरुको एकता महाधिवेशन भएको थियो भने संसदीय निर्वाचनभन्दा अघि २०७४ भदौ २२ गते पार्टी विभाजित भएको थियो । राप्रपा समुहमा स्थापनादेखि नै टुटफुटको श्रृंखला चल्दै आएको छ ।

अहिले राप्रपाको चुनाव चिह्न गाई र राप्रपा संयुक्तको हलो छ । गाई चिन्ह बाहक राप्रपाको प्रतिनिधि सभामा एक, प्रदेश सभामा तीन र १५ स्थानीय तहमा प्रतिनिधित्व रहेको छ । पार्टीको नीति, विचार र सिद्धान्तको हकमा हकमा भने पार्टीको पछिल्लो महाधिवेशनको विधान लागु गर्न तीनै नेता सहमत भएका थिए । शिर्ष नेतृत्व तहमा भएको बिहीबारको समझदारीबाट राप्रपा संयुक्त पछि हटेपछि अब एकता टरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।

देशमा बलियो राष्ट्रवादी पार्टी निर्माण गर्न हाम्रो सकारात्मक र इमानदार प्रयास थियो तर राप्रपा संयुक्तले धोका दिएपछि अब एकता नहुने श्रेष्ठले जानकारी दिए । हामी केन्द्रीय समितिको बैठकमा छौं, निर्वाचन समितिले महाधिवेशनको विनियमावली, निर्देशिका र कार्यतालिका पेश गरेको छ, अब महाधिवेशनको दिशामा दृढतापूर्वक अघि बढ्छौं- श्रेष्ठले भने । आजको बैठकमा सातवटै प्रदेशका अध्यक्षले प्रतिवेदन पेश गरेका छन् र आजबाट सबै प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको छ ।