२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाको साँस्कृतिक गुठी सञ्चालनको जिम्मा स्थानीय सरकारलाई दिऔं: मन्त्री मानन्धर



अ+ अ-

सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले काठमाडौं उपत्यकाको सांस्कृतिक गुठी संसक्षण र सञ्चालनको जिम्मेवारी स्थानिय सरकारलाई दिइनु उपयुक्त हुने बताएका छन् । सामुदायीक विकास संघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा मन्त्री मानन्धरले काठमाडौं उपत्यकाको सांस्कृतिक र परम्परागत गुठीहरुको संरक्षण र सम्वर्द्धनका लागि स्थानिय सरकारलाई नै जिम्मेवारी दिँदा सहज हुने बताएका हुन् ।

सरकारले देशभरका साँस्कृतिक र अन्य गुठीहरुको व्यवस्थापनका लागि गुठी विधेयकलाई बैज्ञानिक तरिकाले परिस्कृत गरेर ल्याउने तयारी गरिरहेको बताउँदै मन्त्री मानन्धरले कतिपय स्थानहरुमा गुठीका जग्गाहरुको विवाद देखिएको बताए । उपत्यकाको गुठीहरुमा जग्गाको विवाद नरहेको बताउँदै मन्त्री मानन्धरले संस्कृति जोगाउने गुठीहरुलाई फरक रुपले हेर्नुपर्ने बताए । काठमाडौंमा कायम रहेको गुठी यहाँको जनजीवनसँग सम्बन्धीत रहेको र जन्मदेखि मृत्युसम्मका संस्कारहरु गुठीकै माध्यमबाट हुने भएकाले स्थानीय सरकारकै निगरानीमा रहनेगरी व्यवस्थापन गर्न आफुले पहल गरिरहेको मन्त्री मानन्धरको भनाई छ ।

मन्त्री मानन्धरले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकंक्षा पुरा गर्न र प्रधानमन्त्रीको सपना साकार पार्न वर्तमान सरकार लागिपरेको पनि बताए । सरकारले विकासका पुर्वाधार निर्माणमा आधार तयार पारेको बताउँदै मन्त्री मानन्धरले आगामी वर्षदेखि देखिनेगरी विकासका प्रतिफल प्राप्तहुने दाबी समेत गरे । प्रधानमन्त्रीले परिकल्पना गर्नुभएको नयाँ नेपाल निर्माणमा वर्तमान सरकार र सत्तारुण नेकपा लागिपरेको बताउँदै सरकारको कामबाट अत्तालिएकाहरुले भ्रम फैलाउन खोजेको मन्त्री मानन्धरको आरोप छ ।

एमसीसी र डन्डोप्यासीफीक रणनीति फरक विषय भएको बताउँदै मन्त्री मानन्धरले देशको विकासका लागि एमसीसीको अनुदान स्विकार्नुपर्ने बताए । तत्कालिन अवस्थामा विदेशी लगानीविना देशको विकास र समृद्धि सम्भव नभएको बताउँदै एमसीसी अनुमोदनको पक्षमा सरकार रहेको मानन्धरको भनाई छ ।

देशभर बन्ने नयाँ सहरहरुको डीपीआर निर्माण र पुर्वाधार विकासको काम भइरहेको बताउँदै मन्त्री मानन्धरले व्यवस्थीत सहरीकरणका लागि आफुले पहल गरिरहेको बताए । काठमाडौं उपत्यकाको सडकमा भएका खाल्डाखुल्डी पुर्ने र नयाँ पिच गर्ने कामलाई तिब्रता दिइएको बताउँदै अबको केही समयभित्रै उपत्यकाका सडक व्यवस्थीत र धुलोरहित हुने दाबी समेत गरे ।