२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

स्थानीयवासीको अवरोधका कारण विद्युत् प्रसारण लाइन विस्तारमा समस्या

स्थानीयवासीको अवरोधका कारण विद्युत् प्रसारण लाइन विस्तारमा समस्या
अ अ+ अ-

चितवन । स्थानीयवासीको अवरोधका कारण पूर्वी चितवनमा निर्माण गरिएको विद्युत् सबस्टेशनको लाइन विस्तार हुनसकेको छैन । विगत एक महिना अघिदेखि लाइन विस्तारको तयारी गरिएको भए पनि स्थानीयवासीको अवरोधका कारण काम गर्न नसकिएको हो । 

पूर्वी चितवन १३२ केभि सबस्टेशन आयोजना राप्ती नगरपालिका–६ हर्दी भण्डाराका प्रशासन प्रमुख सुरेश पण्डितका अनुसार सबस्टेशन निर्माणको काम सम्पन्न भई सकेर सबस्टेशनबाट चैनपुर सबस्टेशनमा लाइन विस्तारको काममा स्थानीयवासीले अवरोध गरेका हुन् । अवरोधका कारण हर्दी सबस्टेसनबाट चैनपुर सबस्टेसनसम्म डबल सर्किट सबप्रशारण लाइन बनाउने काम रोकिएको छ । 

पुरानो राजमार्ग हुँदै लगिने सबप्रशारण लाइनको टावर बनाउने क्रममा स्थानीयवासीले अवरोध गरेपछि काम रोकिएको हो । हर्दीबाट खैरहनी नगरपालिकाको पुरानो राजमार्ग क्षेत्र १०, ९, ७, ६ नम्बर वडाहँुदै वडा नं २ मा रहेको चैनपुरसम्म प्रशारणलाइन लैजाने गरी सर्वे भएको थियो । करिब ८.५ किलोमिटर दूरीमा ४६ वटा विद्युत् टावर बनाएर सर्किट सबप्रशारण लाइन लैजानुपर्ने हुन्छ । जसमध्ये अहिले १४ वटामात्र टावर निर्माणको काम प्रारम्भ भएको छ ।

राप्ती नगरपालिका तर्फका १६ मध्ये १४ टावरमात्रै बनाउनका लागि जग राख्नेकाम सम्पन्न भएको छ । खैरहनीतर्फका ३० टावर बनाउने क्रममा स्थानीयवासीको विरोध गरेसँगै काम रोकिएको हो । खैरहनी नगरपालिकातर्फको काम सुरु गर्ने समयमा स्थानीयवासीले १७ बुँदे माग जिल्ला प्रशासन कार्यालयमा बुझाउँदै प्रशारण लाइनको रुट परिवर्तन गर्न माग गरेका छन् । 

पुरानो राजमार्ग क्षेत्रको सडक क्षेत्राधिकार एकीन नभएको, दर्जनौं बोर्डिङ स्कुल, कलेज छेउमै पर्ने, रोग तथा दुर्घटनाको जोखिम बढ्ने, दूरी लामो हुने भन्दै स्थानीयवासीले काममा रोक लगाएका हुन् । हर्दि चैनपुर हाइटेन्सन सङ्घर्ष समिति निर्माण गरी उनीहरुले आफ्नो माग राखेका हुन् । सङ्घर्ष समितिका संयोजक केशव भट्टराईले सडकको जग्गामाबिना अनुमति टावर राख्न लागेको हुँदा पछि स्थानीयवासीनै खतरामा पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अरु केही भनेका छैनौँ, सडकबाट अनुमति लिएको पत्र देखाउनुहोस् भनेका छौँ ।” हाईटेन्सन लाइनको मुनि भएपछि बैंकहरुको मूल्याङ्कनमासमेत प्रभाव पर्ने भएकाले स्थानीयवासी समस्यामा परेको उहाँको भनाइ थियो ।

विसं २०७५ देखि पूर्वी चितवन १३२-३३-११ केभी सबस्टेसन आयोजनाको काम सुरु भएको हो । आयोजना प्रमुख रमनराज शर्माले सबप्रशरण लाइन तान्ने बाहेका सबै काम पूरा भएको बताउनुभयो । उहाँका अनुसार रु ५१ करोड ५१ लाखको लागतमा तयार गरिएको आयोजनाको सबप्रशारण लाइनको काम पूरा गर्न रु तीन करोड ७० लाख विनियोजन गरिएको छ । अहिले रु तीन करोड ७० लाखको काममा स्थानीयवासीले रोक लगाएका छन् ।  खैरहनी तर्फका टावरको जग राख्ने काम बाँकी रहेको भन्दै उहाँले भन्नुभयो, “घरगोठबाट तीन मिटर पर सडककै जग्गामा टावर बनाउन खोज्दासमेत स्थानीयवासीले काममा रोक लगाए ।” स्थानीयवासीले बिना छलफल काम गरेको भनेर छलफल गर्न माग राखेपछि स्थानीयवासीसँग छलफलमै रहेको उहाँले बताउनुभयो । 

हाइ–भोल्टेजको नभइ मझौला भोल्टेजको सबप्रशारण लाइन लैजान खोजिएको उहाँले जानकारी दिनुभयो । सुरक्षित रुपले अग्ला टावरमा तार राखिने भएकाले हानीनोक्सानी केही नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वी चितवनमा लाईन गइरहने समस्या हल गर्नका लागि यो काम पूरा गर्न जरुरी छ ।” भरतपुरबाट ल्याइएको ३३ केभी फिडरलाई केही वर्षपछि देवनगर–गीतानगरमा बन्ने सबस्टेसनमा पठाइने छ । त्यसपछि चैनपुर सबस्टेसनको विद्युत्को मुख्य स्रोत हर्दी सबस्टेसन नै बन्ने उहाँले बताउनुभयो । चैनपुरबाट  करिब २१ किलोमिटर लामो दूरी भरतपुरबाट ल्याइएको एउटा मात्रै ३३ केभी फिडरमार्फत खैरहनी–२ चैनपुरमा रहेको ३३÷११ केभी सबस्टेसनबाट पूर्वी चितवनमा विद्युत् प्रवाह गरिँदै आएको छ । विद्युत्को माग बढी भएकाले ओभरलोड हुने समस्याले भोल्टेज कम हुने, ट्रिप बारम्बार हुने, बेलाबखत विद्युत् अवरुद्ध हुने समस्या रहेको छ । पूर्वी चितवनमा ६५ हजार बढी ग्राहक छन् ।

चैनपुर सबस्टेसनको क्षमता वृद्धि गर्न हर्दीको सबस्टेसनले महत्वपूर्ण भूमिका खेल्ने शर्माले बताउनुभयो । सो स्टेसनबाट ३३ केभीका डबल सर्किट सबप्रशारण लाइन लगेपछि चैनपुरको १५ मेघावाटबाट ४० मेघावाट क्षमतामा वृद्धि हुने छ । हर्दी सबस्टेसनका प्रशासन प्रमुख पण्डितले स्थानीयवासीकै सहमतिमै छिट्टै टावर बनाउने काम सुरु हुने विश्वास व्यक्त गर्नुभयो । केही भ्रम रहेको भन्दै उहाँले ती भ्रम चिर्न सके अवरोध हट्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बस्तीनै जोखिममा पारेर विद्युत् लाइन लैजाने कल्पनासमेत गर्न सकिदैन, हामी यी सबै नीति मापदण्डपालना गरेरै काम गर्छौं ।” 

मुख्य सडकहुँदै सबप्रशारण लाइन लैजान ठाउँ अभाव भएकाले पुरानो राजमार्ग क्षेत्र रोजिएको उहाँको भनाइ छ । मुख्य राजमार्गको दुवैतर्फ ११ केभी हाइटेन्सनलाइन रहेको भन्दै उहाँले त्यस क्षेत्रमा पोल तथा टावर थप्ने अवस्था नरहेको बताउनुभयो । हर्दी सबस्टेसनमा ३० एमभिए क्षमताका दुई र १६ एमभिए क्षमताको १ वटा पावर ट्रान्सफर्मर छ । अहिले यही सबस्टेसनबाट खुरखुरे, भण्डारा, लोथरलगायतका क्षेत्रमा विद्युत् सेवा उपलव्ध गराइएको छ ।

खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले यो आयोजना पूर्वी चितवनका लागि अत्यावश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले २०औँ वर्षसम्म पूर्वी चितवनलाई उज्यालो दिन्छ ।” यसको महत्वको बारेमा स्थानीयवासीलाई बुझाएर प्रशारणलाइन सम्पन्न गर्न छलफल चलिरहेको उहाँले जानकारी दिनुभयो ।