५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२५ मा समुद्रबाट रेकर्ड ताप अवशोषित



अ+ अ-

एजेन्सी । विश्वका महासागरहरूले सन् २०२५ मा अहिलेसम्मकै उच्च मात्रामा ताप अवशोषित गरेको तथ्य वैज्ञानिकहरूको एक अन्तर्राष्ट्रिय टोलीले सार्वजनिक गरेको छ । विज्ञहरूका अनुसार यसले समुद्री सतहको वृद्धि, शक्तिशाली आँधीबेहरी र कोरल नष्ट हुने जोखिमलाई अझ तीव्र बनाएको छ ।

अध्ययनअनुसार सन् २०२५ मा महासागरमा जम्मा भएको अतिरिक्त ताप करिब २३ जेटाजुलले बढेको छ । यो झण्डै चार दशकको विश्वव्यापी प्राथमिक ऊर्जा खपतको बराबर हो । यो तथ्य ‘एडभान्सेस इन एटमोस्फेरिक साइन्सेज’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित गरिएको छ । आधुनिक रेकर्ड राख्न सुरु गरिएको सन् १९५० को दशकयताकै सबैभन्दा उच्च स्तरको महासागरीय ताप रहेको अध्ययनले देखाएको छ ।

यो निष्कर्ष निकाल्न विश्वका ३१ अनुसन्धान संस्थामा आबद्ध ५० भन्दा बढी वैज्ञानिकले विभिन्न स्रोतको प्रयोग गरेका थिए । तीमध्ये हजारौँ फ्लोटिङ रोबोटहरू पनि रहेका छन्, जसले समुद्रको सतहदेखि करिब दुई हजार मिटर गहिराइसम्म तापक्रम र अन्य परिवर्तनहरू निरन्तर मापन गर्छन् ।

अध्ययनकी सह–लेखक तथा फ्रान्सेली अनुसन्धान संस्था मर्केटर ओसन इन्टरनेसनलकी समुद्रविद् करिना भोन सकम्यानका अनुसार सतहभन्दा गहिराइमा केन्द्रित अध्ययनले मानव गतिविधिबाट उत्सर्जित हरितगृह ग्यासका कारण महासागरमाथि परिरहेको ‘निरन्तर दबाब’ लाई अझ स्पष्ट रूपमा देखाउँछ । उहाँले भन्नुभयो, “तस्वीर एकदमै स्पष्ट छ । सन् २०२५ का नतिजाले समुद्रको तापक्रम निरन्तर बढ्दै गएको पुष्टि गर्छ ।”

महासागर पृथ्वीको जलवायु प्रणालीका प्रमुख नियामक मानिन्छन्, किनकि मानवले कार्बन डाइअक्साइडजस्ता हरितगृह ग्यास उत्सर्जन गर्दा वायुमण्डलमा जम्मा हुने अतिरिक्त तापमध्ये करिब ९० प्रतिशत महासागरले नै अवशोषण गर्छन् । तर यही अतिरिक्त ऊर्जाले गम्भीर प्रभावहरू पनि निम्त्याइरहेको छ ।

तातो महासागरले वायुमण्डलमा आद्र्रता बढाउँछ, जसले उष्णकटिबन्धीय चक्रवात र विनाशकारी वर्षालाई थप शक्तिशाली बनाउँछ । पानी तातिँदा फैलिने भएकाले समुद्री सतहको स्तर बढ्ने प्रक्रियामा पनि यसले प्रत्यक्ष योगदान पुर्‍याउँछ । साथै, उष्णकटिबन्धीय समुद्री चट्टानहरूमा रहेका कोरलहरू लामो समयसम्म चल्ने समुद्री गर्मी छालका कारण नष्ट हुने अवस्थामा पुगेका छन् ।

भोन सकम्यानले भन्नुभयो, “जबसम्म पृथ्वीले ताप जम्मा गर्न जारी राख्छ, महासागरको ताप बढिरहनेछ, समुद्री सतह उकासिनेछ र नयाँ–नयाँ रेकर्डहरू कायम हुँदै जानेछन् ।”

अध्ययनले महासागरको तापक्रम सबै क्षेत्रमा समान नभएको पनि देखाएको छ । केही क्षेत्रहरू अन्यभन्दा छिटो तातिरहेका छन् । सन् २०२५ मा उष्णकटिबन्धीय महासागर, दक्षिण अटलान्टिक, भूमध्यसागर, उत्तरी हिन्द महासागर र दक्षिणी महासागरले रेकर्ड मात्रामा ताप अवशोषित गरेका थिए ।

यद्यपि सन् २०२५ मा औसत समुद्री सतहको तापक्रम अघिल्ला वर्षको तुलनामा केही घटेको देखिए पनि यो अझैसम्म मापन गरिएका तेस्रो–उच्चतम स्तरमै रहेको अध्ययनले जनाएको छ । वैज्ञानिकहरूका अनुसार यो कमी सन् २०२३–२०२४ मा देखिएको शक्तिशाली ‘एल निनो’ ताप प्रभावबाट ‘ला निन्या’ प्रकारको अवस्थातर्फको सङ्क्रमणसँग सम्बन्धित हो, जसले समुद्री सतहलाई अस्थायी रूपमा केही चिस्याउँछ ।

तर दीर्घकालीन रूपमा हेर्दा जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढिरहेकाले महासागर तातिने गति झनै तीव्र हुँदै गएको छ । विज्ञहरूका अनुसार जबसम्म ग्लोबल वार्मिङलाई नियन्त्रणमा ल्याइँदैन, महासागरले हरेक वर्ष नयाँ रेकर्ड तोड्दै जानेछन् ।

भोन सकम्यानले चेतावनी दिँदै भन्नुभयो, “अब जलवायु प्रणालीको सबैभन्दा ठूलो अनिश्चितता भौतिक विज्ञान होइन, मानवताले गर्ने छनोट हो ।” उहाँका अनुसार तीव्र रूपमा उत्सर्जन कटौती गर्न सके भविष्यका गम्भीर प्रभावहरू सीमित गर्न सकिन्छ र समाज तथा प्राकृतिक प्रणालीहरू फस्टाउन सक्ने जलवायु जोगाउन सहयोग पुग्नेछ ।




भर्खरै