२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

परीक्षण उडानमै सीमित कोटबाडा विमानस्थल



अ+ अ-

मान्म । विसं २०४२ बाट निर्माण कार्य थालिएको कालिकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटबाडा विमानस्थल परीक्षण उडानमा मात्रै सीमित भएको छ । विसं २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन सकेको छैन । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीको कार्यकालमा परीक्षण उडान गरिएको कोटबाडा विमानस्थल कसैले चासो नदिँदा परीक्षण उडानमै सीमित भएको हो । परीक्षण उडान गरिएको चार वर्ष बित्दासमेत यस विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर र भवनसमेत नबनाएको स्थानीयवासी गणेशबहादुर विष्टले बताए ।

“विमानस्थलमा परीक्षण उडान मात्र गरियो”, उनले भने, “त्यसपछि कुनै पनि भौतिक पूर्वाधार बनाउने काम भएको छैन ।” सडक सञ्जालले नछोएको नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीले एक दिनको पैदल दूरी हिँडेर राजमार्गमा पुग्नुपर्ने बाध्यता रहेको र विमानस्थलको नियमित उडान भएमा पर्यटकीयस्थलका रूपमा रहेको रामारोशन, बाजुरा र कालिकोटको सिमानामा रहेको त्रिवेणी पाटन बडिमालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । “यस पालिकालाई अहिलेसम्म पनि सडक सञ्जालले छोएको छैन ।”

विमानस्थलका विषयमा प्रत्येक नेता र राजनीतिक दलले चुनावी नारा मात्र बनाउने, कसैले पनि नियमित उडानलगायतका भौतिक पूर्वाधार विकासमा ध्यान नदिएको नरहरिनाथ गापाका सामाजिक अभियन्ता वीरेन्द्रबहादुर बुढाले बताए । “विमानस्थल निर्माण पञ्चायतकालदेखि बहुदलीय व्यवस्थाको नारा बन्यो”, उनले भने, “अहिले लोकतान्त्रिक गणतन्त्रमा पनि यसलाई चुनावी नारा बनाइएको छ ।”