काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारले १५औं महाधिवेशनको तिथिमिति एक दिन पनि तलमाथि गर्न नहुने बताउनु भएको छ ।
कांग्रेस दुई दर्जन नेताहरूले संस्थापन र संस्थापन इतर समूहलाई १५ औं महाधिवेशनको कार्यतालिका स्थगन गरेर एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न आग्रह गरेका बेला सत्तारले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो “संविधान, पार्टीको विधान र सर्वोच्च अदालतको फैसलाले बाँधिएकाले तोकिएकै समयमा महाधिवेशन गर्नुको बिकल्प छैन । को सहभागी हुने वा नहुने भन्नेकुरा व्यक्तिमा भर पर्छ पार्टीले कसैलाई पनि रोकेको छैन । ”
उहाँले भन्नुभयो “सर्वोच्च अदालतको डिभिजन बेञ्चको फैसलामा समेत उक्त मिति समेटिएकाले पनि असोज १६ गतेदेखि महाधिवेशन हुने भन्ने आधार बनाइएकाले हामीहरू बाँधिएका छौँ, त्यसैले थोरै समयमा धेरै काम गर्नुपर्नेछ त्यसैले समय तल माथी गर्नु हुदैन , निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ, हामी सबैले त्यसैलाई पछ्याउने हो ।”
पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहितका दुई दर्जन नेताहरूले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर दुवै समूहलाई महाधिवेशनको कार्यतालिका स्थगन गरेर एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न आग्रह गरेका थिए ।
नेता सत्तारले भन्नुभयो “अब वार्ता वा अमूर्त सहमतिको नाममका कुनै नाटकको अर्थ छैन , काँग्रेसलाई बिधि र प्रक्रियाबाट चलाउने हो भने १५औं महाधिवेशनको तिथिमिति एक दिन पनि तलमाथि गर्न हुदैन । बिवाद नीतिमा होईन केही साथीको नियतमा देखिएको हो नियतलाई बिधिले डाहोर्याउन सकिदैन । पार्टीले आफ्नो गति लिन्छ ।”
१५औँ महाधिवेशनका लागि सदस्यता नवीकरण गरेका तर अध्यावधिक गर्न छुटेका सदस्यहरु महाधिवेशनमा सहभागी हुन सक्ने निर्णय भदौ २१ बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको थियो । बैठकले पार्टी अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका तथा निधन भएका व्यक्तिबाहेक नवीकरण गरेका सबैलाई १५औँ महाधिवेशनमा सहभागी हुन मिल्ने निर्णय गरेको थियो ।









