३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सङ्कटापन्न घडियालको प्राकृतिक बासस्थानमा जोगाउनै मुस्किल

सङ्कटापन्न घडियालको प्राकृतिक बासस्थानमा जोगाउनै मुस्किल
अ+ अ-

नारायणगढ । गत पुस ३ गते चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सौराहा सेक्टर, रत्ननगर नगरपालिका–८ स्थित चित्रसारी पुल नजिक बूढीराप्ती खोलामा तियारी जालमा बेरिएको अवस्थामा अन्दाजी १० वर्षको अतिसङ्कटापन्न घडियाल गोहीलाई निकुञ्जको संरक्षण टोलीले सफलतापूर्वक उद्धार गरेको छ ।

नदीजन्य पारिस्थितिक प्रणालीको महत्त्वपूर्ण सूचक प्रजातिका रूपमा रहेको अतिसङ्कटापन्न घडियाल गोहीलाई असर पुग्नेगरी तियारी जाल प्रयोग गरी माछा मार्ने कार्य प्रचलित कानुनबमोजिम दण्डनीय अपराध भएता पनि बेलाबेला यस्ता घटना दोहोरिरहन्छन् । कतिपय अवस्थामा थाहा पाएर उद्धार हुने गरे पनि धेरै अवस्थामा सङ्कटापन्न घडियाल अकालमै ज्यान गुमाउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जले घडियाल संरक्षणका लागि बेलाबेला अनुरोध गर्दै सचेतना फैलाउँदै आएको छ ।

नदीमा अनियन्त्रित रूपमा माछा मार्ने, बालुवा र गिट्टी उत्खनन, फोहर फाल्ने तथा अन्य प्रदूषणयुक्त गतिविधिले घडियालको प्राकृतिक बासस्थानमा थप चुनौती सृजना गरेको छ । शान्त स्वभावको यो सरिसृप प्राणीको मुख्य आहार माछा हो । हाल विशेषगरी चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका राप्ती नदी र नारायणी नदी घडियालका प्रमुख प्राकृतिक बासस्थान हुन् । घडियाल गोही महाकाली, बबई, कर्णाली, कालीगण्डकी, सप्तकोशीलगायत नदीमा पाइन्छन् । तर पछिल्लो समय अन्य नदीमा घडियाल लोप हुँदै गएको छ । हाल राप्ती र नारायणी नदी किनारमा मात्र यसको बढी प्राकृतिक बासस्थान भेटिने गरेको छ । यहाँ बर्खामा बाढी आउँदा घडियाल बगेर भारततर्फ पुग्ने गर्दछ । बाँध तथा नदीको बहाव परिवर्तनका कारण पुनः फर्कने सम्भावना कम हुनुका साथै नदीमा हुने प्राकृतिक वातावरणीय परिवर्तनले पनि यसलाई असर पारेको छ ।

घडियाललाई घाम ताप्न आवश्यक पर्छ भने अण्डा पार्न नदीको समथर भाग आवश्यक हुन्छ । किनार नजिक खोलाको छेउतिर बालुवाको ढिस्को वा झाडी भएको स्थानमा यसले अण्डा पार्ने गर्दछ । यसको अण्डा कुखुराको अण्डाभन्दा ठूलो हुन्छ । प्रजननका क्रममा न्यून मात्रामा भाले जन्मने गर्छन् । फागुन–चैततिर पारेका अण्डा बालुवामुनि लुकाएको स्थानबाट मानिसहरूले झिकेर लाने तथा मासु र छालाका लागि गोही मार्नेजस्ता घटनाले घडियाल थप जोखिममा परेको बताइन्छ । घडियालका प्रमुख दुश्मन प्रदूषण र चोरीसिकार रहेको अधिकारीहरूको भनाइ छ । तापक्रमका आधारमा भाले–पोथी निर्धारण हुने भएकाले कम मात्रामा भाले जन्मने गर्दछ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरले यस वर्ष मङ्सिरमा राप्ती र नारायणी नदीमा गरिएको अवलोकनका क्रममा नौवटा भाले घडियाल भेटिएको बताउनुभयो । अवलोकनका क्रममा अघिल्ला वर्षको तुलनामा बढी भाले भेटिनुले संरक्षणमा केही सफलता मिलेको उहाँको भनाइ छ ।

घडियाल तुलनात्मक रूपमा शान्त रहने र नदी तथा किनार छाडेर धेरै टाढा नजाने स्वभावको हुन्छ । घडियाल संरक्षण गर्ने उद्देश्यले सन् १९७८ देखि चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल गोही प्रजनन केन्द्र सञ्चालनमा छ । केन्द्रमा घडियालको संरक्षण तथा प्रजनन गर्दै आइएको छ । केन्द्रमा जन्मिएर हुर्काइएका घडियाललाई हरेक वर्ष प्राकृतिक बासस्थानमा छाड्ने गरिएको छ ।

पाँच वर्षसम्म संरक्षण केन्द्रमा राखी आफैँ आहार खोज्न र खान सक्ने अवस्थामा पुगेपछि घडियाललाई नदीमा छाड्ने गरिन्छ । प्राकृतिक बासस्थानबाट अण्डा सङ्कलन गरी केन्द्रमा ह्याचिङ गरिएका तीनदेखि पाँच वर्ष उमेर समूहका करिब १।५ मिटर लम्बाइ पुगेका घडियाल प्राकृतिक बासस्थानमा छोड्न योग्य हुने थापा बताउनुहुन्छ ।

विशेषगरी चैत–वैशाखमा नदी किनारमा घडियालले पारेका अण्डा सङ्कलन गरी प्रजनन गराउने गरिएको चितवन निकुञ्जको कसरामा रहेको घडियाल गोही प्रजनन केन्द्रकी प्रमुख सुजिता श्रेष्ठ बताउनुहुन्छ । नदी किनारका प्रायः पहरिला र घाम लाग्ने स्थानको बालुवा खोस्रेर एकपटकमा १५ देखि ६० वटासम्म अण्डा पार्ने र ती अण्डा सङ्कलन गरी केन्द्रको कृत्रिम ह्याचरीमा बच्चा उत्पादन गर्ने गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बेलाबेला यहाँ हुर्काएका घडियाल नदीमा छाड्ने गरेका छौँ । सोमबार कसरास्थित राप्ती नदीमा २० वटा घडियाल छाडियो । यो आर्थिक वर्षमा मात्र ५२ वटा घडियाल प्राकृतिक बासस्थानमा छोडिसकिएको छ ।”

कुन तापक्रममा ह्याच गरियो भन्ने आधारमा घडियालको लिङ्ग निर्धारण हुने उहाँको भनाइ छ । उहाँका अनुसार ३०–३२ डिग्री सेल्सियस तापक्रममा ह्याच गरिएका अण्डाबाट भाले घडियाल र कम तापक्रममा ह्याच गरिएका अण्डाबाट पोथी घडियाल जन्मिने गर्छन् । प्रजनन केन्द्रमा विभिन्न उमेर समूहका बच्चा घडियाललाई छुट्टाछुट्टै राख्ने गरिएको छ । केन्द्रमा बच्चा हुर्काउन सजिलो नहुने र बाँच्नेको सङ्ख्या कम हुने उहाँले बताउनुभयो ।

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल सन् १९८१ देखि देशका विभिन्न नदीमा छाड्न थालिएको हो । निकुञ्जले प्राकृतिक वातावरण अनुकूल भएकाले बढी राप्ती र नारायणी नदीमा घडियाल छाड्दै आएको छ । साथै केन्द्रमा हुर्किएका घडियाल सप्तकोसी, बबई, कर्णाली र कालीगण्डकी नदीमा समेत छाडिएको छ । तर अवलोकनका क्रममा राप्ती र नारायणी नदी बढी उपयुक्त देखिएका छन् ।

प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडिएका घडियालमध्ये थोरैमात्र जीवित रहने गरेको पाइएको छ । नदीमा छाडिएका कतिपय घडियाल हराउने, केही बाढीले बगाएर भारततर्फ पुग्ने तथा केही विभिन्न कारणले मर्ने गरेका छन् । नदी प्रणालीमा रहेका घडियाल माछा मार्न प्रयोग हुने तियारी जालमा अल्झिएर मर्ने समस्या विकराल बन्दै गएको छ । निकुञ्ज र संरक्षणकर्मीले बर्सेनि जालमा बेरिएका घडियालको उद्धार गर्दै आएको श्रेष्ठले बताउनुभयो ।

यस वर्ष मङ्सिरमा गरिएको गोही गणना तथा अवलोकनका क्रममा राप्ती र नारायणी नदीमा जम्मा ३६६ वटा घडियाल भेटिएका छन् । तीमध्ये नौवटा भाले रहेका छन् । अघिल्ला वर्षको तुलनामा भाले घडियालको सङ्ख्या बढ्नु सकारात्मक सङ्केत भएको संरक्षण अधिकृत थापा बताउनुहुन्छ । थापाका अनुसार प्रजनन केन्द्रमा हुर्केका घडियाल हालसम्म देशका विभिन्न नदीमा गरी दुई हजार १४२ घडियाल छाडिएका छन् । गत आर्थिक वर्षमा विभिन्न नदीमा १३३ घडियाल छाडिएको थियो । नदीमा छाडिएका कतिपय घडियाल बाढीले बगाएर लैजाने भएकाले अपेक्षाकृत रूपमा सङ्ख्या बढ्न नसकेको उहाँको भनाइ छ ।

हाल प्रजनन केन्द्रमा ७१७ वटा घडियाल रहेका छन् । जसमध्ये ६५९ बच्चा, २८ अर्धबयस्क र ३० बयस्क छन् । केन्द्रमा हाल एउटा मात्र परिपक्व भाले घडियाल छ । गत वर्ष केन्द्रमा २३२ अण्डा सङ्कलन गरिएकामा २०२ अण्डा ह्याच भएका थिए । “अब भालेको सङ्ख्या बढाउने विषयमा छलफल भइरहेको छ । दिगो प्रजनन र सङ्ख्या वृद्धि आवश्यक छ”, थापाले भन्नुभयो । केन्द्रको वातावरण जङ्गली अवस्थासँग पूर्ण रूपमा मेल नखाँदा प्राकृतिकजस्तो गुणस्तरीय अण्डा उत्पादनमा समस्या देखिने गरेको छ ।

विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान र म्यान्मारलगायत देशमा समेत पाइने घडियाल हाल नेपाल र भारतमा मात्र सीमित भएका छन् । सन् १९४० को दशकमा विश्वमा करिब १० हजार रहेको घडियालको सङ्ख्या सन् १९७० सम्म आइपुग्दा दुई प्रतिशतमा झरेपछि संरक्षणमा चासो बढ्दै गएको हो । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण र माछा मार्ने गतिविधिका कारण घडियालको प्राकृतिक बासस्थान सङ्कटमा परेको छ । रासस