२८ श्रावण २०८३, बिहीबार
,
Latest
कोलोम्बिया भूकम्पः मृतकको संख्या २६५ पुग्यो, आर्थिक संकटकाल घोषणा गरिँदै रोल्पा बोटलबारा पहिरा अपडेट : १० जना बेपत्ता, खोजी जारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली ‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’ आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन सम्पादक किशोर श्रेष्ठको निवास र जनआस्थाको कार्यालयमा प्रहरीको छापा विद्युत् उत्पादनसँगै प्रसारण र वितरण पूर्वाधारको सन्तुलित विकास आवश्यक : मन्त्री श्रेष्ठ रोल्पामा पहिरोले घर / गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन… संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक



अ+ अ-

गुल्मी, २१ पुस : लाहुरेहरूको गाउँका रूपमा परिचित यहाँको सत्यवती गाउँपालिका–८ भार्सेमा प्रथम विश्वयुद्धका वीर गोर्खा सैनिक तथा भिक्टोरिया क्रस प्राप्त कर्नबहादुर रानाको सालिक स्थापना गरिएको छ ।

प्रथम विश्वयुद्धका क्रममा जर्मन सेनाविरुद्ध बहादुरी प्रदर्शन गरेवापत बेलायत सरकारले रानालाई सर्वोच्च सैनिक सम्मान भिक्टोरिया क्रस प्रदान गरेको थियो । लाहुरेहरूको इतिहास जीवित राख्ने उद्देश्यसहित निर्माण गरिएको भार्से ग्यालरी परिसरमा राानको सालिक स्थापना गरिएको हो ।

जिल्लाको कालीगण्डकी गाउँपालिका–७ फोक्सिङ निवासी कर्नबहादुर रानाको जन्म सन् १८९८ मा भएको थियो । उहाँले १९ वर्षको कलिलो उमेरमै सन् १९१९ मा बेलायतका राजा जर्ज पाँचौँबाट भिक्टोरिया क्रस प्राप्त गर्नुभएको थियो । रानाको सन् १९७३ मा ७४ वर्षको उमेरमा निधन भएको थियो ।

रानाको सालिक स्थापनाले दिवङ्गत तथा जीवित सम्पूर्ण लाहुरेहरूको सम्मान भएको सालिकका परिकल्पनाकार लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले बताउनुभयो । इतिहास संरक्षणका लागि व्यक्तिगत अग्रसरतामा सालिक स्थापना गरिएको भन्दै स्थानीयवासीले बुढाथोकीप्रति आभार प्रकट गरेका छन् ।

भार्से भूपू सङ्घको नेतृत्वमा करिब रु १६ लाख लागतमा सालिक निर्माण गरिएको हो । गुल्मेली मूर्तिकार यमबहादुर थापाले एक वर्षभन्दा बढी समय लगाएर रानाको सालिक निर्माण गर्नुभएको हो । नेपाल सरकारका तर्फबाट कुनै औपचारिक सम्मान नपाएकाले व्यक्तिगत लगानीमार्फत उक्त सालिक निर्माण गरिएको भार्से भूपूसङ्घका कोषाध्यक्ष नरबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण भार्सेमा भूपूगोर्खा ग्यालरी र भार्से ग्यालरी स्थापना गरिएको छ । ग्यालरीमा प्रथम विश्वयुद्ध लड्ने ८४ र दोस्रो विश्वयुद्ध लड्ने १७८ जनाको फोटो र सङ्क्षिप्त इतिहास सङ्कलन गरिएको छ । भूपूगोर्खा ग्यालरीमा हालसम्म पहिलो र दोस्रो विश्वयुद्ध लडेका ३४ जना दिवङ्गत व्यक्तिहरूको तस्बिर तथा विवरण राखिएको छ । ग्यालरीमा कम उमेरमा विश्वकै प्रतिष्ठित पदक भिक्टोरिया क्रस प्राप्त गर्ने कर्नबहादुर राना, भारतीय सेनामा नेपालबाट पहिलो कर्नेल श्रीप्रसाद बुढाथोकी तथा उहाँका पिता गिरीप्रसाद बुढाथोकीको तस्बिरसमेत राखिएको छ ।

भार्सेमा जन्मिए र हाल हङकङमा रहनुभएका लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीको नेतृत्वमा ग्यालरी स्थापना गरिएको हो । उहाँले ग्यालरी निर्माणका लागि अहिलेसम्म करिब रु ५७ लाखभन्दा बढी रकम व्यक्तिगत रुपमा लगानी गरिसक्नुभएको छ ।

ग्यालरीमा हाल भारतीय, बेलायती र नेपाली सेना, प्रहरी तथा राष्ट्रसेवक कर्मचारीहरूको चार सयभन्दा धेरै तस्बिरहरु राखिएको छ ।रासस