१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ

बुद्ध जन्मस्मारक शिलाः मौन साक्षीले बोलिरहेको इतिहास

बुद्ध जन्मस्मारक शिलाः मौन साक्षीले बोलिरहेको इतिहास
अ अ+ अ-

लुम्बिनी (मर्चवार), २० पुसः बुद्ध जन्मस्थल लुम्बिनीबारे धेरैलाई जानकारी छ, तर बुद्ध जन्मविन्दुबारे भने धेरैलाई जानकारी नहुनसक्छ ।

यसबारे सदियौँदेखि थरीथरीका चर्चा हुँदै आए पनि प्रमाणित तथ्य भने अन्यौलमै थियो । यही अन्यौलका बीच सन् १९९६ फेब्रुअरी ४ अर्थात् विसं २०५२ माघ २१ मा एउटा प्रमाण फेला प¥यो, जसले हजारौँ वर्षदेखिको अन्यौललाई चिरेको जानकारहरू बताउँछन् ।

सो दिन मायादेवी मन्दिरको गर्भमा भेटिएको एक ‘बलौटे ढुङ्गा’ लाई संसारसामु सार्वजनिक गरिएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सार्वजनिक गरिएको त्यस प्रमाणले बुद्ध जन्मस्थलबारे विश्वभर चलिरहेका सबै प्राज्ञिक बहस र चर्चामा ‘पूर्णविराम’ लगाएको थियो ।

लुम्बिनी विकास कोष पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीका अनुसार सन् १९९२ देखि १९९५ सम्म लुम्बिनी विकास कोष, नेपाल सरकार पुरातत्व विभाग र जापान बुद्धिस्ट फेडरेसनले संयुक्त रूपमा उत्खनन गर्दा मन्दिरको जगमा एउटा भग्नावशेष भेटिएको थियो ।

१५ तहका इँटाहरूको सुरक्षा घेरा (चेम्बर)भित्र त्यो प्राचीन ढुङ्गा विशेष रूपले सजाइएको अवस्थामा फेला परेको थियो । त्यही ढुङ्गालाई शाक्यमुनि बुद्धको जन्मस्थलबारे निर्विवाद ऐतिहासिक प्रमाणका रूपमा लिइएको छ ।

महाशाखा प्रमुख उप्रेतीले भन्नुभयो, “यो ढुङ्गा ठ्याक्कै त्यही स्थानमा भेटिएको थियो, जसको मुनि इसापूर्व छैटौँ शताब्दीको काठको प्राचीन मन्दिरको अवशेष भेटिएको थियो । यसले बुद्धको समयदेखि नै यो स्थानलाई ‘पवित्र’ मानी पूजा गरिँदै आएको तथ्यलाई वैज्ञानिक रूपमै प्रमाणित गरिदियो ।”

उहाँका अनुसार अशोकस्तम्भको शिलालेखमा उल्लिखित ‘सिलाविगडाभिच’ शब्दले पनि यसै ‘जन्मस्मारक शिला’ लाई सङ्केत गरेको छ ।

यहाँ ७० सेन्टिमिटर लम्बाइ र ४० सेन्टिमिटर चौडाइ भएको ‘जन्मस्मारक शिला’ पाइएको थियो । लुम्बिनी र बुद्ध धम्मका अध्येता भोला गुप्ताले त्यसबारेका इतिहाससँग जोडिएको किंवदन्तीबारे भन्नुभयो, “तत्कालीन लुम्बिनीका बासिन्दाले बुद्ध जन्मेको विन्दुमा राखेर त्यो ढुङ्गालाई पूजापाठ गर्दै आएका थिए । इसापूर्व २४९ मा सम्राट अशोकले सोही ढुङ्गालाई व्यवस्थित रूपमा स्थापना गरी आफूले समेत पूजापाठ गर्नुभएको इतिहास छ ।”

लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकरम खाँनले यो शिला एउटा ढुङ्गा मात्र नभई लुम्बिनीको अस्तित्वको आधारका रूपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “इसापूर्व छैटौँ शताब्दीमा मायादेवी मन्दिरभित्र बुद्धको जन्मस्थानमा स्थापित यो ऐतिहासिक बुद्ध जन्मस्मारक शिला नभेटिएको भए विश्वले अझै पनि बुद्धको जन्मविन्दु खोजिरहनुपर्ने अवस्था हुन्थ्यो । शिलाको अध्ययन र उत्खननले प्राचीन ग्रन्थहरूको व्याख्यालाई समेत बलियो आधार दिएको छ ।”

खाँनका अनुसार जन्मस्मारक शिला मुनिको माटो परीक्षण गर्दा त्यहाँ कुनै पनि मानवीय गतिविधिको अवशेष नभेटिएकाले सले प्राचीन ग्रन्थ ‘ललितविस्तर’ मा उल्लेख भएझैँ लुम्बिनी एक शान्त, स्वच्छ तथा रमणीय ‘वाटिका’ नै थियो भन्ने कुरालाई वैज्ञानिक रूपमा पुष्टि गरिदिएको छ ।

यसबारे लुम्बिनीको पुरातात्विक उत्खननमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यले चर्चा गर्नुभएको छ । उहाँले आफ्नो लेख ‘द मार्कर स्टोनः द एक्ज्याक्ट बर्थप्लेस अफ लर्ड बुद्ध’ र ‘सबैभन्दा पुरानो बौद्ध तीर्थस्थलः बुद्धको जन्मस्थल लुम्बिनीको उत्खनन (२०१३)’ मा ‘जन्मस्मारक शिला’ सम्राट अशोक लुम्बिनीको तीर्थाटनमा हुनुभन्दा अघिदेखि नै सोही स्थानमा रहेको दाबी गर्नुभएको छ ।

यस्तै, दुर्हम विश्वविद्यालयका प्राध्यापक राँबिन कनिङघमले इसापूर्व छैटौँ शताब्दीअघि नै त्यहाँ धार्मिक संरचना रहेको दाबी गर्दै यसलाई विश्वकै सबैभन्दा पुरानो बौद्ध स्मारकका रूपमा व्याख्या गर्नुभएको छ । उहाँले ‘द आर्किओलोजी अफ साउथ एसियाः फ्रम द इन्डुस टू अशोका’ लगायत शोधका क्रममा ‘मार्कर स्टोन’मुनि भेटिएका काष्ठ संरचनाका अवशेषहरू (पोस्ट–होल्स) अध्ययनका आधारमा त्यस्तो निष्कर्षमा पुगेको उल्लेख गर्नुभएको छ ।

प्राध्यापक कनिङघमका अनुसार उत्खननका क्रममा भेटिएका भग्नावशेषले सम्राट अशोक आउनुभन्दा धेरै पहिलेदेखि नै यो स्थान एउटा महत्वपूर्ण धार्मिक केन्द्र रहेको प्रमाणित गरेका छन् । चिनियाँ तीर्थयात्रीहरू फा–हियान (सन् ४०३) र ह्वेन साङ (सन् ६३६) ले पनि आफ्नो यात्रा संस्मरणमा बुद्ध जन्मस्थलको विशेष चिह्न ‘जन्मस्मारक शिला’ बारे उल्लेख गर्नुभएको छ ।

स्थानीय बासिन्दाका लागि यो शिला उहाँहरूको पुख्र्यौली विश्वासको एउटा जीवन्त दस्तावेजका रूपमा रहेको छ । मायादेवी मन्दिरका पुस्तैनी पुजारी स्व गङ्गाप्रसाद पाण्डेका छोरा एवं बौद्ध भिक्षु विवेकानन्दले भन्नुभयो, “हाम्रा पुर्खाहरूले यहाँ केही पवित्र चीज छ भन्नुहुन्थ्यो, उत्खननपति जब त्यो शिला देखियो, तब कति पुण्य भूमिमा रहेछौँ भन्ने महसुस भयो । यो शिला केवल अनुसन्धानको विषय नभई विश्वभरका बौद्धमार्गीहरूको आस्थाको जीवित दस्तावेज हो ।”

हाल शिलालाई मायादेवी मन्दिरभित्र विशेष ‘बुलेटप्रुफ’ सिसाको बाकसमा सुरक्षित राखिएको छ । मन्दिरभित्रको आद्र्रता तथा हानिकारक ग्यासले शिलालाई क्षति नपुगोस् भनेर चौबिसै घण्टा प्राविधिकहरूबाट निगरानी गर्ने व्यवस्था मिलाइएको छ । पुरातत्व विभागले पनि यसको सुरक्षा नेपालको मात्र नभई सम्पूर्ण मानव सभ्यता र विश्वसम्पदाको संरक्षणका लागि एउटा ठूलो जिम्मेवारीका रूपमा अथ्र्याउने गरेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले जन्मस्मारकमा रहेको शिला स्थानीयका लागि गौरवको सम्पदा रहेको बताउनुभयो  ।

उहाँले भन्नुभयो, “ऐतिहासिक रूपमा तत्कालीन लुम्बिनीवासीले बुद्ध जन्मविन्दुलाई सधैँका लागि पहिचान भइराखोस् भनेर नजिकैको तेलार नदीबाट बलौटे ढुङ्गा ल्याएर चिनोका रूपमा राखेको इतिहास छ । त्यसैलाई सम्राट अशोकले संरक्षण प्रदान गरेको भनिन्थ्यो, त्यो प्रमाणित भएको छ ।”

लुम्बिनी विकास कोषका उपाध्यक्ष एवं बौद्ध भिक्षु डा ल्हारक्याल लामाले बुद्ध जन्मस्मारक शिला बौद्धमार्गीहरूको ऐतिहासिक आस्थाको भौतिक प्रमाण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो मौन शिलाले विगत दुई हजार छ सय वर्षको इतिहासलाई बोल्ने मात्रै होइन, त्यसलाई सुरक्षित राखेर विश्वलाई शान्ति, सत्य र अहिंसाको मार्ग देखाइरहेको छ ।”रासस