सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा/मुद्दती बचत कार्यक्रम शुरुआत भएको छ । गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले सो कार्यक्रमको बीमा कागज हस्तान्तरण गर्दै शनिबार शुभारम्भ गरे ।
पहिलो दिन शिविरमा ७ वटा वडाका १०३ बालिकाको बीमा गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेशकुमार झाले जानकारी दिए । सो अवसरमा बालिकाको स्वास्थ्य जाँच समेत गरिएको थियो ।
ती मध्ये तीन बालिकामा कुपोषित देखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका दिपककुमार मण्डलले जानकारी दिए । बीमा कार्यक्रमले २०७५ साल माघ १ गतेदेखि हालसम्म जन्मेका बालिकालाई समेटेको जनाइएको छ । आज वडा नं. ४ कोइलाडीस्थित जिरिया हाटमा शिविर सञ्चालन गरिने छ ।