• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ?

कालापानी जाँदै उपप्रधानमन्त्री पोखरेल



दार्चुला । उपप्रधानमन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने हुनुभएको छ । दार्चुला उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको उद्घाटन कार्यक्रमपछि उहाँ कालापानी क्षेत्रको भ्रमणमा जान लाग्नु भएको हो ।

उहाँ नेपाली सेनाको हेलिकप्टरबाट दार्चुला पुग्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ दार्चुलाका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले जानकारी दिनुभयो । उपप्रधानमन्त्री पोखरेलको टोलीमा रक्षा मन्त्रालयका एक सहसचिव र नेपाली सेनाका उच्च अधिकारीको समेत सहभागी हुनेछन् ।

उहाँले दार्चुलास्थित नेपाली सेनाको व्यारेक पहिलोपटक निरीक्षण गरिन लागेको हो । नेपाली सेनाको उच्च अधिकारीले भने समयसमयमा व्यारेकको निरीक्षण गर्दै आएका छन् । काठमाडौँबाट आज बिहान उड्ने सेनाको हेलिकप्टर दिपायलस्थित नेपाली सेनाको पृतना हेडक्वाटर भएर दार्चुला आउनेछ ।

भ्रमणका लागि गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ । उपप्रधानमन्त्रीको टोलीमा १० जना सहभागी रहने जनाइएको छ ।

उपप्रधानमन्त्री भएपछि पहिलो पटक दार्चुला भ्रमण गर्न लागेका पोखरेलले यसअघि २०५३ सालमा दार्चुला भ्रमण गरेका थिए । तत्कालीन अवस्थामा नेकपा एमालेको केन्द्रीय सदस्यको भूमिकामा पोखरेल २०५३ मङ्सिर १७ गते दार्चुला पुग्नुभएको थियो ।

आज व्यारेक निरीक्षण र दार्चुला महोत्सवको उद्घाटन गरेपछि बेलुकी दार्चुलामै बस्ने कार्यक्रम छ । आज अपराह्न ४ बजे कार्यालय प्रमुखसँग उपप्रधानमन्त्री पोखरेलको छलफल कार्यक्रम हुने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो ।

यसैगरी उहाँले जिल्लास्थित कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने कार्यतालिका रहेको नेकपा दार्चुलाका अध्यक्ष गणेश खत्रीले जानकारी दिनुभयो । दार्चुला विकास सङ्गठनस्थित हलमा कार्यकर्ता भेटघाटका लागि समय मिलाइएको छ ।

त्यसपछि हेलिकप्टरमार्फत उपप्रधान तथा रक्षामन्त्री पोखरेल व्यास क्षेत्रको भ्रमण गर्ने कार्यक्रमसमेत छ । सैनिक अधिकारीसहित व्यास क्षेत्रमा भ्रमण गर्ने भएपछि सुरक्षा सतर्कता बढाइएको छ । पछिल्लो समय भारतले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्शामा समावेश गरेपछि त्यसको विरोध भएको थियो भने सरकारले पनि भूमि आफ्नो भएको दाबी गरेको थियो । दार्चुलादेखि कालापानीसम्म निर्माण हुने दार्चुला तिङ्कर सडक पछिल्लो समय नेपाली सेनालाई दिने गृहकार्य शुरु भएको छ । अहिले रक्षा मन्त्रालयको अधिकारीसहित भ्रमण गर्ने भएपछि यो सडक नेपाली सेनाले बनाउन सक्छ भन्ने आशा स्थानीयस्तरमा छ । महोत्सवको अवसर पारेर उहाँले नेपाली सेनाको व्यारेक र कालापानी क्षेत्रमा हेलिकप्टरमार्फत अवलोकन गर्ने भएका छन् ।

उहाँको जिल्लाको भ्रमणको क्रममा दार्चुला तिङ्कर सडकलाई नेपाली सेनामार्फत बनाउन पहल गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । उद्योग वाणिज्य सङ्घले चोथौँ पटक जिल्लामा महोत्सव गर्न लागेको हो ।