३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

झापाका चौहान दाजुभाइको डिजिटल उडान

झापाका चौहान दाजुभाइको डिजिटल उडान
अ+ अ-

भद्रपुर । गाउँका धेरै युवाजस्तै विदेश जाने सपना देखेर होइन, आफ्नै माटोमा बसेर प्रविधिसँग मित्रता गाँस्दै सफलता खोज्ने आँट गरे झापाका दुई दाजुभाइले । शिवसताक्षी नगरपालिका–२, सङ्गमचोकका प्रदीप चौहान र पवन चौहान आज “विदेश कहिले जाने ?” भन्ने प्रश्नको उत्तर आफ्नै युट्युब च्यानलमार्फत दिइरहेका छन् । मध्यम वर्गीय परिवारमा जन्मिएका यी दाजुभाइको पहिचान अहिले ‘विदेश नजाने तर विश्वभर चिनिने नेपाली क्रियटर’का रूपमा स्थापित भएको छ ।

सानो कोठामा, साधारण मोबाइलबाट सुरु भएको उनीहरूको यात्राले आज ‘सानो क्रियटर’ नामक युट्युब च्यानललाई विश्वकै चर्चित मिनिएचर कन्टेन्ट प्लेटफर्ममध्ये एक बनाएको छ । करिब दुई वर्षको अवधिमै झण्डै ४५ लाख सब्सक्राइबर, करोडौँ भ्युज र मासिक लाखौँ आम्दानी–यो सफलता आकस्मिक होइन, निरन्तर प्रयास, असफलताबाट सिकाइ र फरक सोचको परिणाम हो ।

मध्यम परिवारदेखि डिजिटल संसारसम्म

प्रदीप चौहान २९ वर्षको हुनुभयो । उहाँले कक्षा १२ सम्म अध्ययन गर्नुभएको छ । पढाइमा औसत भए पनि सानैदेखि केही नयाँ बनाउने, बिगार्ने र फेरि जोड्ने उहाँको बानी थियो । घरमा कुनै इलेक्ट्रोनिक सामान आइपुग्यो भने त्यसका पाटपुर्जा खोलेर हेर्ने, कसरी चल्छ भनेर बुझ्ने उहाँको स्वभाव नै थियो ।

कक्षा १२ सकेपछि परिवारसँग दुई बिघा जमिन भएकाले प्रदीपले कृषिलाई नै भविष्य ठानेर यसमै समपर्ण गर्ने सोच बनाउनुभयो । लेयर्स कुखुरापालनदेखि बङ्गुर व्यवसायसम्म उहाँले विभिन्न प्रयोग गर्नुभयो । सुरुआतमा आशा पलाए पनि गाउँमै धेरै मानिस एउटै व्यवसायमा लागेपछि उत्पादन बढ्यो, बजार खुम्चियो र लगानी डुब्न थाल्यो । करिब २५ लाख रुपैयाँको कृषि ऋण, घर–परिवारको जिम्मेवारी र असफलताले उहाँहरुलाई मानसिक रूपमा निकै कमजोर बनायो । “निराशा चरम सीमामा पुगेको थियो, तर हामीले हार मानेनौँ”, प्रदीप विगत सम्झिनुहुन्छ ।

असफल प्रयास र नयाँ सोचको जन्म

आजभन्दा झण्डै छ वर्ष पहिले कोभिड–१९ को समय । घरमै थुनिएको अवस्था, बाहिर कामको अवसर शून्यजस्तै । त्यही समयमा प्रदीपले युट्युबलाई एउटा सम्भावनाका रूपमा हेर्नुभयो । एउटा च्यानल खोलेर नयाँ ठाउँ, नयाँ परिवेशका भिडियो हाल्न थाल्नुभयो । तर खासै दर्शक आकर्षित हुन सकेनन् । त्यतिखेर उहाँहरूसँग न त महँगो क्यामेरा थियो, न त स्टुडियो । आइफोन ७ प्लस नै सबैथोक थियो । “भिडियो हाल्यौँ तर प्रतिक्रिया आएन । धेरैपटक मन खिन्न भइयो,” प्रदीप भन्नुहुन्छ ।

तर यही असफलताले उहाँलाई सिकायो–युट्युबमा सफल हुन जे मन लाग्यो त्यही हाल्ने होइन, ‘दर्शकले के खोजिरहेका छन्’ बुझ्नुपर्छ । त्यसपछि उहाँले युट्युब एल्गोरिदम, ट्रेन्डिङ भिडियो, विभिन्न सामाजिक सञ्जालका कन्टेन्टहरू गहिरो अध्ययन गर्न थाल्नुभयो । कुन भिडियो धेरै हेरिन्छ रु किन हेरिन्छ रु दर्शकको ध्यान कहाँ टिक्छ रु यही अनुसन्धानले एउटा नयाँ विचार जन्मायो–सानो, सरल तर सबैलाई चासो लाग्ने कन्टेन्ट निर्माण गर्नुपर्छ ।

‘सानो क्रियटर’: सानो सोच, ठूलो प्रभाव

सन् २०२३ को सुरुआत । प्रदीप र पवनले ‘सानो क्रियटर’ नामक युट्युब च्यानल खोल्नुभयो । यो च्यानलको अवधारणा थियो–दैनिक जीवनका ठूला कामहरू सानो आकारमा देखाउने । प्रदीपलाई साना गाडी र संरचना बनाउने रुचि थियो । पवनलाई भिडियो खिच्ने र एडिट गर्ने । दाजुभाइको यही फरक–फरक सीप एउटै उद्देश्यमा जोडियो ।

चप्पलका चक्का काटेर बनाइएका साना ट्रक, ट्याक्टर, घर निर्माणका सामग्री, साना गाडीले माटो बोकेको दृश्य–यी सबै साधारण सामग्रीबाट बनाइएका थिए । तर त्यसमा कल्पना, मेहनत र धैर्य मिसिएको थियो । भाग्यवश, च्यानलको पहिलो भिडियोदेखि नै दर्शकको ध्यान तान्न सफल भयो । भिडियोहरू भाइरल हुन थाले । एकपछि अर्को भिडियो लाखौँ पटक हेरिन थाल्यो ।

‘सानो क्रियटर’ मा देखिने साना ट्रक, खेत खन्ने मेसिन, घर बनाउने सामग्री–यी सबै दाजुभाइले आफैँ बनाउने गर्नुहुन्छ । बाहिरको ठूलो क्षेत्र होइन, आफ्नै स्टुडियोभित्र सानो संसार तयार हुन्छ । गाडीले सामान बोकेको, फिल्ड खनेको, घर निर्माण गरेको दृश्य यथार्थजस्तै देखिन्छ । यही यथार्थपरक ‘मिनिएचर’ संसारले दर्शकलाई बाँधेको छ । प्रदीपको यो कामलाई भाई पवनले पनि पूरै साथ दिनुभएको छ । “दुबै जना नभए भिडियो बनाउन असम्भव हुन्छ,” प्रदीप भन्नुहुन्छ । एक जनाले संरचना बनाउँछ, अर्कोले त्यसलाई जीवन दिन्छ–क्यामेराबाट ।

विश्वभर फैलिएका दर्शक

आज ‘सानो क्रियटर’का दर्शक नेपालमा मात्र सीमित छैनन् । करिब ६० प्रतिशत दर्शक भारतका छन् । नेपाली दर्शक भने करिब दुई प्रतिशत मात्रै । भारत, नेपालबाहेक पाकिस्तान, बङ्गलादेश, थाइल्याण्ड, श्रीलङ्कालगायतका देशमा पनि उहाँहरुको भिडियो अत्यन्त रुचाइन्छ । भाषाभन्दा पनि दृश्यमा आधारित कन्टेन्ट भएकाले विश्वभरका दर्शकले सजिलै बुझ्छन् ।

यही अन्तरराष्ट्रिय दर्शक नै उहाँहरुको आम्दानीको मुख्य आधार बनेको छ । प्रदीपका अनुसारजस्तो पायो त्यस्तै भिडियो निरन्तर हाल्नुभन्दा केही समयको अन्तर राखेर भिडियो अपलोड गर्नु राम्रो हुन्छ । भिडियो बनाउन धेरै मेहनत लाग्छ, त्यसैले उहाँहरुले महिनामा करिब १० देखि १२ वटा भिडियो मात्र ‘अपलोड’ गर्नुहुन्छ ।

‘भ्युज’ होइन, विज्ञापनको खेल

प्रदीपका अनुसार युट्युबको आम्दानी भ्युजसँग मात्र जोडिएको हुँदैन । भिडियो सुरु हुँदा आउने विज्ञापन नै आम्दानीको मुख्य स्रोत हो । “डिजिटल साक्षरता बढी भएको देशमा बज्ने विज्ञापनको दर नेपालभन्दा धेरै हुन्छ”, उहाँ भन्नुहुन्छ । त्यसैले नेपालभन्दा बाहिरबाट धेरै ‘भ्युज’ आए आम्दानी पनि बढी हुन्छ । कुनै भिडियो धेरै हेरियो भने विज्ञापन पनि बढी आउँछ । यही कारणले एउटै भिडियोले छ करोड २० लाख ‘भ्युज’ पाउँदा एक महिनामा करिब २९ हजार अमेरिकी डलरसम्म आम्दानी भएको अनुभव प्रदीप साझा गर्नुहुन्छ ।

प्रदीपका अनुसार, दुई वर्षअघि अपलोड गरिएको भिडियो अहिले पनि धेरै हेरिने भएकाले उक्त भिडियोबाट अहिले पनि आम्दानी भइरहेको हुन्छ । हालसम्म युट्युबमार्फत उहाँहरुले मासिक करिब सात लाखदेखि अधिकतम् ४१ लाख नेपाली रुपैयाँसम्म आम्दानी गर्नुभएको छ ।

ऋणको भारीदेखि करोडपति जीवनसम्म

दुई वर्षअघि उहाँहरुसँग काठको टाँडे घर थियो । कृषि ऋणको भारले भविष्य अन्धकार देखिन्थ्यो । आज भने युट्युबकै कमाइले करोडौँ लगानीमा घर निर्माण भएको छ । चारपाङ्ग्रे विद्युतीय गाडीसमेत खरिद गर्नुभएको छ तर उहाँहरुका लागि सबैभन्दा ठूलो उपलब्धि पैसा होइन । “सबैभन्दा ठूलो कुरा आत्मविश्वास हो”, प्रदीप भन्नुहुन्छ । असफलताबाट उठेर आफूले केही गर्न सक्छु भन्ने विश्वास नै उहाँहरूको साँचो पुँजी बनेको छ ।

प्रदीप चौहान अरूको नक्कलभन्दा फरक बाटो रोज्न युवालाई स्पष्ट सन्देश दिनुहुन्छ । उहाँका अनुसार सफलता कुनै तय ढाँचामा बन्द हुँदैन । “अरूले के ग¥यो भनेर त्यही दोहो¥याउनु सजिलो हुन्छ, तर दिगो सफलता आफ्नै सोच र सीपबाट मात्रै आउँछ”, उहाँ भन्नुहुन्छ । आफूसँग जे छ, जति छ, त्यसलाई फरक तरिकाले प्रस्तुत गर्नसके त्यो नै ठूलो अवसर बन्न सक्ने प्रदिपको अनुभव छ ।

आज प्रविधि गाउँ–गाउँसम्म पुगेको छ । महँगो उपकरण, ठूलो स्टुडियो वा ठूलो लगानी नभए पनि सिर्जनात्मक सोच र निरन्तर अभ्यासले सामाजिक सञ्जाललाई आम्दानीको बलियो माध्यम बनाउन सकिने प्रदीपको विश्वास छ । “प्रविधि आफैँमा ठूलो शक्ति हो, प्रश्न यसलाई कसरी प्रयोग गर्ने भन्ने हो”, उहाँ थप्नुहुन्छ ।
विदेश जाने लाइनमा नलागेर आफ्नै गाउँबाट विश्व बजारमा पुगेका चौहान दाजुभाइको यात्रा केवल युट्युब सफलताको कथा मात्र होइन । यो कथा हो–असफलताबाट भाग्ने होइन, त्यसलाई पाठ बनाउने साहसको । यो कथा हो–भीडभन्दा फरक हिँड्ने हिम्मतको र निरन्तर मेहनतको । ‘सानो क्रियटर’ले प्रमाणित गरिदिएको छ–सपना ठूलो हुनैपर्छ भन्ने छैन, सोच फरक भए पुग्छ । सानो प्रयास, सही दिशा र आत्मविश्वास भए गाउँबाटै विश्व जित्न सकिन्छ ।रासस