१९ माघ २०८१, शनिबार
,
Latest
हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने महाकुम्भ मेलामा ७७ देशका ११८ सदस्यीय प्रतिनिधि भ्रमण गर्दै बचतकर्ताको रकमको सुरक्षित हुनुपर्नेमा सभापति देउवाको जोड ठमेलमा लागेको आगलागीबाट ६५ लाखको क्षति स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपाल थाइल्याण्डसँग चार विकेटले पराजित टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो मान्छे कहाँ पर्यो भनेर निगरानी गरेर नहिड्नुहोस् : मन्त्री बाँस्कोटा



अ+ अ-

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षकलाई सरुवा–बढुवामा ‘घरपायक’ बनाउन नेता तथा जनप्रतिनिधि नगुहार्न आग्रह गर्नुभएको छ । उहाँले आज बनेपा नगरपालिका–३ सुमारास्थित प्रभात आधारभूत विद्यालयको ३८औँ वार्षिकोत्सव तथा नवनिर्मित दुईतले छकोठे भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षक सुरुवा–बढुवामा नेता तथा जनप्रतिनिधि र आफूलाईसमेत नगुहार्न आग्रह गर्नुभएको हो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “अब शिक्षकको समायोजनको बेला आएको छ, आफू र आफ्ना मान्छे शिक्षक भए सरुवा–बढुवामा कसैलाई भेटेर हैरान पार्ने हैन, जहाँ विद्यार्थी त्यहाँ शिक्षक हुनुपर्छ ।” उहाँले आफ्नो मान्छे कहाँ पर्यो भनेर निगरानी गरेर नहिँड्न पनि शिक्षक युनियन, सङ्घ र सङ्गठनलाई सुझाव दिनुभयो ।

मन्त्री बाँस्कोटाले स्थानीय तहका जनप्रतिनिधिलाई शिक्षकको सरुवा–बढुवामा चासो नदिनसमेत आग्रह गर्नुभयो । “शिक्षकलाई सरकारले सुविधासहित पारिश्रमिक दिएपछि समायोजनका आधारमा अभावको स्थानमा जाने र विद्यालयमा शिक्षाको स्तर बढाई असल नागरिक जन्माउनुपर्छ, यो उहाँहरुको कर्तव्य पनि हो”, उहाँले भन्नुभयो । ‘घरपायक’ मात्रै भनेर सङ्घ–सङ्गठनको नाममा आन्दोलन गरेर ‘पुल्ठो झोस्न’ नहुने उहाँको तर्क थियो ।

मन्त्री बाँस्कोटाले दुर्गम जिल्लाका विद्यार्थीले कठिनाइपूर्वक अध्ययन गरिरहेको स्मरण गर्दै सङ्घ–सङ्गठन मिलेर शिक्षकलाई शहरकेन्द्रित नबनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अन्यभन्दा शिक्षण सुखी पेशा हो, अविभावकको विश्वास जित्नेगरी राम्रो, ज्ञानी, असल र मेहनती जनशक्ति उत्पादन गर्नुपर्छ ।” नयाँ शिक्षा नीति आउने तर्खरमा रहेको उल्लेख गर्दै विद्यालयलाई संसार चलाउने दिमागको सर्वश्रेष्ठ प्रयोगशाला बनाउनुपर्ने उहाँको धारणा थियो ।

उहाँले आजै बनेपा नपा–३ वडा कार्यालय भवनको शिलान्यास गर्दै निर्माण व्यवसायीलाई तोकिएको समयमा काम नभए पैतृक सम्पत्तिबाट असुलउपर हुने र समयसीमाअघि निर्माणसम्पन्न गरे १० प्रतिशत थप्ने कानून पास गरिसकिएको बताउनुभयो । उहाँले वर्तमान सरकारअघि ९७ हजार मात्रै घर पुनर्निर्माण भएकामा हाल चार लाख ८२ हजार आवास निर्माण भइसकेका बताउनुभयो । “सरकारको काम तीव्र गतिमा अघि बढिरहेको छ, प्रधानमन्त्रीको ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपनाका लागि अझै धेरै काम गर्न बाँकी छ”, उहाँले भन्नुभयो । उहाँले आज बनेपा–३ स्थित नन्दीमाता नदीमा नवनिर्मित पुलको समेत उद्घाटन गर्नुभयो ।