काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय अपराध महाशाखाका तत्कालीन प्रहरी सहायक निरीक्षक उमेश के.सी. विरुद्ध ६० लाख विगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार, महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामुहिक जबरजस्ती करणी मुद्दामा उक्त मुद्दाका प्रतिवादीहरु पुर्पक्षको लागि कारागारमा रहेको अवस्थामा बकपत्रको समयमा पीडितसमेतको बयान मिलाई दिने प्रयोजनार्थ के.सी.ले सेवाग्राहीसँग घुस मागेको आयोगले जनाएको छ ।
आयोगले उक्त घुस रकम लिन राजी भै लिनसमेत आई उक्त घुस लिने उद्योग गरेको सप्रमाण पुष्टि भएको जनाएको छ । केसीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन अनुसारको कसुरको उद्योग गर्ने कसुर भएकोले बिगो रु. ६० लाख कायम गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।











