३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

परम्परागत मौलिक कुँडुले घरले फूलबारीको पर्यटन प्रवर्द्धनमा थप्यो आकर्षण

परम्परागत मौलिक कुँडुले घरले फूलबारीको पर्यटन प्रवर्द्धनमा थप्यो आकर्षण
अ+ अ-

तिलोत्तमा । नेपालको पहाडी क्षेत्रमा देखिने परम्परागत कुँडेले घर अब बुटवलको फूलबारीमा देख्न सकिन्छ । आर्कषक देखिने कुँडुले घर गोलाकार, माटोले लेपिएको र खरले छाएर बनाइन्छ ।

दुईतले यो घर परम्परागत शैली र सानो लगानीमा तयार गरिएको छ । यो घर अहिले बुटवलको रमणीय पर्यटकीय स्थल मणिमुकुन्द सेन उद्यान फुलबारीको माथिल्लो भागमा निमार्ण गरिएको छ । पहाडी क्षेत्रको परम्परागत संस्कृति झल्काउने गरी उद्यानको पश्चिम क्षेत्रमा कुँडुले घर निमार्ण गरिएको छ । यो घरले त्यहाँ पुग्ने सबैको ध्यान केन्द्रित गरेको छ । कुँडुले घर छ नै यस्तै ।

बुटवलको फूलबारी घुम्न आउनुभएकी पोखराकी सृजना सुनारले बुटवलमा बनेको कुँडुले घरले मोहित बनाएको बताउनुभयो । सुनारले कुँडुले घर हेर्दा निकै आकर्षक रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पुर्खाले जीवन बिताएको यस किसिमको घरले सबैलाई मोहनी लाउने रहेछ ।”

यस्तै बुटवलका सुवास सुनार पनि कुँडुले घरमा भेटिनुभयो । केही दिन अघि मात्रै उद्घाटन भएको यो घर निकै सुन्दर रहेको सुवासले बताउनुभयो । “भर्खरै बनेको यो घर वरिपरि भौतिक संरचना बन्न बाँकी नै रहेछ, सबै बनिसकेपछि त झन सुन्दर हुन्छ होला”, सुवासको भनाइ छ ।

बाहिरबाट हेर्दा पनि चिटिक्क गोलाकार कुँडुले घर, घरको भित्रपट्टी पहाडी क्षेत्रमा प्रयोग गरिने परम्परागत सामग्री राखिएको छ । विशेषगरी जाडोयाममा न्यानो र गर्मीमा शीतल हुने कुँडुले घरमा बाँसबाट बनेको डोको, परालबाट बनेको चकटी, सुपो, डालो, पानी परेको समयमा खेतबारीमा काम गर्दा ओढ्ने स्याकु, गुन्द्री, मकै भुट्न प्रयोग गरिने माटाको भाँडो हाँडी–भुटुनो, जाँतो, लालटिन, खेतबारी जोत्ने क्रममा गोरुले अन्य बाली नखाओस् भनी गोरुको मुखमा लगाइने मकरा, माछा मार्ने क्रममा प्रयोग गरिने बाँसबाट बनाइएको सामग्री, परम्परागत, चुल्होलगायताका घरायसी प्रयोगका सामग्री राखिएका छन् भने कुँडुले घरको बाहिरपट्टि ढिकी राखिएको छ ।

उद्यानका प्रशासकीय अधिकृत अमितकुमार श्रेष्ठले विशेषगरी पहाडी क्षेत्रमा हुने यस्ता घर पछिल्लो पिँढीले महसुस गर्न नपाएको र पुर्खाहरुले प्रयोग गर्ने सामग्रीका बारेमा जानकारी र ज्ञानका लागि यो निर्माण गरिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पाल्पाबाट काम गर्ने कामदार झिकाएरै यो घर निर्माण गरेका हौँ, कुँडुले घर भर्खरै निर्माण भएको छ, यसको प्रचारप्रसार व्यापक बनाउनु छ, आगामी दिनमा परम्परागत खानाका परिकारसमेत पस्कने योजना छ, हेरौँ कतिसम्म सफल भइन्छ ।”

कुँडुले घरमा आगामी दिनमा आटो, फापर, भुटेको मकै, ढिँडो, भटमासजस्ता परम्परागत खाना पनि व्यवस्थित तरिकाले राखिने उद्यानका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालले जानकारी दिनुभयो । फूलबारीमा सौन्दर्यीकरणको कामलाई दीर्घकालीन योजनासहित अघि बढाएको उहाँले बताउनुभयो ।

फूलबारी सेन वंशीय राजाहरुले राज्य गरेको दरबारलाई स्वरुप दिने गरी पुरातत्व विभागसँग समन्वय अघि बढाइएको फूलबारीका अध्यक्ष माधव नेपालले जानकारी दिनुभयो । यसैगरि उत्तर पश्चिममा रिचार्ज पोखरीसँगै स्वीमिङ पूल निर्माण गरी गर्मीको मौसममा पर्यटकका लागि रमणीयस्थल बनाउन थालिएको नेपालको भनाइ छ ।

यस्तै फूलबारीमा पाकापुस्तालाई लक्षित गरि सञ्चोबिसञ्चो केन्द्र निर्माण हुन थालेको अध्यक्ष नेपालले जानकारी दिनुभयो । घरमा समय बिताउन कठिनाइ भएका वृद्धवृद्धालाई लक्षित गरी भुलाउने स्थलका रुपमा भजन किर्तन र एकापसमा संवाद गराउने थलो बनाउन लागिएको छ । नेपालले सबै उमेर र समूहको लागि रमणीय थलो बनाउने योजना रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हालको लागि कुँडुले घर मात्र निर्माण भएको छ, यसलाई थप आकर्षक बनाउन बाँकी नै छ ।”

उद्यानका अध्यक्ष नेपालले कुँडुले घरलाई थप आकर्षण प्रदान गर्न रुखमा लज, रेष्टुरेण्ट, पार्क हस्पिटालिटी (पार्कभित्रको आतिथ्यताका बारेमा जानकारीको अवधारणा), रिचार्ड पोखरीजस्ता भौतिक कार्य गरिने जानकारी दिनुभयो । कुँडुले घरको छेउमै सेल्फी जोन निर्माणको चरणमा रहेको छ । पछिल्लो समयमा मानिसहरुको इच्छा र चाहनालाई मध्यनजर गर्दै सेल्फी जोनको निर्माण गर्न लागिएको हो ।

यी सबै कार्य अबको एक वर्षभित्र निर्माण सम्पन्न हुने जनाइएको छ । गत वर्ष फागुन १७ गते बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले विधिवत पूजा गरी कुँडुले घरको शिलान्यास गर्दै जितगढी, फूलबारी र नुवाकोटलाई एकीकृत विकासको योजना बनाएर अघि बढाएको बताउनुभएको थियो ।

उपमहानगरपालिकाबाट रु १४ लाख बजेट विनियोजन भई उद्यानबाट थप गरि रु १९ लाख लागतमा पहिले एउटा घर निर्माण गरिएको छ । कुँडुले घर गत मङ्सिर २८ गते निर्माण सम्पन्न भई नगरप्रमुख पाण्डेको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो । नगरप्रमुख पाण्डेले यो कुँडुले घर फूलबारीमा पर्यटकलाई आकर्षण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

फूलबारीमा बिदाको दिनबाहेक दुई हजार ५०० देखि तीन हजारसम्म मानिहरु घुम्नका लागि पुग्ने गर्छन् भने बिदाको दिनमा यो सङ्ख्या बढेर पाँच हजार ५०० सम्म पुग्ने कार्यालयले जनाएको छ । फूलबारी प्रवेशका लागि नेपालीका लागि रु ६०, विद्यार्थीका लागि रु ४० र भारतीय नागरिकका लागि रु १०० तोकिएको छ । यो याममा दैनिक सरदर ५०० देखि ६०० को सङ्ख्यामा भारतीय नागरिक घुम्न र अवलोकनका लागि आउने गरेको कार्यालयले जनाएको छ । रासस