२२ असार २०८३, सोमबार
,
Latest
सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विकास निर्माणका काम समयमै सम्पन्न हुनुपर्छ’: मन्त्री कार्की



अ+ अ-

विराटनगर: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विकास निर्माणको काम समयमै सम्पन्न भएमा राष्ट्र र जनताको हित हुने बताउनुभएको छ ।

मोरङ–रानी–विराटनगरदेखि सुनसरीको तरहरासम्म निर्माण भइरहेको ६ लेनको बाटो आज निरीक्षण एवं अवलोकनको क्रममा आयोजनाका इञ्जीनियर र निर्माण कम्पनीलाई निर्देशन दिँदै निर्माणमा जति ढिलो हुन्छ त्यति नै राष्ट्रलाई घाटा र जनतालाई समस्या हुन्छ भन्नुभयो ।

निर्माणको क्रममा कुनै समस्या भएमा समाधान गर्ने उहाँले वचन दिनुभयो । बाटो निर्माणमा भइरहेको ढिलाइका कारण सडकमा दुर्घटना हुने र अकालमा मानिसले ज्यान गुमाउनुपरेको बताउँदै उहाँले निर्माण काम छिट्टै भएमा जनताले भोग्नुपर्ने सास्ती निदान हुनेछ भन्नुभयो ।

रानीबाट धरानसम्म ४९ किमी बाटो निर्माण गर्न रु ४२ अर्बमा ठेक्का भएर काम भइरहेकामा समग्रमा अहिले ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने सम्पन्न भएका काममा कुनै ठाउँमा समस्या देखिएमा स्वयं निर्माण कम्पनीले नै बनाउने काम पनि भइरहेको आयोजनाका इञ्जीनियर उपेन्द्र दासले बताउनुभयो ।

उहाँले केही ठाउँमा देखिएका समस्या समाधान गर्न पहल भइरहेको र कतिपय निर्माण कम्पनी उत्तदायी बोध नगर्ने भएकाले नै मोरङको बरगाछी चोकमा समस्या देखिएको जानकारी दिँदै बरगाछी क्षेत्रका निर्माण कम्पनीले कारबाहीस्वरुप रु दुई करोड ३० लाख जरिवाना तिरेको जानकारी दिनुभयो ।

अहिले बरगाछी चोकमा देखिएको सडकको समस्या समाधान गर्न कञ्चनजङ्गा टिएस गीताञ्जली कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि सम्पर्क आउन नचाहेको इञ्जीनियर दासले भन्नुभयो । यस्तै सुनसरीको दुहबी बजारको सडकलाई फराकिलो पार्न विसं २०५४ मा मन्त्रिपरिषद्ले दुई किमी बाटोलाई ‘बिल्ट अप एरिया’ घोषित गरेकाले मन्त्रिपरिषद्को बैठकबाटै सो निर्णय सच्याउनुपर्ने अन्यथा दुहबी बजारको बाटो फराकिलो पार्न समस्या भएको आयोजनाले जनाएको छ ।

साथै सुनसरी इटहरीको गोलचोकबाट दक्षिणतर्फका २७ घरधनीले मुद्दा चलाएका कारण त्यस क्षेत्रमा पनि काममा अवरोध आएको बताइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मोरङको रानीबाट सुनसरीको धरानसम्मको ६ लेनको बाटो यस क्षेत्रकै जनताको ठूलो सम्पत्ति भएकाले यसलाई समयमै सम्पन्न गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले बाटो निर्माण गर्दा केही ठाउँमा समस्या देखिए पनि त्यसलाई हरम्भव समाधान गर्न प्रयास गर्ने वचन दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले ६ लेनको बाटो जनताको समृद्धिसँग जोडिएकाले यो काममा ढिलाइ हुनु हुँदैन भन्नुभयो । उहाँले निर्माणका क्रममा देखिने समस्यालाई आफ्नो तहबाट समाधान नभएमा समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने पनि वचन दिनुभयो ।

मन्त्री कार्कीले मोरङका प्रमुख जिल्ला अधिकारी दाहाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी यादव, आन्तरिक मामिला तथा कानुन सचिव कालीप्रसाद पराजुली, मोरङ र सुनसरीका प्रहरी उपरीक्षक जनार्दन जिसी र सञ्जयसिंह थापा, निर्माण कम्पनीका प्रतिनिधि र आयोजनाका इञ्जीनियर दाससहितको टोलीका साथ मोरङको रानी विराटनगरबाट सुनसरीका तरहरासम्मको बाटोसहित निर्माण अवस्थाबारेमा जानकारी लिनुभयो ।

रानी भन्सार नजिकैको १८० मिटर बाटो निर्माण गर्न रु चार करोड लागतमा ठेक्का लिनुभएका कान्छाराम कन्सट्रक्शनका प्रमुख दीपक थिङले आगामी १० दिनमा काम सम्पन्न हुने र अहिले सडकमा रहेको बिजुलीको खम्बा व्यवस्थापनमा ढिलाइ भएकाले काममा केही अवरोध आएको प्रतिक्रिया दिनुभयो ।  ६ लेनको बाटो भारतबाट सडकको क्षमता भारभन्दा पनि बढी भार बोकेर आउने मालवाहक गाडीका कारण सडक भत्किने, धस्ने, टुट्ने समस्या देखिन थालेपछि जनताले विरोध जनाउँदा सरकारी उच्च अधिकारीहरूले चासोका साथ बाटो सुधारमा तदारुकता देखाएका छन् ।