९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण सुरु



अ+ अ-

काठमाडौं – ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक शुभारम्भ भएको छ। बिहीबार आयोजित समारोहमा वन तथा वातावरण मन्त्री माधव चौलागाईं, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेता तथा सद्भावना दूत प्रदीप खड्का, उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष तथा महोत्सवकी संरक्षक भवानी राणा तथा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियालगायतको उपस्थिति रहेको थियो।

नेपाली चलचित्रको प्रवर्द्धनसँगै चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले आयोजना हुँदै आएको यो महोत्सवले सहरदेखि गाउँसम्म चलचित्र र पर्यटनलाई जोड्ने लक्ष्य लिएको छ। कर्णालीजस्तो अपार सम्भावनायुक्त क्षेत्र भए पनि पर्यटन तथा चलचित्रसँग सम्बन्धित गतिविधि न्यून रहेको अवस्थामा, महोत्सवले त्यहाँका कथा, संस्कृति, जीवनशैली, भाषा, भेसभुसा र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने अभियान थालेको हो।

महोत्सवका निर्देशक चक्रबहादुर चन्दका अनुसार कर्णालीका लुकेका कथालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने उद्देश्यले ‘गन्तव्य कर्णाली’ अभियान अघि बढाइएको हो। “कर्णालीका कथालाई चलचित्रमा रूपान्तरण गर्न हामीले कथा आह्वान गरेका छौँ। उत्कृष्ट कथालाई आगामी वैशाखमा सम्मान गरिनेछ र सम्भव भए चलचित्र निर्माण पनि गरिनेछ,” उनले बताए। चलचित्रमार्फत पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्नु महोत्सवको अर्को महत्त्वपूर्ण उद्देश्य रहेको उनले स्पष्ट पारे।

कार्यक्रममा बोल्दै अभिनेता प्रदीप खड्काले कर्णालीलाई दयाको दृष्टिले होइन, गौरवको दृष्टिले हेर्नुपर्नेमा जोड दिए। “कर्णाली हाम्रो भाषा, साहित्य, कला र संस्कृतिको उद्गमस्थल हो। नेपाली चलचित्र ढिला सुरु भए पनि मौलिकतामा हामी पछि छैनौँ। यदि नेपाली चलचित्रलाई नयाँ उचाइमा लैजाने हो भने त्यसको केन्द्र कर्णाली हुन सक्छ,” उनले भने।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले यस्तो किसिमका कार्यक्रमले नीतिगत तहमा समेत सकारात्मक बहस सिर्जना गर्ने बताए। उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष तथा महोत्सवकी संरक्षक भवानी राणाले महोत्सवले कर्णालीलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने विश्वास व्यक्त गरिन्‌। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले फिल्म टुरिजमको प्रभाव प्रत्यक्ष रूपमा मापन गर्न नसकिए पनि चलचित्रमा देखाइएका दृश्यहरूले पर्यटकलाई स्वाभाविक रूपमा आकर्षित गर्ने बताए।

वन तथा वातावरण मन्त्री माधव चौलागाईंले कर्णालीको आत्मविश्वास बढाउने प्रमुख माध्यम नै चलचित्र भएको उल्लेख गर्दै भने, “कला यस्तो माध्यम हो जसले छोटो समयमा मानिसको सोच परिवर्तन गर्न सक्छ। मौलिक कथाका लागि कर्णाली उत्कृष्ट ‘हटस्पट’ हो।”

महोत्सव चार चरणमा सञ्चालन हुने आयोजकले जनाएको छ।

• तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (सुर्खेत) – २०८३ वैशाख ४

• गुराँस चलचित्र पर्यटन संवाद – २०८३ वैशाख ५

• कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड (काठमाडौं) – २०८३ वैशाख २६

• जुम्ला तातोपानी पर्यटन चलचित्र जलवायु समिट – २०८३ जेठ २७ (११ जुलाई २०२६)

कर्णालीका अनगिन्ती कथा, कला, संस्कृति र प्राकृतिक सौन्दर्यलाई विश्वसामु चिनाउने लक्ष्यसहित अघि बढेको यो महोत्सवले नेपाली चलचित्र र पर्यटन क्षेत्रलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।