१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै
अ अ+ अ-

काठमाडौँ, ११ पुस :  ‘हाम्रो साझा अभियान: ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ ।

ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागिएको हो ।

विसं २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष यो दिवस मनाइन्छ । यो दिवसले ज्येष्ठ नागरिकप्रतिको हाम्रो सामूहिक दायित्व, जिम्मेवारी, कर्तव्य, सम्मान र आदरभावलाई पुन: स्मरण गराउँछ । जीवनको लामो यात्रामा उहाँहरूले गरेका त्याग, सेवा र योगदान हाम्रो समाजको अमूल्य सम्पत्ति हो ।

नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ । स्वास्थ्य सेवा, सम्मानजनक जीवन र सहयोग प्राप्त गर्ने अधिकार संविधानले प्रत्याभूत गरेको छ, जसले उहाँहरूको गरिमामय जीवनलाई बलियो आधार प्रदान गर्दछ ।

नेपालमा २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई रु एक सय वृद्धभत्ता दिने घोषणा गर्नुभएको थियो । हाल ज्येष्ठ नागरिकले रु चार हजार वृद्धभत्ता पाउने गरेका छन् । करिब १७ लाख ज्येष्ठ नागरिकले वृद्धभत्ता लिँदै आएका छन् ।

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि प्रेरणाका पुञ्ज र समाज विकासका मार्गदर्शकका रूपमा रहेको बताउनुभएको छ ।

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनका लागि शुभकामना व्यक्त गर्दै उहाँले माया, ममता र करूणाका स्रोत रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण जरुरी रहेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकको मर्यादित जीवनयापनमा सहजीकरण गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

विसं २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै सरकारको निर्णयबमोजिम सोही दिनलाई आधार मानी राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो ।

यस वर्ष पनि ‘हाम्रो साझा अभियान : ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागिएको उहाँले स्मरण गर्नुभएको छ ।

‘‘ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानको कदर गर्दै उहाँहरूलाई घर, परिवार, टोल, समाज साथै राज्यबाट समेत उचित सम्मान र संरक्षण गर्न सकेमात्र यो दिवस सार्थक हुन सक्दछ भन्ने मलाई लाग्दछ”, राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवारका सदस्य, समाज, सङ्घसंस्था तथा तीनै तहका सरकारबीच सहकार्य गरी ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार र सहज जीवनयापनका लागि सामूहिक प्रयास गर्न सबैमा उहाँले आग्रह गर्नुभएको छ ।

सरकारले व्यवस्था गरेको सामाजिक सुरक्षा र संरक्षणका विभिन्न सेवा सुविधाको प्रभावकारितामा वृद्धि गर्दै दक्षतापूर्वक कार्यान्वयन गर्न सम्बद्ध सबैमा राष्ट्रपतिले आह्वान गर्नुभएको छ ।

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन्: उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताउनुभएको छ ।

उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिकको गरिमालाई अक्षुण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, सामाजिक सुरक्षा, सामुदायिक सहारा र मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभएको छ । “परिवारमा उहाँहरूको उपस्थितिलाई मूल स्तम्भका रूपमा सम्मान गर्नु हाम्रो संस्कृतिको आधार हो”, उपराष्ट्रपतिले भन्नुभएको छ ।

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उपराष्ट्रपतिले युवापुस्ताले ज्येष्ठ नागरिकलाई वृद्धमात्र नभई अनुभव, ज्ञान र मार्गदर्शनका स्रोतका रूपमा लिनुपर्ने स्पष्ट पार्नुभएको छ ।

ज्येष्ठ नागरिकको विचारलाई सम्मानपूर्वक ग्रहण गर्नु, सामाजिक गतिविधिमा सहभागिता सुनिश्चित गर्नु, डिजिटल साक्षरतादेखि स्वास्थ्य सेवासम्मको पहुँचमा साथ दिनु आजको आवश्यकता भएको उपराष्ट्रपतिको कथन छ । उहाँले यसैबाट पुस्ताबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

“हाम्रो पूर्वीय दर्शनले ज्येष्ठ नागरिकलाई ‘जीवनको दियो’ मानेको छ । आधुनिकताको नाममा उहाँहरूको उपेक्षा गर्नु पारिवारिक र सामाजिक मूल्यको पतन हो । संस्कृति र आधुनिकताको समन्वय गर्दै उहाँहरूको गरिमा पुन:स्थापित गर्नु हाम्रो साझा दायित्व बन्न सक्नुपर्दछ”, उपराष्ट्रपति यादवले सन्देशमा भन्नुभएको छ ।

उपराष्ट्रपतिले भन्न्ुभएको छ, “वृद्धावस्था जीवनको अन्त्य होइन, अनुभव र मार्गदर्शनको उत्कर्ष हो । ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, सुरक्षित र सुखद् बनाउन सबैमा हार्दिक अनुरोध गर्दै उहाँहरूको सुस्वास्थ्य र सुखमय जीवनको लागि हार्दिक मङ्गलमय कामना गर्दछु ।”रासस