सङ्खुवासभा। सङ्खुवासभाको चैनपुर नगरपालिका–९ मा द्वन्द्वकालमा आगजनीबाट नष्ट भएका साढे ३०० हेक्टर बढी जग्गाको लालपूर्जा हस्तान्तरण गरिएको छ ।
द्वन्द्वकालमा नापी, मालपोतसहितका सरकारी कार्यालय आगजनी हुँदा २३ वर्षदेखि जिल्लाका चार स्थानीय तहका सम्पूर्ण लालपूर्जा जलेर नष्ट भएका थिए । आगजनीबाट नष्ट भएका चैनपुर–९ को ३०० दशमलव ५२ हेक्टर जग्गाको कित्ताकाट सकिएको विशेष नापी कार्यालय चैनपुरका प्रमुख हरिशरण नेपालले जानकारी दिनुभयो । हालसम्म चैनपुरको वडा नं. ५, ७, ८, ९, १० र ११ मा नापनक्सा सम्पन्न भइसकेको छ ।
विसं २०५९ वैशाख १४ गते माओवादी द्वन्द्वका बेला चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा आगजनी र क्षति हुँदा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता श्रेस्ता (मोठ) लगायतका महत्वपूर्ण कागजात नष्ट भएका थिए ।
कागजात नभएकै कारण स्थानीयले लामो समयदेखि कानुनी झन्झट र सम्पत्ति प्रयोगमा समस्या झेल्दै आएका थिए । विसं २०७६ माघ १३ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार अभिलेख पुनःस्थापनाका लागि चैनपुरमा विशेष नापी कार्यालय स्थापना गरिएको थियो ।
हाल विशेष नापी कार्यालयले सङ्खुवासभाका चैनपुर, पाँचखपन, मादी र धर्मदेवी नगरपालिकामा नाप नक्सा तथा लालपूर्जा वितरण गरिरहेको छ ।
सीमित स्रोतधान र सीमित जनशक्तिका कारण चार स्थानीय तहको २४ हजार हेक्टर मध्ये हालसम्म सात हजार ५०० हेक्टरको नाप नक्सा गरेर जग्गा धनी दर्ता पूर्जा वितरण गरिसकेको विशेष नापी कार्यालयले जनाएको छ । रासस










