काठमाडौं । नेकपा एमालेको आज सम्पन्न ११ औँ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्षमा केपी ओली पुनः निर्वाचित भएका छन् । उनले एमालेको अध्यक्षमा ह्याट्रिक गरेका छन् । उनको जित त अपेक्षित नै थियो तर मिडियाले जेनजी आन्दोलनपछि एमालेको नेतृत्वमा उनको पुनरागमन नहुने अड्कलबाजीहरु गरिरहेका थिए । परिणाम त्यस्तो आएन, ओली अध्यक्षमा अत्यधिक बहुमतले निर्वाचित भए ।
तर मतदाताले एउटा सन्देश भने दिए कि ओलीका सहयोगी र अन्ध समर्थक ठिक छैनन् । विष्णु रिमाल हार्नु, यति सम्म हार्नु कि केन्द्रीय सदस्यमा पनि नआउनु पहिलो सन्देश हो भने महासचिवमा सुरेन्द्र पाण्डेले ल्याएको मत अर्काे सन्देश हो । रिमालसँग जत्तिकै महासचिव दोहोर्याएका शंकर पोखरलेसँग पनि कार्यकर्ता खुसी छैनन् भन्ने सन्देश पाण्डेले पाएको मतले स्पष्टसँगै दिएको छ ।
आजको ओलीको जित नयाँ ब्रेकिङ त होइन तर पनि जेनजी आन्दोलन र त्यसमा भएको जनधनको क्षतिमा जसरी जाँचबुझ आयोगले उनलाई तारो बनाउने सुर कसिरहेको छ, त्यसको पृष्ठभूमिको यो जित केही होइन भन्ने पनि होइन । किनभने देशको ठूलो राजनीतिक पार्टीबाट यसरी अनुमोदित अध्यक्षसँग बयानका नाममा हुन र गर्न सक्ने हर्कतलाई यो जितले औँला भने ठड्याएकै छ ।
आजको अर्काे समाचार हो रास्वपाका सभापति रवि लामिछानेको रिहाई । उनको रिहाई भने अनपेक्षित थियो, तर भयो । आज साँझको यो घटनालाई समाचारका रुपमा मात्र नलिएर राजनीतिक घटनाक्रमको विकाससँग जोडेर हेर्ने पनि धेरै छन् । उनीहरुको प्रश्न छ— अब के हुन्छ ?
जेनजी आन्दोलनपछि उम्रिएका नयाँ दलहरु त जनअनुमोदित हुन बाँकी नै छ, तर रास्वपाले ८४ को चुनावलाई मिसन नै बनाएको थियो । उसले पुराना दललाई ८४ मा देखाइदिन्छौँ भनी थालेको अभियान अगावै देशले चुनावको घोषणा गरिसकेकोले त्यो चुनाव र यी रविको रिहाइको अबको संयोग के होला ? त्यसलाई अबका केही दिनका दलका, सरकारका र खासगरी नवनिर्वाचित ओलीका गतिविधिले पनि नयाँ स्वरुपमा परिभाषित गर्न सक्ने अनुमान गर्न सकिन्छ ।
हिजोका दिनको भाष्य के थियो भने रविको कुनै गल्ती छैन, तर पुराना पार्टीहरुले ८४ को निर्वाचनमा रास्वपाको धम्की देखेर जेल हालेका हुन् । रवि जेलबाट मात्र निस्किएका हुन्, सफाइ पाएका होइनन् । तर पनि एक नभई तीन अदालतमा मुद्धा रहेका रवि चुनावका केही दिनमात्र अघि रिहा हुनुलाई केवल रिहाइमात्र बुझ्नु हुँदैन ।
आजैका दिन सार्वजनिक भएको अर्काे समाचार हो पूर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमण । उनी हिजो नै स्थलमार्ग भएर भारतको सिलीगुडी पुगेका छन् । समाचार स्रोतले भनेअनुसार उनको भारत भ्रमण र नेपालको राजनीतिक घटनाक्रमसँग कुनै सम्बन्ध त छैन, तर यतिखेरको उनको यो भ्रमण र करिब एक हप्ताको बसाईलाई केबल घुमघामका रुपमा मात्र पनि लिन सकिँदैन ।
उनले भारतीय गुप्तचर संस्था रअका प्रमुख मोहत भागवतसँग पनि भेटघाट गर्नेछन् । अनि यो भेटघाटमा हुने नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगको सम्बन्धलाई नकार्न सकिने अवस्था पनि छैन । पूर्वराजा ज्ञानेन्द्र निकट स्रोतले नै राजनीतिक कुराकानी या भेटवार्ता हुन सक्ने कुरालाई नकार्न नसकिने बताउँछ ।
आजका यी तीन घटनाक्रम केवल समाचारका विषयवस्तु मात्र नभएर राजनीतिक घटनाक्रमसँग पनि जोडेर हेर्नुपर्ने र हेर्न सकिने कुरालाई नकार्न सकिन्न ।









