काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनितिक दलहरु निर्वाचनको तयारीमा जुटिसकेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलहरु निर्वाचनमा होमिएको बताउनुभएको हो ।
राजनीतिक दलहरुले निर्वाचनको लागि उम्मेद्वार सिफारिस समेत गर्न थालिसकेको बताउनु भयो । उहाँले निर्वाचनको तयारी स्वरुप कतिपय राजनीतिक दलहरुले गाउँदेखि शहरसम्म अभियान चलाएको उल्लेख गर्नुभयो । निर्वाचन आयोगले पनि निर्वाचनको कामलाई द्रुत गतिमा अगाडी बढाएको उहाँले जानकारी दिनुभयो । फागुन २१ गते हुने निर्वाचनको लागि ८ लाख भन्दा बढी नयाँ मतदाताहरु थपिएकोले देशमा निर्वाचन महोत्सव बन्न लागेको दाबी पनि गर्नुभयो । निर्वाचनमा भोट हाल्न जनता पनि आतुर रहेको उहाँको भनाई छ । सरकारले सबैखालका स्रोत, साधान, जनशक्ति तयार गरेर निर्वाचनलाई सफल बनाउने वातावरणमा लागेको पनि उहाँले जानकारी दिनुभयो । मुलुक निर्वाचनमा अगाडी बढिसकेको उहाँको दाबी छ । उहाँले वर्तमान सरकार जेन–जी आन्दोलनको म्याण्डेटअनुसार नै चलेको बताउनु भयो । निर्वाचनको तयारी तिब्र गतिमा बढेको उल्लेख गर्नुुहुँदै उहाँले सुशासनका कार्यहरु पनि सरकारले अगाडी बढाएको बताउनु भयो । वर्तमान सरकार गठन भएको तीन महिनामा ३० भन्दा बढी भ्रष्टाचारका मुद्दाहरु अदालत पुगेको उहाँको भनाई छ । सरकारले राज्यका निकायहरुलाई स्वतन्त्र ढंगले काम गर्न दिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयोे, ‘यो सरकारले जेन–जी आन्दोलनपछि हामीले तीन वटा म्याण्डेट पाएका छौँ । भ्रष्टाचार नियन्त्रणका कामहरु अगाडी बढाउने, त्यसको लागी ऐतिहासिक रुपमा तीन महिनाको अवधीमा ३० वटा भन्दा बढी भ्रष्टाचारका मुद्दाहरु अहिले अदालत पुगेका छन् र कारबाही अगाडी बढेको छ । यसमा यो सरकारले बढाएको भन्न खोजेको होईन, विगतका दिनहरुमा जुन खालको प्रभाव र दबाबमा मुद्दाहरु अगाडी बढ्न नसक्ने अवस्था थियो, हामीले अहिले राज्यका निकायहरुलाई स्वतन्त्र रुपमा काम गर्नको लागी सरकारको तर्फबाट बनाउनुपर्ने वातावरण बनाएका छौँ । सरकार अन्र्तगनका निकायहरुलाई पनि हामीले त्यो स्वतन्त्रता दिएका छौँ र भ्रष्टाचार नियन्त्रणसम्बन्धि मुद्दाहरु अहिले मज्जाले अगाडी बढिरहेको छ । सुशासनका कामको सुरुवात हामीले गरेका छौँ । निर्वाचनको कुरा गर्दा फागुन २१ मा निर्वाचन हुँदैछ । निर्वाचन आयोग द्रुत गतिमा काम गरिरहेको छ । ८ लाख भन्दा बढी नयाँ मतदाताहरुले उत्साहपुर्वक रुपमा मतदाता नामावली दर्ता गरेका छन् । करिब करिब सवै राजनीतिक दलहरु चुनावमा होमिईसकेको देख्छौँ हामी । कतिपय राजनितिक दल महाधिवेशन गर्दै हुनुहुन्छ, गर्नेवाला हुुनुहुन्छ, गाउँदेखी शहरसम्म अभियान चलाउनुभएको छ । यहाँहरुलाई जानकारी गराउँ, उम्मेद्वारको नाम सिफारिस भइरहेको छ । समानुपातिकमा नाम सिफारिस भइरहेको छ । भनेपछि राजनितिक दलहरु चुनावमा होमिनु भइसकेको छ । सरकार सबैखालका स्रोत, साधान, जनशक्ति तयार गरेर चुनावलाई सफल बनाउने वातावरणमा सरकारले त्यो काम गरिरहेको छ । जनता भोट हाल्न आतुर छन् । निर्वाचन अव उत्सव होइन, महोत्सव बन्दैछ । मुलुक निर्वाचनमा अगाडी बढिसक्यो ।’
उहाँले निर्वाचनको वातावरण बनाउन र मतदाता शिक्षा प्रदान गर्नको लागि सहयोग गर्न सञ्चारमाध्यामहरुलाई पनि आग्रह गर्नुभयो । वर्तमान सरकारले निर्वाचन र सुशासनको कामसँगै अगाडी बढाएको उहाँको दाबी छ ।–









