१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण



अ+ अ-

लुम्बिनी। लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बौद्ध दर्शन तथा सो सम्बन्धित विषयहरू अध्ययनका लागि विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै गएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले लुम्बिनीमा बौद्ध दर्शन केन्द्रीत र बुटवल तथा देवदहमा प्रयोगिक बौद्धअन्तर्गतका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्नातक, स्नातकोत्तर तथा विद्यावारीधि तहमा विदेशी विद्यार्थी भर्ना भएका छन् ।

विश्वविद्यालयमा चीन, भारत, श्रीलङ्का, भुटान, म्यानमार, जापान, मलेसिया, ताइवानलगायत देशका विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । सबैभन्दा धेरै चीनका विद्यार्थी रहेका छन् । बुद्धिजम एण्ड नेपाल अध्ययन, बुद्धिजम एण्ड पीस, बुद्धिजम एण्ड हिमालयसहितका विषयमा विदेशी विद्यार्थीको आकर्षण देखिएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायका डीन डा माणिकरत्न शाक्यले विद्यावारीधिदेखि स्नातक तहसम्मै विदेशी विद्यार्थी भर्ना भएको बताउनुभयो । “हामी गुणस्तरीय शिक्षा प्रदानमा प्रतिबद्ध रहेका छौँ, यसैले पनि विदेशीमा विद्यार्थीले हाम्रो विश्वविद्यालयलाई विश्वास गरेका छन्”, उहाँले भन्नुभयो ।

विश्वविद्यालयमा हाल एक सय ५७ जना विदेशी विद्यार्थी अध्ययनरत रहेका छन् । नयाँ भइरहेको स्नातक र स्नातकोत्तर तहको भर्नामा पनि विदेशी विद्यार्थीले आवेदन दिएका छन् । विश्वविद्यालयमा कूल तीन हजार विद्यार्थी अध्ययन गर्दै आइरहेका छन् ।

लुम्बिनी बौद्धको सर्टिफिकेट चीनको सरकारद्वारा मान्यता

लुम्बिनी बौद्ध विश्वविद्यालयको सर्टिफिकेट चीनको शिक्षा मन्त्रालयले मान्यता दिने निर्णय गरेको छ । चीनको शिक्षा मन्त्रालय अन्तर्गतको स्कलर्स आदानप्रदान सेवा केन्द्रले विद्यार्थीले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट प्राप्त गरेको उपाधिलाई मान्यता दिने भन्दै सूचिकृत गरेको छ ।

स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सका निर्देशक डा कुमार खड्काले चीनमा विश्वविद्यालयको उपाधिले मान्यता पाउने निर्णयले विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै जाने बताउनुभयो । “चिनियाँ विद्यार्थी प्रमाणपत्रले मान्यता पाउँछ कि पाउँदैन भन्नेमा चिन्तित थिए, अब त्यो समस्या समाधान भएको छ”, उहाँले भन्नुभयो ।

विश्वविद्यालयले देवदहमा शैक्षिक गुरुयोजना कार्यान्वयन गरी १६ हजार विदेशी विद्यार्थी अध्यापन गराउने लक्ष्य राखेको छ । सो योजना कार्यान्वयनको चरणमा रहेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले विदेशी विद्यार्थीको सहजताका लागि छात्रावाससमेत निर्माण गरिरहेको छ । सो पूर्वाधारपछि अझ धेरै विद्यार्थी बढ्ने अपेक्षा गरिएको छ ।

विश्वविद्यालयले सम्बन्ध विस्तारका लागि झण्डै ८० अन्तरराष्ट्रिय संस्थासँग सहकार्य गरेको छ । सोही सहकार्यअन्तर्गत लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी सेमेष्टर एक्सचेन्जअन्तर्गत चीनका केही विद्यालयमा अध्ययनका लागि पुगेका छन् । ६४ जना विद्यार्थीले एक्सचेन्ज कार्यक्रम सकेर उपाधि हात पारेका छन् । केही समयअघि मात्रै ४८ जना विद्यार्थीहरूले चीनका विश्वविद्यालयमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति हासिल गरेका थिए ।




भर्खरै