२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याउखेतीमा किसानको आकर्षण बढ्दो



अ+ अ-

काठमाडौँ। च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आउनुभएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृषक चित्रराज तिमिल्सिनाले च्याउखेतीबाटै वार्षिक रु १२ लाख आम्दानी गर्नुहुन्छ ।

तिमिल्सिनाले देशभित्रै च्याउखेतीबाट खर्च कटाएर मासिक रु एक लाख आम्दानी गरी ‘देशमा केही गर्न सकिँदैन, केही हुँदैन’ भन्ने युवा पुस्ताका लागि ‘जाँगर भए देशभित्रै गर्न सकिन्छ’ भन्ने उदाहरण दिनुभएको छ ।

आफ्नै लगानीमा करिब १५ रोपनी जग्गामा च्याउ खेती गर्दै आउनुभएका उहाँले चार वटा फार्ममा कन्ये, गोब्रे र सिताकेलगायतका च्याउ खेती गर्दै आउनुभएको छ । उहाँले अध्ययन गर्दै गरेका आफ्ना छोरा÷छोरीलाई पनि च्याउखेतीमै संलग्न गराउनुभएको छ । उहाँले भन्नुभयो, “अमेरिका र युरोपका विभिन्न देशमा गएका युवाभन्दा हामी सक्षम छौँ, उनीहरु देश फर्किएर के गर्ने होला ? भनेर काम खोज्छन, हामीसँग त्यो समस्या छैन ।”

च्याउ उत्पादक किसान सङ्घ, नेपालका अनुसार हाल च्याउखेतीबाट करिब रु २० अर्ब बराबरको आम्दानी हुने गरेको छ । गोधे च्याउ, कन्ये च्याउ र राजा च्याउ नेपालका लागि आवश्यक उत्पादन नेपाली किसानबाट हुने भएकाले च्याउमा नेपाल आत्मनिर्भर भएको किसानहरुको भनाइ छ । यस क्षेत्रमा ३० हजार नेपालीले रोजगारी पाएको सङ्घका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ तथा सूचना अधिकारी आनन्द जोशीले च्याउ खेतीको विकास र प्रवर्द्धन गर्ने विषयमा रणनीति वा कार्ययोजना बनाउने विषयमा छलफल भए पनि राष्ट्रिय च्याउ नीति नै बनाउनेबारे भने छलफल नभएको बताउनुभयो ।

नेपालमा म्याजिक मसरुम भनिने जङ्गली च्याउदेखि सजिलै घरमा उत्पादन गर्न सकिने च्याउसम्म पाइन्छन् । प्रतिकिलो भारु ५८ हजारमा बिक्री हुने गुची च्याउ पनि नेपालमै पाइन्छन् । यार्सागुम्बा पनि च्याउ वर्गमै पर्छन् । नेपालमा च्याउखेती नगदेवालीको रूपमा अत्यधिक सम्भावना बोकेको क्षेत्रका रूपमा परिचित छ ।

कृषि विभागअन्तर्गतको व्यावसायिक कीट विकास केन्द्रका सूचना अधिकारी पूर्णिमा क्षेत्रीले केन्द्रले च्याउसम्बन्धी प्रयोगशाला र च्याउमा हुनुपर्ने न्यूनतम मापदण्ड तयार गर्ने काम भइरहेको जानकारी दिनुभयो । केन्द्रले खानयोग्य जङ्गली च्याउबारे पनि अध्ययन सुरु गरेको जनाएको छ । रासस