२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन्यजन्तु पीडितलाई राहत रकम वितरण



अ+ अ-

मुस्ताङ। मुस्ताङस्थित माथिल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुधनीहरुलाई राहत रकम वितरण गरिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङले आज लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गतका वन्यजन्तु पीडितलाई बैंक खातामा जम्मा हुने गरी क्षतिपूर्तिबापतको राहत रकम प्रदान गरेको हो ।

एक्याप लोमान्थाङले आर्थिक वर्ष २०८१÷०८२ मा वन्यजन्तुबाट पशुधनमा भएको क्षति राहत रकम पाउन बाँकी २८ घरधुरीका १०५ वटा पशुधनको क्षति भएकामा सो क्षतिपूर्तिबापत्को राहत रकम उपलब्ध गराएको जनाएको छ ।

प्रमुख उमेश पौडेलका अनुसार गत साल छुटेका र गत आवमा वन्यजन्तुबाट भएको पशुधन क्षतिबापत् रु १५ लाख सम्बन्धित पशुधनीहरुको बैंक खातमा राहत रकम दाखिला गरिएको छ । एक्याप लोमान्थाङले माथिल्लो मुस्ताङका दुई स्थानीय तहका पधुधनीले पालेका घोडा १६ वटा, च्याङ्ग्रा ६३ वटा, भेडा २१ वटा र याक पाँच वटाको क्षतिबापत्को राहत रकम वितरण गरिएको प्रमुख पौडेलले उल्लेख गर्नुभयो ।

एक्यापका अनुसार गत आवमा क्षति भएकामध्ये ७७ वटा पशुधन हिउँ चितुवाको आक्रमणबाट र २८ वटा जङ्गली ब्वाँसोको आक्रमणबाट क्षति भएको थियो ।

यसैगरी चालु आवको पाँच महिनामा माथिल्लो मुस्ताङमा वन्यजन्तुको आक्रमणबाट ४३ वटा पशुधनको क्षति भएको छ । जसमध्ये १९ वटा पशुधन हिउँ चितुवाबाट र २४ वटा पशुधन जङ्गली ब्वाँसोको आक्रमणबाट क्षति भएको एक्यापले जनाएको छ ।

गत असार ३१ गते माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पशुधनीहरुलाई वन्यजन्तुबाट पशुधनमा भएको क्षतिपूर्ति बापत राहत रकम १२ घरधुरीलाई रु ११ लाख ३५ हजार सम्बन्धित पशुधनीको बैंक खातामा जम्मा हुने गरी उपलब्ध गराएको थियो ।