२९ मंसिर २०८२, सोमबार
,
Latest
यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस् प्रदेश सरकारको अस्तव्यस्तताका कारण आयोगको वाार्षिक कार्यतालिका प्रभावितः अध्यक्ष यादव एमाले महाधिवेशनः ईश्वर पोखरेलको उम्मेदवारी दर्ता एमाले अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता–फोटोफिचर ओलीलाई संरक्षण गर्नु एमालेको मुख्य दायित्व होः रामकुमारी झाँक्री सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी–फोटोफिचर सामान्य बढ्यो शेयर बजार, फाइनान्समा झुम्मिए लगानीकर्ता पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्नसक्ने अवस्था छैनः योगेश भट्टराई महाधिवेशन प्रतिनिधिहरुलाई पाण्डेको आग्रह– कम्युनिष्ट आन्दोलनलाई थप एकतावद्ध गर्न सहयोग गर्नुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

राखुका किसानलाई सुन्तला ढुवानीको समस्या



अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । नयाँपुलबाट राखु हुँदै भकिम्ली जोड्ने सडकमा सुन्तला ढुवानी गर्ने गाडी उक्लन नसक्ने भएकाले किसानलाई सुन्तला बजार पठाउन झञ्जट एवं समस्या हुनुका साथै कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएको हो ।

बगैँचामा टिपेको सुन्तला ट्याक्टरमा राखेर नयाँपुलमा झार्ने र नयाँपुलबाट गाडीमा राखेर बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत बजारमा पठाउने गरिएको राखुका कृषक भविकला थापा रानामगरले बताउनुभयो ।

“तल्लो राखुबाट नयाँपुलसम्म एकपटक सुन्तला ढुवानी गरेको एक वटा ट्याक्टरले रु तीन हजार लिन्छ भने उपल्लो राखुबाट रु तीन हजार पाँच सय खर्च हुन्छ,” उहाँले भन्नुभयो, “बगैचा र नयाँपुलमा दुई पटक लोड अनलोड गर्दा थप खर्च हुने गरेको छ ।”

अन्यत्रका किसानले प्रतिकिलो रु ८० देखि ८५ मा सुन्तला बेचे पनि राखुका किसानले सडक र ढुवानीको समस्याले गर्दा प्रतिकिलो रु ७५ मा बेच्न बाध्य भएको उहाँले भन्नुभयो । ग्रेड नमिलेको, साघुरो सडकमा घुम्ती धेरै छन् । मोटरसाइकल, जिप र ट्याक्टर मात्र चल्ने सडक जोखिमयुक्त छ ।

सडक पुग्नुअघि यहाँका किसानले बेनीका डोके ब्यापारीलाई सस्तोमा सुन्तला बेच्ने गरेका थिए । सडक आएपछि डोकोमा बोकेर सुन्तला बजार पठाउनुपर्ने समस्या हटे पनि स्तरोन्नतिमा ढिलाई भएको किसानहरू नरबहादुर रानाले गुनासो गर्नुभयो ।

विसं २०७३ मा तत्कालीन भकिम्ली गाविस र किसानहरूको रु ५० लाख लागतमा जयन्ती माविबाट राखु हुँदै नयाँपुल जोड्ने करिब पाँच किलोमिटर सडकको मार्ग खुलेको थियो । सडक निर्माणका लागि स्थानीयवासी महिलाले १३ जना महिलाले बैंकमा सुन धितो राखेर रु १२ लाख ऋण जुटाएका थिए ।

बेनी नगरपालिकाले घुम्तीमा ढलान र बर्खामा खसेको पहिरो पन्छायर यातायात सञ्चालनको ब्यवस्था मिलाएको छ । सामान्य मर्मतको भरमा सडक सञ्चालन भएको छ । बेनपा–३ का वडा अध्यक्ष पदम पुनले राखुको सडकलाई स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गरिएको बताउनुभयो ।

राखुका ६५ घरपरिवार किसानले व्यावसायिक सुन्तला खेती गरेका छन् । वार्षिक रु दुई करोड मूल्य बराबरको सुन्तला बिक्री हुने गरेको कृषक खिम पुनले बताउनुभयो । नयाँ बिरुवा थपिदै गएकाले वर्षेनी सुन्तलाको उत्पादन बढेको उहाँले बताउनुभयो ।

सुन्तला खेतीले रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । काम र अवसरको खोजीमा बजार तथा विदेशिनुपर्ने समस्या कम भएको छ । कृषक गङ्गाबहादुर घर्तीले सुन्तलाले फल दिन थालेपछि विदेश जानु नपरेको बताउनुभयो । एक सय ८० बोटबाट उहाँले वार्षिक रु चार लाख मूल्यको सुन्तला बिक्री हुने बताउनुभयो ।

पूर्व फर्किएको भिरालो पाखोमा रहेको राखुको भूगोल र जमिन सुन्तला खेतीका लागि अनुकल छ । सिचाइँको पर्याप्त सुविधा छ । कोदो र मकै बालीको विकल्पमा व्यावसायिक सुन्तला खेती गरेका छन् । राखुवासीले सुन्तलाखेतीलाई मुख्य आयस्रोत बनाएका छन् ।