१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

हलेसी तुवाचुङमा पाँच मुरीभन्दा बढी बदाम फलाउने किसान पुरस्कृत

हलेसी तुवाचुङमा पाँच मुरीभन्दा बढी बदाम फलाउने किसान पुरस्कृत
अ अ+ अ-

खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम वितरण सुरु गरेको छ ।

‘बदामखेतीमा विस्तार, पोषण सुरक्षा र आम्दानीको आधार’ भन्ने नाराका साथ बदामखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको यो नगरपालिकाले किसानलाई प्रोत्साहन रकम वितरण सुरु गरेको हो ।

न्यूनतम् पाँच मुरी बदाम उत्पादन गर्ने किसानलाई रु दुई हजार ५०० तथा त्योभन्दा बढी उत्पादन गर्ने किसानलाई प्रतिमुरी रु ३०० का दरले प्रोत्साहन रकम प्रदान गर्ने गरिएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिनुभयो । “हाम्रो नगरपालिकामा यो वर्ष तीन हजार १२८ मुरी बदाम उत्पादन भएको छ ।

बदामखेतीलाई प्रवर्द्धन गर्न किसानलाई प्रोत्साहन रकम वितरण गरिएको हो”, उहाँले भन्नुभयो, “प्रोत्साहन रकम पाउनका लागि किसानले निवेदन दिनुपर्ने हुन्छ । निवेदनका आधारमा कृषि शाखाका कर्मचारी गएर मूल्याङ्कन गरेपछि पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन रकम दिने गरेका हौँ ।”

पहिलो चरणमा वडा नं ५ दुर्छिम, वडा नं ७ वहादेवस्थान र वडा नं ८ धितुङका किसानलाई नगरपालिकाको कार्यालयमा बोलाएर प्रोत्साहन रकम वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसर पारेर आइतबार दुर्छिमका १३ किसानलाई रु ६२ हजार २००, महादेवस्थानका ४३ किसानलाई रु दुई लाख ३२ हजार ३०० र धितुङका १५८ जना किसानलाई रु सात लाख १० हजार ६०० प्रोत्साहन रकम वितरण गरिएको कृषि शाखा प्रमुख रविन भट्टराईले बताउनुभयो ।

नगरपालिकाको कार्यालय टाढा पर्ने वडा नं २ डिकुवा र वडा नं ११ राजापानीका किसानलाई वडा कार्यालयमार्फत वितरण गर्ने योजना बनाइएको नगरपालिकाले जनाएको छ । वडा नं २ डिकुवाका २४ किसानले २६० मुरी तथा वडा नं ११ राजापानीका २४ किसानले २३१ मुरी बदाम उत्पादन गरेको जनाइएको छ ।

कृषि शाखाले दिएको जानकारीअनुसार डिकुवाकाका किसानले रु एक लाख दुई हजार तथा राजापानीका किसानले रु ९३ हजार ३०० प्राप्त गर्नेछन् । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामा मात्र उत्पादन हुने बदामखेती प्रवर्द्धनका लागि नगरपालिकाले गत वर्षबाट प्रोत्साहन रकम वितरण कार्यक्रम ल्याएको हो ।

परम्परागत (रैथाने) बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत बदामखेती गर्ने किसानलाई मूल्याङ्कनका आधारमा प्रोत्साहन रकम वितरण गर्दै आएको यो नगरपालिकामा यस वर्ष सबैभन्दा बढी धितुङका गोपाल बुढाथोकीले ४१ मुरी उत्पादन गर्नुभएको जनाइएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकामा गत वर्षको तुलनामा यस वर्ष ४६ दशमलव ३५ प्रतिशतले बदाम उत्पादनमा वृद्धि भएको हो ।

नगरपालिकाको अधिकांश भूभागमा उत्पादन हुने बदामखेतीलाई प्रवर्द्धन गर्दै ब्रान्डिङ गरेर बिक्री गर्ने योजनासहित किसानलाई प्रोत्साहन रकम उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो ।

“बदाम बिक्रीबाट नगरपालिकाका किसानले राम्रो आम्दानी गरिरहेका छन् । किसानले उत्पादन गरेका बदाम व्यवसायीले ठगेर अन्यत्र लैजाने गरेका छन् । त्यसलाई रोकेर किसानलाई प्रोत्साहन गर्दै ब्रान्डिङ गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो नगरपालिकामा बदाम र गहत उत्पादनको प्रचुर सम्भावना छ ।

रैथाने बालीका रूपमा उत्पादित बदाम र गहतलाई हाम्रो नगरपालिकाको विशेष उत्पादन बनाएर निर्यात गर्दै आम्दानीको स्रोत वृद्धि गर्ने लक्ष्य लिएका छौँ ।”

हलेसी तुवाचुङ नगरपालिकाका किसानले उत्पादन गरेका अधिकांश बदाम स्थानीय तथा बाहिरबाट आएका ठेकेदारले खरिद गरेर जिल्लाकै त्रिधार्मिकस्थल हलेसी बजार, दिक्तेल, रभुँवाघाटमा लाग्ने माघेसङ्क्रान्ति मेला, बराहपोखरी मेला, दिक्तेल बजार, छिमेकी जिल्ला ओखलढुङ्गामा बिक्री गर्न लैजाने गरेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये यो नगरपालिकामा मात्र बदामखेती हुँदै आएको छ ।

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आसपासका क्षेत्रमा उत्पादित बदाम कोसेलीका रूपमा पनि प्रयोग हुने गरेको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीका रूपमा यहाँ उत्पादित बदाम लैजाने गरेको व्यवसायीहरूले बताएका छन् ।

नगरपालिका क्षेत्रभित्र उत्पादित कृषि उपजलाई प्रवर्द्धन तथा बजारीकरण गर्दै नगरवासीको आयआर्जनमा वृद्धि गर्न हलेसीस्थित ट्राफिकचोकमा चिस्यान केन्द्रसहितको कृषि सङ्कलन केन्द्रसमेत सञ्चालन गरिएको छ । आयातित कृषि उपजलाई निषेध गर्दै स्थानीय कृषि उपज प्रवर्द्धन गर्ने उद्देश्यले लगानीमा कृषि सङ्कलन केन्द्र स्थापना गरेर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । रासस