काठमाडौँ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म देशभर कूल २५ वटा विपद्जन्य घटना घटेका छन् ।
ती घटनामध्ये सबैभन्दा बढी अर्थात् २२ वटा घटना आगलागीसँग जोडिएका छन् ।
कतै डढेलो त कतै भान्सामा खाना पकाउने ग्याँस लिक हुँदा आगो लागेको छ । बिजुली सर्ट भएर, असावधानी एवम् जनचेतनाका अभावमा पनि आगो लागेको प्राधिकरणको विवरणमा उल्लेख छ । रौतहटमा तीन, पाँचथर, झापा, कास्की र स्याङजाका दुई ÷दुई स्थानमा आगलागीका घटना घटेका छन् ।
मोरङ, भोजपुर, उदयपुर, सर्लाही, काठमाडौँ, स्याङजा, रुपन्देही, दाङ, अछाम र दार्चुलाका एक÷एक स्थानमा आगलागीका घटना घटेका छन् । हिउँदको समयमा आगो ताप्दा, सलाइको काटी खेलाउँदा र धानको कुन्युमा केटाकेटी खेल्दासमेत आगलागी भएको पाइएको छ ।
प्राधिकरणका अनुसार, काठमाडौँको दक्षिणकाली नगरपालिका–५ पूरानो दक्षिणकाली जंगलमा आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय फर्पिङ टोली र स्थानीयको सहयोगमा डढेलो नियन्त्रण गरिएको थियो । पाल्पामा पहिरो, मोरङका दुई स्थानमा जङ्गली हात्तीले आक्रमण गरेको छ ।
त्यसमध्ये मोरङको सुन्दरहरैचा नगरपालिका १२ मा हात्तीको आक्रमणमा परेर एकको मृत्यु भएको छ । विपद्मा परेर एक जनाको निधन र चार जना घाइते भएका छन् । विपद्जन्य घटनाका कारण कूल ७२ लाख ९०० बराबरको क्षति भएको अनुमान गरिएको छ । रासस










