१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

जलजला आलुको बीउमा आत्मनिर्भर

जलजला आलुको बीउमा आत्मनिर्भर
अ अ+ अ-

म्याग्दी। जिल्ला सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका बीउ आलुमा आत्मनिर्भर बनेको छ ।

राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर कम उत्पादन क्षमता भएको पुरानो बीउलाई विस्थापित गरी गुणस्तरीय बीउ उत्पादन गरिएको हो ।

राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्वमूलबीउलाई पिबिएम प्रविधिबाट (बियाँबाट आलुको बीउ उत्पादन) गरेर आत्मनिर्भर बनाइएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार उत्पादन क्षमता कम भएको पुरानो बीउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोगकीराको समस्या देखिएपछि २०७९ सालमा जलजला गाउँपालिका–६ लाम्पाटाको बराहटोलमा खुमल सेतो १, खुमल उज्वल, जनकदेव, खुमल रातो र कार्डनल जातको आलुको ५३ हजार २०० सय दाना रोपेर पहिलो पुस्ताको बीउ उत्पादन थालिएको थियो ।

“लाम्पाटामा पूर्वबीउका साथै सल्यानलगायतका ठाउँमा उत्पादन हुने दोस्रो र तेस्रो पुस्ताको आलुको बीउ खरिद गरेर चिस्यानगृहमा भण्डारण गरी किसानलाई सहुलियत दरमा उपलब्ध गराएका छौँ”, अध्यक्ष आचार्यले भन्नुभयो, “गत वर्ष उत्पादन भएको दुई हजार २५२ बोरा बीउ पालिकाका किसानलाई पुगेर पनि अन्य जिल्लामा बिक्री गरेका छन् ।”

पिबिएम प्रविधिबाट उत्पादन भएको आलुको बीउ पाँच पुस्तापछि खानयोग्य हुन्छ । यसअघि जलजलाका किसानले करिब ५० वर्ष पुरानो बीउ प्रयोग गर्दै आएका थिए । पुरानो बीउ लगाउँदा एक बोराबाट सातदेखि १० बोरासम्म उत्पादन हुने गरेकामा नयाँ बीउ लगाउँदा एक बोराले २० बोरासम्म उत्पादन दिन थालेको किसानले बताएका छन् ।

गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले किसानले उत्पादन गरेको बीउलाई प्रतिकिलो रु ६५ मा खरिद गरेर ५० प्रतिशत ढुवानीमा अनुदानसहित पोखराको चिस्यानगृहमा भण्डारण गर्ने र प्रतिकिलो रु १५ अनुदान दिएर किसानलाई वितरण गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

अनुदानमा एक बोरा आलुको बीउ लैजाने किसानले कम्तीमा पाँच बोरा गाउँपालिकालाई उपलब्ध गराउनुपर्ने सर्त छ । गाउँपालिकालाई उपलब्ध गराएर बचेको बीउ किसानले छिमेकी जिल्ला म्याग्दी, बागलुङ, कास्की र पर्वतका अन्य स्थानीय तहमा बेच्छन् । जलजलामा वार्षिक एक हजार ८०० बोरा आलुको बीउ आवश्यक पर्ने गरेको जनाइएको छ ।

जलजलाको बनौ, तारे, शालिजा, लेकफाँट, धाइरिङको धाखेत, धारापानीमा बर्खे र सल्यान, नाग्लीवाङ, मल्लाजमा हिउँदे आलुखेती आलुखेती हुने गरेको छ । राम्रो मूल्य र बजार पाइने भएकाले खानका साथै बीउ उत्पादनमा किसान आकर्षित भएका छन् ।

जलजला–बाँसबोट कृषक समूहका सचिव कमलनयन आचार्यले ८० रोपनी खेत भाडामा लिएर १६ जनाले सामूहिक बीउका लागि आलुखेती सुरु गरिएको जानकारी दिनुभयो । किसानले व्यक्तिगत रूपमा ५० बोरा र समूहले एक सय १५ बोरा आलु रोपेका उहाँले बताउनुभयो ।

सामूहिक आलुखेती सुरु भएको खेतमा यसअघि हिउँदमा खेती हुँदैनथ्यो । बाँसबोटमा दुई वर्षअघि पुर्जाखोला सिँचाइ आयोजना निर्माण सकिएपछि बाह्रै महिना सिँचाइ सुविधा पुगेको बाँझो खेतबारी पछिल्लो दुई वर्षयता हराभरा हुन थालेको किसान भोजराज आचार्यले बताउनुभयो । “सिँचाइ सुविधा नहुँदा बाँसबोटका किसानले अकासे पानीका भरमा धानबालीमात्र लगाउँथे । सिँचाइ सुविधा भएपछि बसाइँसराइ र जनशक्ति अभावका कारण हिउँदमा बाँझिने जग्गामा पनि आलुसहित तीन बाली खेती सुरु गरेका छौँ । धान उत्पादन पनि दोब्बरले बढेको छ”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेश सरकारले निर्माण गरेको पुर्जाखोला सिँचाइ आयोजनाबाट बाँसबोटका साथै फोक्सिङ, छहरा र एकपाटेका तीन सय घर किसानका छ सय २० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ । स्थानीय अगुवा किसान लोकराज आचार्यले बाँझिएको जमिनलाई सदुपयोग, रोजगारी सृजना र किसानको आयआर्जन वृद्धिका लागि आलुको बीउ उत्पादन कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो ।

उत्पादन बढ्दै गए पनि यहाँ बाँदरको समस्या आलुखेतीका लागि चुनौती बनेको छ । बाँदरका हुलले आलुका बिरुवा उखेल्ने र दाना निकालेर दुःख दिने गरेको जलजला गाउँपालिका–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताउनुभयो ।

सामूहिक आलुखेती भएकाले तीन महिनाका लागि बाँदर हेरालु राख्न गाउँपालिकामा समझदारी भएकाले कार्यान्वयनमा आएपछि केही राहत हुने उहाँले बताउनुभयो । रासस