१२ भाद्र २०८३, शुक्रबार
,
Latest
आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बानेश्वरमा भव्य विवाह पार्टी: बेहुली कुर्दै, तर बेहुला नै आएनन्



अ+ अ-

काठमाडौँ । बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो । करिब सात सय जनाका लागि खानपानको व्यवस्था थियो । छोरीको बिहे भव्य बनाउन परिवारले कुनै कसर बाँकी राखेको थिएन । मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याएको थियो । काठमाडौंमा रहेका आफ्ना जिल्लावासी र चिनेजानेका सबैलाई केटीको परिवारले निम्त्याएको थियो । बिहान १० बजेदेखि आउनेजाने निम्तालुको लर्को चलिरहँदा १२ बजे आउने भनेका जन्ती आइपुगेनन् । केटी पक्ष फोन डायल गर्न थाले ।

आफूलाई इन्जिनियर बताउने वर आश्रेय बस्नेतले फोनमा आत्तिएको स्वर पारेर आफ्ना माइलो बुवा अचानक बितेकाले आउन ढिला भएको बताउँदै भने, ‘यताको तारतम्य मिलाएर जन्ती हिँड्छ ।’ सिनामंगल घर र आफूलाई डाक्टरको छोरा बताउने उनी दिन ढल्किँदा पनि जन्ती लिएर नआएपछि केटी पक्षमा हल्लीखल्ली मच्चियो । जन्ती आउने आसमा सिंगो दिन बिताएपछि केटी पक्ष सशंकित भयो । आफन्तले महानगरीय प्रहरी वृत्त बानेश्वरमा खबर गरे । वृत्तका डीएसपी दुर्गा रेग्मीसहितको टोली पार्टी प्यालेस पुगेर सबै जानकारी लियो ।

डीएसपी रेग्मीले भने, ‘केटी पक्षका सबैको अनुहार मलिन थियो । उनीहरूको कुरा सुनेर म पनि चकित परें ।’ १५ दिनअघि काठमाडौंकै एक भव्य होटलमा भएको टीकाटालोपछि सोमबार बिहेको मिति टुंगो गरिएको थियो । राति अबेरसम्म पनि न जन्ती न त केटा पक्षका कोही आफन्त उपस्थित नभएपछि केटी पक्ष घर फर्कियो । केटीका आफन्तका अनुसार बिहेको कुरा छिन्ने टीकाटालोमा पनि बस्नेत चारजना साथीमात्रै लिएर आएका थिए । ती आफन्तका अनुसार इन्गेजमेन्टमा चार तोला सुनका विभिन्न गहना केटा पक्षलाई दिइएको थियो । केटाले आफ्नो भनेको घर पनि हेर्न गएका केटी पक्षले उनका डाक्टर पितालाई भने भेट्न पाएका थिएनन् ।

‘बुवा धेरै व्यस्त हुनुहुन्छ’ भन्दै उनले हजुरआमा भनेर एक वृद्धा चिनाएका थिए । कुराकानी राम्रै भएपछि विवाह अगावै केटी पक्षले पाँच लाखजतिको फर्निचर पनि दाइजो भन्दै दिएको थियो ।बिहेका दिन केटा बेपत्ता भएपछि केटी पक्षको ओठतालु सुकेको थियो । बिहेका लागि खर्च भएको १५ लाखभन्दा पनि इज्जतमा धक्का लागेको पीर आत्तिएका उनीहरूलाई ढाडस दिएर प्रहरी टोली निस्कियो । न केटाको फोन लाग्यो न उनी फेला परे । उनको भनिएको घरमा पुग्दा थाहा भयो, उनी त्यहाँ डेरा लिएर एउटा कोठामा बसेका रहेछन् ।

‘हामी पुग्दा कोठाको ढोकामा ताला थियो,’ डीएसपी रेग्मीले भने, ‘केटी पक्षलाई हजुरआमा भनेर चिनाइएकी मान्छे पनि फेला परिनन् ।’ विवाहको निम्तो कार्डका लागि केटाले दिएको बाबु र आमाको नाम पनि फर्जी भएको खुल्यो । केटाको वास्तविक नाम पनि साहिल बस्नेत रहेको प्रहरीले पत्तो पायो । केटाको कोठामा न नयाँ फर्निचर थिए, न त महँगा वस्तु । केटी पक्षले दिएको फोटो र विवरण प्रहरीले आफ्ना युनिटहरूमा पठायो । काठमाडौंबाट पठाइएको फोटोमा रहेका बस्नेतलाई बुधबार पोखरा विमानस्थलमा प्रहरीले देख्यो । रोक्यो । चेकजाँच गर्दा उनको साथबाट चार हजार अमेरिकी डलर बरामद भयो ।

विदेशी मुद्राको स्रोत नखुलेपछि प्रहरीले उनलाई काठमाडौंको साटो थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको बुटवल कार्यालय पठाएको छ । प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार आफूलाई इन्जिनियर भने पनि बस्नेतको दाबी पुष्टि हुने आधार भेटिएका छैनन् । ‘आपराधिक विश्वासघात ठगीमा मुद्दा चलाउने तयारी भइरहेको छ,’ उनले भने, ‘केटाले कुन उद्देश्यले यस्तो षड्यन्त्र गरेको रहेछ भन्ने खुल्नै बाँकी छ, तर जे भयो त्यो सामान्य बदमासी होइन ।’

डीएसपी बोगटीका अनुसार करिब १५ दिनअघि पनि विवाहको नाममा यस्तै प्रकृतिको ठगीको उजुरी प्रहरीमा आएको थियो । केटा, जन्ती, उनका आफन्त कोही नआएपछि विवाहको दिन केटी पक्ष प्रहरीमा आएका थिए । उनको अझै खोजी भइरहेको बोगटीले बताए । कान्तिपुर दैनिक