१२ भाद्र २०८३, शुक्रबार
,
Latest
आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमपातले किसान हर्षित, विकासका योजनालाई भने असर



अ+ अ-

म्याग्दी । हिमाली जिल्ला म्याग्दीका उच्च लेकाली क्षेत्रमा यस वर्षको मध्य फागुनसम्म सातौँपटक हिमपात भएको छ । खेतीबाली र चरन क्षेत्रका लागि हिमपात हुनु शुभसंकेत मानिने परम्पराअनुसार उत्पादन बढ्ने र पशुलाई चरन अभाव नहुने भन्दै किसानहरू हर्षित भएका छन् भने उच्च लेकाली क्षेत्रमा सञ्चालनमा रहेका विकास निर्माणका योजना र कामहरू भने प्रभावित भएका छन् । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण यहाँको जनजीवन कष्टकर हुनुका साथै विकास निर्माणका योजनाहरु प्रभावित भएका स्थानीय वासिन्दाले बताएका छन् ।

धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मंगलाको टोड्के, झाँक्रीपानी, रघुगंगा गाउँपालिकाको रुइसे, भगवती, कुइनेमंगले, अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, चित्रे, टिकोट, राम्चे लगायतका बस्तीमा हिउँ परेको छ । गुर्जामा एक फिट हिउँ जमेको स्थानीय जनकल्याण माविका शिक्षक अशोक छन्त्यालले जानकारी दिए । यसअघि यही ९ फागुनमा हिमपात भएको थियो । सो हिउँ पग्लिनसक्दै थपिएको हिउँले चिसो बढेको उनले बताए । विगतका भन्दा यो वर्ष धेरैपटक लगातारजसो हिउँ परेको छ । हिमपातका कारण विकास निर्माणका योजना कार्यान्वयन प्रभावित भएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

गुर्जामा यो वर्ष गाउँपालिकाको नौ वटा, संघीय सरकारको एउटा र प्रदेशको एउटा योजना छन् । योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन भएको, सर्वेक्षण र डिजाइन गरिएको तर लगातारको हिउँले काम सुरु गर्न नसकिएको उपभोक्ता समितिका पदाधिकारीले बताएका छन् । सुरु गरिएका योजनामा पनि निरन्तर काम हुन नसकेको वडाध्यक्ष छन्त्यालले बताए । करिब साढे दुई सय घरधुरीको बसोवास रहेको गुर्जा गाउँ जाने बाटोमा हिउँ जमेपछि आवतजावत र ढुवानी ठप्प भएको छ । रघुगंगा गाउँपालिकाको बेग–चिमखोला सडकमा हिउँ जमेर यातायातका साधन रोकिएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा निर्माणाधीन नीलगिरि र नीलगिरि क्यासकेड जलविद्युत् आयोजना प्रभावित भएका छन् । मंसिर अन्तिम सातादेखि अहिलेसम्म म्याग्दीमा सातपटक हिमपात भएको छ । नियमित वर्षा र हिमपातले हिउँदे बालीलाई भने राम्रो गरेको कृषकले बताएका छन् । हिउँ र वर्षाले जमिन चिसो बनाएर सिँचाइ हुने र खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने कृषि प्राविधिकको भनाइ छ । हिउँदे वर्षासँगै हिमपात भएपछि अन्न, तरकारी र फलफूललाई राम्रो हुने भन्दै किसानहरू हर्षित भएका छन् । सौर्य दैनिक