३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गाउँको मौलिकता कायम राख्न चुनौती

गाउँको मौलिकता कायम राख्न चुनौती
अ+ अ-

ढोरपाटन । सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् । पूर्व पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म जोडिएको मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी कोरिडोर र तराई–पहाड जोडेको सालझण्डी–ढोरपाटन सडकले बागलुङका सयौँ गाउँ बस्ती जोडेसँगै विकट गाउँ पनि सुगम हुँदैछन् । गाउँ–गाउँमा राष्ट्रिय तथा शाखा सडक पुगेपछि नागरिकको जीवनशैलीमासमेत परिवर्तन आउँदैछ । सडकका आसपासमा तीव्ररुपमा बस्ती विस्तार हुँदैछन् तर पछिल्लो समय बन्ने संरचनामा मौलिकता हराउँदैछ । गाउँसम्मै कङ्क्रिटका भवन बन्दैछन् । परम्परागत घुमाउने, ढुङ्गेघर विस्थापित हुने अवस्थामा पुगेका छन् । सडकले पाटीपौवा, धर्मशाला, चौतारालगायतका सम्पदा पुरिएका छन् । यस्ता मौलिक सम्पदाको संरक्षणमा कसैको ध्यान पुग्न सकेको छैन ।

मौलिक गाउँका रुपमा परिचित तमानखोला गाउँपालिका–३ तमान गाउँ २०६७ सालमा सडकले जोडिएको थियो । सडकका कारण यहाँका धेरै मौलिक सम्पदा नासिएको स्थानीय रनबहादुर रोकाले बताउनुभयो । सडकले गाउँमा धेरै विकास भए पनि पुराना सम्पदा संरक्षण भने हुन नसकेको उहाँको भनाइ छ । दैनिक गाउँमा गाडी गुड्न थालेपछि स्थानीयले सहर बजारकै सहनसहन गर्न थालेको भन्दै घर भवन पनि त्यस्तै बनाउन थालेको रोकाले बताउनुभयो । पहिले बनेका रातोमाटो, सेतो कमिरोले पोतिएका घरकोस्वरुप फेरेर धेरैले आयातित रङ प्रयोग गर्न थालेको रोकाको भनाइ छ । उहाँले भन्नुभयो, “सडकले गाउँलाई सहर बजारसँग जोड्यो, विकाससँग जोड्यो तर हाम्रा मौलिक संस्कृति र परम्परालाई भने विस्तारै टुटाउँदैछ, सडकले पानीका मूल सुके, थकाई मार्ने चौतारा मासिए, पूजाआजा गर्ने थान मासिए । अहिले त देश विदेशका चालचलन गाउँ भित्रियो, गाउँलेले मौलिकता बिर्सिन थाले, हामी हुँदासम्म पुराना परम्परा रहलान्, हामीपछिका पुस्ताले संरक्षण गर्दैनन्, उनीहरुलाई आयातित संस्कार संस्कृतिकै चासो छ ।”

राजमार्ग आसपासमा थपिँदै कङ्क्रिटका घर

जिल्लाको निसीखोला गाउँपालिका सडकले जोडिएको डेढदशक भयो । मध्यपहाडी लोकमार्गको धेरै खण्डपर्ने यस क्षेत्रमा २०६७ साल अगाडि कङ्क्रिटका भवन भेट्याउन मुस्किल पथ्र्यो तर अहिले हरेक बस्तीमा ‘सिमेन्टेड’ भवन छन् । जिल्लाकै विकट मानिने निसीखोलामा लोकमार्गका कारण सुगम बनेको छ । आफ्नै मगर खाम भाषा, विभिन्न कला संस्कृति र परम्परा रहेको यस क्षेत्रमा पछिल्लो समय विस्तारै सङ्कटमा पर्न थालेको निसीखोला गाउँपालिका–६ का थमबहादुर बुढा मगरले बताउनुभयो । एक दशक अगाडिसम्म निसी, भल्कोट तथा आसपासका गाउँमा पुराना शैलीका एकतले काठ, ढुङ्गा र माटोले बनेका मात्रै घर हरेको स्मरण गर्दै अहिले पूरै फेरिएको उहाँको भनाइ छ । आफ्नो पुस्तासम्मले मगर खाम भाषा बोल्ने भए पनि नवयुवाहरु कम बोल्ने गरेको बुढा मगर बताउनुभयो । गाउँमा हुने संस्कृतिसमेत लोप हुँदै गएको उहाँले सुनाउनुभयो । बुढामगरले भन्नुभयो, “पहिले हामी निकै विकटमा थियौँ, सडक थिएन, जिल्ला सदरमुकाम पुग्न झण्डै सात दिन लाग्थ्यो, तर अहिले चार घण्टामै बागलुङ बजारमा पुग्न सक्छौँ, सडककै कारण अहिले हाम्रो जीवनशैली फेरियो, तर हामीहरुले हाम्रो मौलिकता बिर्सिदै गयौँ, अब त संरक्षण लागि निकै गाह्रो पर्ने देखिन्छ, मौलिकता जोगाउन एउटाको प्रयासले हुँदैन सिङ्गो समुदायनै लाग्नुपर्छ ।”
अचेल बन्ने घरमा भेटिदैन मौलिकता

ढोरपाटन नगरपालिका–८ का तमबहादुर विकले पछिल्लो समय गाउँमा मौलिक घर कम बन्न थालेको बताउनुभयो । अहिले बन्ने अधिकांश घरहरु नयाँ शैलीका हुने गरेको उहाँको भनाइ छ । नयाँ घरमा पहिलेको जस्तो रातोमाटो र कमिरोले पोत्न छोडेर विभिन्न थरिका रङ लगाउन थालिएको विक बताउनुहुन्छ । आफूहरुको पालामा बिहान उठ्ने, घर लितपोत गर्ने र बल्ल अरु काम गर्ने गरेको स्मरण गर्दै अहिले उक्त चलनसमेत हराएको उहाँले बताउनुभयो । पहिले गाउँका अबै घर ढुङ्गा माटोको गारो र छानो पनि ढुङ्गैको हुने गरेकोमा अहिले सिमेन्ट र जस्तापाताले छाउन थालेको विकको भनाइ छ ।“अहिले त गाउँ घरमा बजारको जस्तो चलन आउन थालिसक्यो, घर पनि नयाँनयाँ खालका बन्न थाले, चालचलन पनि नयाँ आए, उतिबेलाको जस्तो परम्परा अहिले मान्न छोडियो, मान्छे पढ्ने लेख्ने भए, त्यही भएर होला पुराना संस्कृति सबै विस्तारै हराउँदै गएका छन्,” विकले भन्नुभयो, “पहिला गाउँका पूरै घर ढुङ्गाले छाएका थिए, उतिबेला सडक आएको थिएन, जस्तापाता आउँदैनथ्यो, घर बनाउँदै ढुङ्गाकै प्रयोग हुन्थ्यो, अहिले त गाउँको कुनाकाप्चासम्म सडक पुग्यो, सडक जहाँ पुग्यो, त्यही जस्तापाता पुग्यो, जस्तापाता पुगेपछि मान्छेले त्यसैले घर छाउन थाले ।”

राष्ट्रिय राजमार्गले जोडिएका ग्रामीण क्षेत्रबाहेक अन्य ठाउँमा पनि मौलिक घर विस्तारै घट्दै छन् । पछिल्लो समय बन्ने अधिकांश घर तथा भवनहरु आधुनिक शैलीमा बन्न थालेका छन् । गाउँपालिकाले गाउँका सबै घरलाई एउटै रङ, एउटै शैली र एउटै आकार प्रकारको बनाउने भएको हो । तमान गाउँमा अब कसैले पनि कङ्क्रिटका भवन बनाउन नपाउने नीति लिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो ।
मौलिकता जोगान स्थानीय सरकारको चासो

आधुनिक प्रविधिको बढ्दो विकास र प्रयोगले ग्रामीण जीवनशैली, यहाँको संस्कार संस्कृति, सौन्दर्य र गाउँको वास्तविक महत्व हराउँदै गएपछि गाउँपालिकाले तमान गाउँलाई पुरानै स्वरुपमा संरक्षण गर्न थालेको उहाँले बताउनुभयो । पछिल्लो समय स्थानीयस्तरमा भएका स्रोतसाधनलाई बिर्सिएर आयातित वस्तुको प्रयोग बढी हुन थालेको हुँदा यसलाई रोक्ने प्रयास गरेको अध्यक्ष बुढामगरको भनाइ छ । अहिले गाउँले सहर बजारको सिको गरेर आधुनिकताका नाममा आफ्नो पहिचान गुमाउँदै गएको उहाँ बताउनुहुन्छ । अब बन्ने हरेक घर परम्परागत शैलीमा बन्ने अध्यक्ष बुढा मगरको भनाइ छ ।“तमान गाउँ निकै पुरानो गाउँ हो, अहिले पनि यहाँका घर भवन पुरानै शैलीका छन्, गाउँको संस्कार, संस्कृति र परम्परा पनि अहिलेसम्म जीवितै छ, अब मासिँदै जाने खतरा बढेको छ, यसलाई रोक्न हामीहरु लागेका छौँ, तमान गाउँलाई एउटा ‘सांस्कृतिक गाउँ’ बनाउने उद्देश्य हो” अध्यक्ष बुढामगरले भन्नुभयो, “अब गाउँमा कसैले पनि बजारका जस्ता ठूला–ठूला सिमेन्टका घर बनाउन पाउने छैन, गाउँपालिकाले एउटा मापदण्ड बनाउँछ, त्यही अनुसार गराउनुपर्छ, यो गाउँलाई अध्ययन अवलोकन र अनुसन्धान गर्ने थलोका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।”

अध्यक्ष बुढामगरले यस गाउँलाई पर्यटकीय गन्तव्यका रुपमासमेत विकास गरिने बताउनुभयो । घरका छेउछाउमा स्लेट ढुङ्गा विच्छ्याउने, घरमा लगाइने रङ, ढुङ्गाको छानो पनि एकै प्रकारको बनाइने उहाँको भनाइ छ । तमान गाउँ देशको दश नमूना सहरमध्येको एक पर्ने बुर्तिबाङ बजारदेखि गाडीमा दुई घण्टामा पुग्न सकिन्छ । बोङ्गादोभान र खुङ्खानी दुबैतर्फबाट पुग्न सकिन्छ भने म्याग्दीको मालिका हुँदै सोलेडाँडाबाट पनि पुग्न सकिन्छ ।गलकोट नगरपालिका–२ तोरीखोला गाउँ अहिले पनि बाक्लो मगर बस्ती छ । ढुङ्गा, माटो र काठबाट बनेका मौलिक घर छन् । रातोमाटो र सेतो कमेरोले रङ्गिएका घर निकै आकर्षक देखिन्छन् । वर्षौँ पुराना घरहरु अहिले पनि बलिया छन् । परम्परागत रुपमा बनेका मौलिक घरहरु पछिल्लो समय आधुनिकताले गर्दा विस्थापित हुने जोखिम बढेपछि नगरपालिकाले यसको संरक्षणम चासो दिएको छ ।

घरको आँगनमै आएको सडकका कारण स्थानीयलाई सहजता दिलाए पनि त्यसको अलवा मौलिक संस्कृति र परम्परा भने गुम्ने खतरा बढेको स्थानीय सुनाउँछन् । तोरीखोला गाउँ जस्ता मौलिकता बोकेका गाउँ बागलुङमा थुप्रै थिए, तर पछिल्लो समय ती गाउँमा मौलिकता हराएको छ । बढ्दो सहरीकरण र आधुनिकताले परम्परा हराउन थालेपछि गाउँको सुन्दरता, मौलिकता र परम्परालाई जोगाउन तोरीखोला गाउँलाई नगरपालिकाले ‘मौलिक गाउँ’का रुपमा विकास योजना अगाडि सारेको हो ।गलकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष हिमबहादुर भण्डारीले तोरीखोला गाउँलाई ‘मौलिक गाउँ’का रुपमा विकास गर्ने योजना बनाएको बताउनुभयो । यहाँ अब बन्ने हरेक घर स्थानीय स्रोतसाधन प्रयोग गरेर पुरानै शैलीमा बनाइनुपर्ने भन्दै सिमेन्ट प्रयोग गरिएका घर बनाउन रोक लगाउने बताउनुभयो । अध्यक्ष भण्डारीले यहाँका हरेक घरमा सकेसम्म रोतोमाटो र सेतो कमेरोले रङ्ग्याउने नभए एकै किसिमको रङ लगाउनुपर्ने मापदण्ड बनाउने बताउनुभयो । तोरीखोलामा वर्षौँ पुराना कला, संस्कृति प्रचलनमा रहेको हुँदा नगरपालिकाले पनि संरक्षण गर्न थालेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “गाउँगाउँमा मोटरबाटो पुगेपछि पक्की घर भवन धमाधम बनिरहेका छन्, हामीहरुले गाउँको सुन्दरता र पहिचानलाई जोगाउन थालेका छौँ, तोरीखोला गाउँ निकै पुरानो र मौलिकता बोकेको गाउँ भएको हुँदा यसलाई ‘मौलिक गाउँ’कै रुपमा राख्नुपर्छ, अहिले गाउँमा प्रविधिले सबै मौलिकता हराउन थालेका छन्, यहाँ अहिले पनि होमस्टे ९घरबास० सञ्चालनमा छन्, धेरै कला संस्कृति पनि प्रचलनमा रहेको हुँदा युवा पुस्तालाई यसप्रति आकर्षण गर्ने र संरक्षणमा टेवा पुर्‍याउने हिसाबले कामको सुरुआत गरेका छौँ, तोरीखोला गाउँको सुन्दरता र मौलिकतालाई जोगाइराख्न हामीहरु गम्भीर बनेका छौँ, पर्यटक भित्र्याउनका लागि पनि प्रयास थालेका छौँ ।” रासस