२६ मंसिर २०८२, शुक्रबार
,
Latest
मानव—वन्यजन्तु द्वन्द्व र वन डढेको कारण मिचाहा प्रजाति पनि एक होः मन्त्री परियार रौतहटमा ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु चार मन्त्री थपिदै, श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिने तयारी दाउन्नेमा काम तिब्र, यात्रुलाई सास्ती उस्तै (फोटो फिचर) सञ्चारमन्त्रीको टिप्पणीः नेताहरु घाटमा जाने बेलासम्म पनि आफैँ नेता, अध्यक्ष र प्रधानमन्त्री बन्छन् सुनचाँदीको मूल्य निरन्तर उकालोतिर प्रतिबन्धित मुङ्ग्री माछा नष्ट मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’



अ+ अ-

भोजपुर। विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।

यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै सामुदायिक विद्यालयको घेराबारा गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो ।

सामुदायिक विद्यालयको शैक्षिक सुधारसँगै भौतिक संरचनाको सुरक्षाको लागि गाउँपालिकाले योजनाबद्ध रुपमा कार्यक्रम सञ्चालन गरेर विद्यालयहरुको घेराबारा गरेको उहाँको भनाइ छ ।

“हामीले गाउँपालिकाभित्रका सबै विद्यालयको घेराबाराको काम सम्पन्न गरेका छौँ”, उपाध्यक्ष राईले भन्नुभयो, “विद्यालयमा घेराबारा नहँुदा विभिन्न खालका समस्या देखिएपछि हामीले घेराबाराको कार्यक्रम सञ्चालन गरेका हाँै ।”

धेरै विद्यालयहरु एकान्तमा रहेकाले विद्यालयमा पशुचौपाया तथा मानिसहरुले उपद्रो गर्दा क्षति पुग्दै आएको अवस्थामा घेराबारा गरिएपछि सहजता भएको सिंहदेवी माध्यमिक विद्यालय लेखर्कका प्रधानाध्यापक राजधन राईले बताउनुभयो । घेराबारा गरिएपछि विद्यालयसँगै विद्यार्थीहरुको सुरक्षामा सहजता भएको उहाँको भनाइ छ ।

विगतमा विद्यालय क्षेत्र खुला रहँदा भौतिक संरक्षण तोडफोड हुने, गाईबस्तु चराउनेलगायतको समस्या रहेकोमा अव त्यसको अन्त्य भएको उहाँको भनाइ छ ।

“विद्यालयको घेराबारा नहुँदा धेरै समस्या थियो”, प्रधानाध्यापक राईले भन्नुभयो, “विद्यालयको चौरमा गाईबस्तु शैक्षिक गतिविधिमा समस्या हुन्थ्यो । विद्यालयमा अनावश्यक मानिसहरुको प्रवेश हुँदा शिक्षण सिकाइमा असर पुगेको अवस्था थियो । घेराबारा भएपछि विद्यालयको भौतिक सम्पत्तिको सुरक्षासँगै पठनपाठनमा सहजता छ ।”

गाउँपालिकाले यहाँको शैक्षिक सुधारको लागि भौतिक संरचना निर्माणसँगै विद्यालय प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । सामुदायिक विद्यालयहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहज वातावरण निर्माणमा गाउँपालिकाले ध्यान दिएको उहाँको भनाइ छ ।

गाउँपालिकाले वार्षिक रुपमा उत्कृष्ट विद्यालयको छनोट गरेर पुरस्कृत गर्दै आएको अध्यक्ष बस्नेतको भनाइ छ । विद्यालयलाई लक्षित गरेर वार्षिक रुपमा प्रतिभा पहिचान कार्यक्रमसमेत सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

“हामीले सामुदायिक विद्यलायको शैक्षिकसँगै भौतिक सुधारमा जोड दिएका छौँ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “वार्षिक रुपमा उत्कृष्ट विद्यालयलाई प्रोत्साहनसँगै प्रतिभा पहिचानको कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ ।”

गाउँपालिकाले शैक्षिक अनुसन्धानको कामसमेत गरिरहेको छ । स्थानीयको माग र आवश्यकताको आधारमा विकासका कामलाई अघि बढाएको उहाँको भनाइ छ । रासस