काठमाडौँ। सभ्यता अन्वेषण केन्द्रले आज यहाँ आयोजित एक कार्यक्रमकाबीच कवयत्री निरञ्जना चन्द ‘निरु’ द्वारा रचित कविता कृति ‘वनफूलको विद्रोह’ को विमोचन गरिएको छ ।
विविध साहित्यिक व्यक्तित्व, भाषाविद्, अध्येता तथा कलाप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा सो कविता कृति विमोचन गरिएको हो ।
विमोचन समारोहका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले कृतिको चर्चा गर्दै कवयत्री चन्दको लेखनशैली समकालीन समाजका यथार्थ, अनुभूति र मानवीय संवेदनशीलतालाई सशक्त रूपमा अभिव्यक्त गर्ने खालका रहेको उल्लेख गर्नुभयो ।
“म २०७८ सालको प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवदेखि नै कवयत्री चन्दको लेखकीय क्षमता र उहाँको भावनात्मक गहिराइबाट प्रभावित भएको छु”, उहाँले स्मरण गर्दै भन्नुभयो, “चन्दका कविताहरू मार्मिक छन्, तिख्खर छन् र पाठकको अन्तरमनलाई छुने शक्तिले भरिपूर्ण छन् ।”
‘वनफूलको विद्रोह’ शीर्षककै संरचनाले कवयत्रीले प्रकृतिको प्रतीकमार्फत विद्रोह, स्वतन्त्रता, अस्तित्व तथा सामाजिक न्यायका पक्षमा उठान गरेको स्पष्ट सङ्केत गरेको पूर्वकुलपति उप्रेतीले बताउनुभयो । उहाँले चन्दका शब्द–चयन, छन्दगत लय र भावनात्मक तीक्ष्णतालाई विशेष प्रशंसनीय भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रा जीविन्द्रदेव गिरी, प्रा जगत उपाध्याय, प्रा हेमनाथ पौडेल, प्रा देवी नेपाललगायतले पनि कवयत्री चन्दका साहित्यिक योगदान र कृतिमा समावेश विषयवस्तुका विविध आयामबारे प्रशंसा गर्नुभएको थियो ।
चन्दका कविता प्रायः जीवनका उतारचढाव, संवेदना, सामाजिक यथार्थ र मानवीय भावनामा केन्द्रित हुने गरेका छन् ।रासस










