१९ असार २०८३, शुक्रबार
,
Latest
राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ धनुषामा अनियन्त्रित रथका कारण बालिकाको मृत्यु सरकारले तत्काल राष्ट्रिय चिया लिलाम बजारको स्थापना गर्नुपर्दछः नेकपा सांसद अर्याल बैतडीमा यात्रुवाहक बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मल आपूर्ति र धान खरिदको कोटा बढाउन प्रदेश सरकारको पहल



फाईल फोटो
अ+ अ-

सुदूरपश्चिम।  सुदूरपश्चिम प्रदेश सरकारले गहुँ बालीका लागि रासायनिक मल र धान खरिदका लागि कोटा बढाउन पहल गरेको छ ।

गहुँ बाली लगाउने बेला मलको अभाव भइरहेको र धान खरिदका लागि सीमित कोटा रहेकाले किसानले समस्या भोग्नुपरेको भन्दै समाधानका लागि पहल थालेको हो ।

किसानको मागअनुसार सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत धान खरिदका लागि प्रयास गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार मात्रै सङ्घीय सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग धनगढीमा छलफल गरेर मल आपूर्ति र सरकारले तोकेको मूल्यमा धान खरिदको व्यवस्थाका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो ।

उहाँले अर्थमन्त्री खनालसमक्ष अनुदानित रासायनिक मल र व्यापार कम्पनीले खरिद गर्ने धानको कोटा बढाइदिन अनुरोध गर्नुभएको थियो । मुख्यमन्त्रीले रासससँग भन्नुभयो, “अर्थमन्त्रीसमक्ष थप ५० हजार क्विन्टल धान खरिद र अनुदानित मलखादको कोटा बढाइदिन आग्रह गरेको छु । उहाँले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।”

सुदूरपश्चिम प्रदेशका १३ प्रतिशत रासायनिक मलको कोटा हुनुपर्नेमा हाल छ प्रतिशत मात्र आपूर्ति हुन सकेकाले मलको अभाव भइरहेको छ । हाल किसानले गहुँ बालीका लागि प्रयोग गर्नुपर्ने युरिया मलको अभाव भइरहेको गुनासा गरिरहेका छन् ।

व्यापार कम्पनी प्रादेशिक कार्यालय धनगढीले गत वर्ष ५५ हजार क्विन्टल धान खरिदको कोटा पाएकामा यस वर्ष गत वर्षभन्दा कम ३५ हजार क्विन्टलको मात्र कोटा पाएको छ । कोटा घट्दा किसानले सरकारले तोकेको मूल्यमा  धान बिक्री गर्न पाइरहेका छैनन् ।

धनगढी उपमहानगरपालिका किसान वीरबहादुर चौधरीले भन्नुभयो, “कम्पनीले धान खरिद गर्न रोकेपछि हामीलाई  समस्या भएको छ, निजी क्षेत्रका व्यापारीलाई बिक्री गर्दा उचित मूल्य पाइरहेका छैनौँ ।”

कम्पनीको प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाले किसानबाट कोटा बढाएर धान खरिद गर्नुपर्ने आग्रह गरिरहेको बताउनुभयो । केन्द्रबाट कोटा नबढेसम्म खरिद गर्नसक्ने सम्भावना नरहेको उहाँको भनाइ छ ।

प्रमुख थापाले कार्यालयको तर्फबाट यस वर्ष थप ५० हजार धान खरिदको कोटा बढाउन सकिएमा किसानलाई राहत हुनेबारे केन्द्रमा कुरा राखेको बताउनुभयो ।