२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकांश भन्सारको निर्यात न्यून



अ+ अ-

काठमाडौँ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारका लागि भनेर स्थापना गरिएका कूल २४ भन्सारमध्ये १७ वटा भन्सार नाकाबाट निर्यात असाध्यै न्यून रहेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको विवरणअनुसार ती भन्सार कार्यालयबाट निर्यात असाध्यै न्यून देखिएको हो । त्यसमा ८ भन्सार कार्यालयको निर्यात शून्य प्रतिशत रहेको उल्लेख गरिएको छ ।

विभागका अनुसार भद्रपुर जलेश्वर, जनकपुर, महेशपुर(नवलपरासी), सर्लाही, सती (कैलाली), सिरहा, सुनसरी, सुथौली(कपिलवस्तु), तातोपानी, ठाँडी(सिरहा) भन्सारलगायतका भन्सार कार्यालयबाट सो अवधिमा निर्यात प्रतिशत शून्य रहेको पाइएको छ ।

विभागको विवरणअनुसार नेपाल र भारतबीचको प्रमुख भन्सार नाका वीरगञ्जबाटै निर्यातसमेत बढी भएको देखिएको छ । सो भन्सारबाट कूल ३१।४१ प्रतिशत निर्यात भएको छ । सो भन्सारबाट चालू आवको सात महिनामा रु २० अर्ब ४० करोड ५५ लाख १३ हजार बराबरको निर्यात भएको छ । यस्तै भैरहवा भन्सारको हिस्सा दोस्रोमा छ । सो भन्सारबाट कूल २८।४५ प्रतिशत निर्यात भएको छ । विभागका अनुसार सो भन्सारबाट रु १८ अर्ब ४८ करोड ४१ लाख ११ हजार बराबरको निर्यात भएको छ ।

त्यस्तै तेस्रोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय छ । सो भन्सारबाट रु १४ अर्ब नौ करोड ६० लाख ९३ हजार बराबरको निर्यात भएको छ । प्रतिशतका आधारमा सो भन्सारबाट २१.७० प्रतिशत निर्यात भएको छ । चालू आवको सात महिनामा कूल रु आठ खर्ब तीन अर्ब ६० करोड २८ लाख १३ हजार बराबरको सामान आयात भएकामा रु ६४ अर्ब ९७ करोड १२ लाख २७ हजार बराबरको निर्यात भएको छ ।

विभागको विवरणअनुसार सामान आयात गर्नेमा पनि वीरगञ्ज भन्सार नै शीर्ष स्थानमा रहेको छ । सो भन्सारबाट रु दुई खर्ब ७५ अर्ब ६९ करोड २६ लाख ९९ हजार बराबरको माल सामान आयात भएको छ । प्रतिशतका आधारमा सो भन्सारको हिस्सा ३४.३१ प्रतिशत रहेको छ । यस्तै दोस्रोमा भैरहवा भन्सार कार्यालय रहेको छ । सो भन्सार कार्यालयबाट मात्रै रु एक खर्ब ३७ अर्ब ३० करोड ४१ लाख १८ हजार बराबरको सामान आयात भएको छ । त्यो भनेको कूल आयातको १७.०९ प्रतिशत हो ।

यस्तै वीरगञ्ज सुक्खा बन्दरगाहबाट रु एक खर्ब एक अर्ब ३५ करोड ९५ लाख ९६ हजार बराबरको मालवस्तु आयात भएको छ । विराटनगर भन्सारबाट रु ८४ अर्ब ७६ करोड ६६ लाख ८९ हजार बराबरको आयात भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट रु ८१ अर्ब ५० करोड ६८ लाख ५३ हजार बराबरको माल वस्तु आयात भएको छ । प्रतिशतका आधारमा कूल आयातमध्ये १०.१४ प्रतिशत हिस्सा सो भन्सार कार्यालयले राखेको छ ।

विभागका अनुसार रसुवा भन्सारबाट रु २६ अर्ब २३ करोड ३६ लाख ८७ हजार, नेपालगञ्ज भन्सारबाट रु ३० अर्ब ४० करोड २६ लाख ७६ हजार, कृष्णनगर भन्सारबाट रु १२ अर्ब २६ करोड २४ लाख छ हजार, कैलाली भन्सारबाट रु १० अर्ब ९७ करोड ५७ लाख २९ हजार बराबरको मालवस्तु आयात भएको छ । चालू आवको सात महिनाको अवधिमा मुलुकको कूल व्यापार घाटा भने रु सात खर्ब ३८ अर्ब ६३ करोड १५ लाख ८६ हजार रहेको छ ।